s

भारतीय आश्रमबाट २४ नेपाली जेलमा

सीसाको बारबाट हेरेर परिवार फर्किए

६० दिने न्यायिक हिरासतः दुतावास

धार्मिक आस्थाले भारतको हरियाणा (हिसार) को चण्डिगढ रोड, बरबालास्थित सतलोक आश्रम पुगेका २४ नेपाली त्यहाँको हिसार जेलमा थुनिएको पीडितका परिवारले बताएका छन् । विवादास्पद भारतीय धर्मगुरु रामपालको आश्रममा उनलाई खोजी गर्दै पुगेको प्रहरीले आश्रमबाट भारतीय र नेपाली केही भगत (भक्त) लाई पक्राउ गरेको हो । धार्मिक उद्देश्यले आश्रम गएका नेपाली पक्राउ पर्दा पनि रिहाइका लागि सरकारले पहल नगरेको भन्दै पीडित परिवार र सभासदले गुनासो पोखेका छन् । पक्राउ परेको सवा महिना भएको छ । पीडित परिवारले जिल्ला प्रशासनदेखि परराष्ट्र मन्त्रालय र दूतावासलाई समेत जानकारी गराइसकेका छन् ।

'म हिसार जेलमै गएर भाइलाई भेटेर आएँ,' धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, सखुवाका निर्गुणकुमार महतोले कान्तिपुरसँग भने, 'मंसिर २ गते पक्राउ परेदेखि जताततै गुहारिरहेका छौं, तर अहिलेसम्म कुनै पहल नहुँदा भाइ जेलमै छन् ।' १२ कक्षामा अध्ययनरत २० वषर्ीय गणेशकुमार कात्तिक १८ मा पहिलो पटक १८ स्थानीयसँग सत्संग र भजनका लागि आश्रम हिँडेका थिए । 'जेलमा जम्मा १० मिनेट सिसाको बारबाट देखादेख गरेर फोनमा कुरा गर्‍यौं,' निर्गुणले सुनाए, 'आमा बिरामी हुनुहुन्छ, टेन्सन नलिन भन्नु, म चाँडै छुट्छु कि भन्छ, तर कहिले छुट्छ, के मुद्दा छ, कुनै पत्तो छैन ।' निर्गुणले भाइबाट पाएको जानकारीअनुसार प्रहरीले आश्रमभित्र रामपाललाई खोजी गर्दा भक्तहरूमध्ये युवालाई छुट्टै गाडी र बाँकीलाई छुट्टै गाडीमा पटक-पटक ओसारेर जेल पुर्‍याएको थियो । अरूलाई छाडेर युवालाई थुनेको र आश्रमबाट पक्राउ परेका करिब ९ सय भारतीय पनि जेलमा भएको उनको भनाइ छ ।

त्यही आश्रमबाट फर्केका धनुषा, सखुवाका नत्थु श्रेष्ठले आफ्नो भाइ पनि थुनामा परेको बताए । 'नारा-जुलुस भइरहेको थियो, प्रहरीले बालबच्चा, बृद्धहरूलाई छाडेर युवालाई पक्र्यो,' नत्थुले सुनाए, 'मेरो भाइ -ईश्वर श्रेष्ठ, ३७ वर्ष) पनि बिनाकारण जेलमा थुनिएको छ ।' पीडित परिवारका अनुसार पक्राउ पर्नेमा सिरहाका ६, धनुषाका ४, सुनसरीका २, रौतहटका २, कञ्चनपुरका २, काठमाडौंका २ र मोरङ, महोत्तरी, बर्दिया र भक्तपुरबाट १/१ जना छन् । नेपाली दूतावास दिल्लीले थप दुईसहित २४ नेपाली हिसारको '६० दिने न्यायिक हिरासतमा रहेको' बताएको छ । जेल पर्नेमा सिरहाको सिक्रौनका विजय साह, बर्छावाका राजेन्द्र सादा र शिवचरण यादव, चौहर्वाका उपेन्द्रप्रसाद सिंह, अरनामा लालपुरका रामसुगारथ महतो, गोलबजार असनपुरका विनोद यादव छन् । यस्तै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका सखुवाका गणेशकुमार महतो, ईश्वर श्रेष्ठ, मधुकरहीका रामचन्द्र यादव, औरहीका सन्तोष साह र मोरङको उर्लाबारीका सुरेश राई छन् ।

