s

भारतबाट फर्केका कामदारको बिचल्ली

सुरेन्द्र काफ्ले
 
नेपालगन्जः भारतबाट मजदुरी गरी फर्किएका नेपाली कामदार भोकभोकै भएका छन् । भारतीय पाँच सय र एक हजारका नोट प्रतिबन्धित भएपछि घर फर्किएका कामदारको बिचल्ली भएको हो ।
 
भारतीय पाँच सय र एक हजार दरका नोट सटही नहुँदा उनीहरूलाई खान र बासको समेत समस्या भएको छ । पकेटभरि पैसा छ तर खान, बस्न पाइरहेका छैनन् । भारतको गुजरात राज्यको अहमबादबाट काम गरेर फर्किएका दैलेखका भीमबहादुर शाही पैसा सटाइ नहुँदा पानीसम्म पिउन नपाएको गुनासो गर्छन् ।
 
‘दुई दिन भयो आएको, आफूसँग भएको पैसा साटिादैन्, के खाने, कहाँ बस्ने, हाम्रो त बिचल्ली नै भएको छ’, शाहीले भने, ‘झोलाभरि पैसा छ तर सटिँदैन ।’ उनले बाटोमा चोरी हुने डर र ल्याउनसमेत सजिलो हुने भएका कारण पाँच सय र एक हजारका नोट मात्रै लिएर आएको बताए ।
 
६ महिना भारतमा मजदुरी गरेर फर्किएका शाहीले राष्ट्र बैंकमा आउँदासमेत पैसा साट्न नपाएको बताए । शाहीको साथमा ६ जनाको समूह छ । ६ जनाकै अवस्था उस्तै छ ।
 
उनले पैसा सटही नभएमा घरबाट केही नै मगाएर जाने विचार गरिरहेको बताए । ‘पैसा सटही भएन भने घरबाट मगाएर जानु पर्ला, अर्काको देशमा पसिना बगाएर ल्याएको पैसा यसै खेर जाने भयो’, शाहीले चिन्तित हँुदै भने । दिल्लीबाट मजदुरी गरी घर फर्किएका जुम्लाका राजेन्द्र शाहीको व्यथा पनि उस्तै छ ।
 
भारतीय पाँच सय र एक हजार दरका नोट सटही नहुँदा रोजगारी गरी फकिएकालाई खान र बासको समेत समस्या भएको छ ।
उनले भने, ‘अब हामीले कमाएर ल्याएको पैसा के गर्ने ? सबैले काम लाग्दैन भन्छन्, कागजको खोस्टो भयो भन्छन् । ’उनले भारतीय नोट नचल्दा घर जान नपाएको गुनासो गरे । भारतको विहारमा कामका लागि हिडेका जुम्लाका पूर्ण नेपालीसमेत भारतीय पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लागेकाले समस्यामा परेको बताए । उनले भने, ‘भारु सटही भएको छैन अब घर फर्किने कि, कुरेर बस्ने ।
बिरामी समेत समस्यामा
 
भारतीय पाँच सय र एक हजारको नोटमा लागेको प्रतिबन्धले विरामीसमेत समस्यामा छन् । मध्य र सुदूर पश्चिमका बिरामी उपचारका लागि लखनउ, दिल्लीलगायतका भारतीय सहर जाने गरेका छन् । मुटुको समस्या देखिएपछि बुवालाई उपचारको लागि लखनउ लिएर हिडेका कालिकोटका जीवन रोकाया समस्या परेका छन् । ‘बुवालाई एम्बुलेन्समा पठाइसकें, अब पैसा सटही हुँदैन, के गर्ने होला’, नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालयको गेट उभिरहेका जीवनले दुखेसो पोखे ।
 
भारतीय नोट साट्न नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय नेपालगन्जमा भीड लागेको छ । धेरै व्यवसायी तथा सर्वसाधारण नोट साट्न सीमावर्ती बजार रुपेडिया पुगेका छन् । उता रुपेडियामा भारतीयले नेपाली ठगिरहेका छन् । एक सय भारु बराबर एक सय नेपाली रुपयाँ मात्रै दिइरहेका छन् । नेपालगन्जमा अधिकांश सहटी काउन्टर बन्द भएका छन् । काउन्टरका सटर बन्द गरेर सञ्चालक पैसाको व्यवस्थापनमा जुटेका छन् ।
 
Published on: 11 November 2016 | Annapurna Post

Back to list

;