यस्तै सुनसरीे इटहरीका मुकेश कार्की र लक्ष्मण बस्नेत, रौतहटको मर्जादपुरका दिनेश महतो र उमेश महतो, महोत्तरीको भमरपुराका शिव पुजन साह, कञ्चनपुरको महेन्द्रनगरका सुरेश भट्ट र योगेन्द्र चन्द, बर्दिया-२ का नन्दराम खैरहा, काठमाडौं गोंगबुका रनकुमार गिरी र जोरपाटीका जाकिर हुसेन र भक्तपुर थिमिका उपराज ढकाल जेलमा भएको उल्लेख छ । धनुषाका सभासद डा. चन्द्रमोहन यादवले खुला सिमानाका कारण सामान किनमेल, घुमफिर तथा धार्मिक कामलाई पनि नेपाली भारत जाने गरेको उल्लेख गर्दै पीडितको सरकारले उद्धार गर्नुपर्ने बताए । 'धार्मिक आस्थाका कारणले जाँदा उनीहरू झमेलामा फसे, तर कस्तो विडम्बना सरकारले कुनै पहल गरेको छैन,' उनले कान्तिपुरसँग भने, 'मैले मंगलबार परराष्ट्रमन्त्रीलाई भेटें र नेपाली दूतावास दिल्लीमा पनि फोन गरें, तर कुनै प्रगति छैन ।'

सतलोक आश्रममा आमावश्या (औंसी) र पूणिर्मामा ३/३ दिन सत्संग र भजनका लागि कविर धर्मावलम्बी त्यहाँ पुगेको निर्गुणको भनाइ छ । आ-आफ्नो ढंगले आश्रम पुगेकामध्ये पछिल्लोपल्ट मात्रै करिब ४ हजार नेपाली भएको अनुमान छ । कतिपय रोग र बिमार निको हुने विश्वासमा समेत पुगेका थिए । आश्रमबाट फर्केकी मैतीदेवी निवासी गौरी शर्माले रिहाइका लागि परराष्ट्र मन्त्रालय, भारतीय दूतावास, मानव अधिकारवादी संस्थामा निवेदन दिए पनि पहल नभएको गुनासो गरिन् । दिल्लीस्थित नेपाली दूतावासका अधिकारीले बुधबार स्थलगत रूपमा अध्ययन गर्दा २४ नेपाली 'न्यायिक हिरासत'मा रहेको भेटिएको बताए । 'न्यायिक हिरासतमा रहेको अवस्थामा ६० दिन प्रहरी अनुसन्धान हुने र त्यसपछि अदालती प्रकक्रियाबाट म्याद थप्छ वा छाड्छ,' एक अधिकारीले भने, 'दूतावासले पनि अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।' दूतावासबाट काउन्सिलरहरू यदुलाल खरेल र राजेन्द्रमान श्रेष्ठ गएका थिए ।

काठमाडौं बागबजारस्थित सतलोक आश्रमको सम्पर्क कार्यालयले अभिभावकलाई सार्क सम्मेलनलगत्तै मंसिर १२ गते बोलाएर हराएका २२ व्यक्तिको नामावली संकलन गरेको पीडित परिवारमध्येका निर्गुणको भनाइ छ । पीडित परिवारले परराष्ट्रमा १४ गते निवेदन दिएका थिए । परराष्ट्रले कन्सुलर सेवा विभागलाई फ्याक्स गरिदिएपछि कन्सुलरले १५ मंसिरमा नेपाली दूतावास दिल्लीलाई पत्र पठाएको थियो । पत्रमा धार्मिक उद्देश्यले भारतको हिसार -हरियाणा) जिल्ला चण्डीगढ रोड, बरबालास्थित सतलोक आश्रममा नोभेम्बर १४-१८ सम्म भएको प्रहरी अपरेसनमा केही दर्जन नेपाली भक्त हराइरहनु जानकारी आएकाले खोजी गरिदिन अनुरोध गरको थियो ।

कान्तिपुरमा मंसिर १७ गते 'भारतमा २२ नेपाली बेपत्ता' र पुस २ गते 'बेपत्ता नेपाली भारतीय जेलमा रहेको शंका' शीर्षकमा समाचार प्रकाशित भएको थियो । 'सरकारले अहिलेसम्म सुनुवाइ नगर्दा अब के गर्ने भनेर सल्लाह गर्दै छौं,' निर्गुणले भने, 'धेरै अभिभावक फेरि काठमाडौं आउनुभएको छ, हेरौं अब के गर्न सकिन्छ ।'

Published on: 25 December 2014 | Kantipur

Back to list

;