s

भारतबाट आएका थिए रौतहटका दश संक्रमित

मदन ठाकुर

आइतबार बिहान कोरोना संक्रमित पुष्टि भएका दश जना भारतबाट आएको पाइएको छ । एकै दिन भारतबाट आएका ३६ जना मध्ये दशमा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण देखिएका दश जनालाई राजपुर र ईशनाथ नगरपालिकाको अलग अलग क्वारेन्टाइनमा राखिएका छन् । संक्रमितमध्ये सात जना राजपुर नगरपालिकाको बैरियास्थित जोबैरिया मदरसामा बनाइएको क्वारेन्टाइनमा राखिएको छ भने तीन जनालाई ईशनाथ नगरपालिकाको औरैयामा बनाइएको क्वारेन्टाइन्मा राखिएको छ । 

संक्रमित दश जना एकै दिन गत वैशाख ३१ मा भारतबाट नेपाल पसेका थिए ।

भारतमो महाराष्ट्रस्थित भिमिन्डी सहरमा कपडाको कारोबार गर्ने २७ जना वैशाख ३१ मा मठिया नाका भएर प्रवेश गर्न खोजेका थिए । उनीहरु मुम्बईबाट पाँच दिन लगाएर ट्रकमा आएका थिए । नेपालको सीमासम्म आइपुग्न पाँच दिन लागेको र ट्रकलाई प्रतिव्यक्ति चार हजार रुपैया तिरेको बुझिएको छ । 

भारतको मुम्बईबाट नेपालको सिमानासम्म पुर्‍याउन ६० जनाको समूह विभिन्न नाका हुँदै नेपाल प्रवेश गरेको बुझिएको छ । एक संक्रमितका अनुसार ट्रकले नेपाल भारत सिमानाको केही किलोमिटर भित्रसम्म पु¥याएर छोडेपछि आफूलाई पायक पर्ने नाकाबाट आ–आफ्नो गाउँ प्रवेश गरेका छन् । आफ्नो समूहमा आएका २७ जना प्रहरीको समन्वयमा घरपरिवारसित सम्पर्क गरी नेपालको नाकामा प्रवेश गरेको युवकको भनाइ छ ।

नाकाबाटै प्रहरीले नियन्त्रणमा लिएर २७ जनालाई राजपुरको क्वारेन्टाइनमा पुर्‍याइएको थियो । गत शुक्रबार सबैजनाको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएकोमा सात जनामा पोजेटिभ देखिएको हो । अन्य २० जनामा संक्रमण देखिएको छैन ।

यसै गरी भारतको राजधानी दिल्लीमा मजदुरको काम गर्ने ईशनाथ नगरपालिकाका नौ जना एक साथ गत वैशाख ३१ मा मठिया नाका हुँदै नेपाल प्रवेश गरेका थिए । नाकाबाटै प्रहरीले नियन्त्रणमा लिएर ईशनाथ नगरपालिकाले व्यवस्थापन गरेको औरैयास्थित क्वारेन्टाइनमा पठाइएको थियो । गत शुक्रबार स्बाव संकलन गरी परीक्षणको लागि पठाइएकोमा तीन जनामा पोजेटिभ देखिएको छ । सँगै आएका अन्य छ जनामा संक्रमण देखिएको छैन । ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य राम्रो रहेको छ ।

राजपुर र ईशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका संक्रमित तथा संक्रमण नभएका सबैको स्वास्थ्य सामान्य रहेको र सबैको उपचार क्वारेन्टाइनमा नै भइरहेको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् ।

जिल्लामा एकै दिन दश संक्रमित भेटिएको र सबैको स्वास्थ्य सामान्य रहेको बताइए पनि ईशनाथ र राजपुर नगरपालिकामा त्रासको वातावरण रहेको छ । एकै दिन दश जना संक्रमित थपिएपछि सिमानाका निगरानी कडा पारिएको प्रजिअ घिमिरेले बताएका छन् ।

जिल्लाका सबै क्वारेन्टाइनमा गरी ३१७ जना भारतीय सहित ३३७ जना रहेका छन् । नेपालकै विभिन्न जिल्लाबाट बीस जना आएका क्वारेन्टाइनमा रहेका छन् ।

यसअघि रौतहटको वृन्दावन, ईशनाथ र देवाही गोनाहीका एक एकजना गरी तीन जना कोरोना संक्रमित उपचारको क्रममा वीरगंजमा रहेका छन् । ईशनाथका एकजना उपचार गराएर निको भएपछि पुनः संक्रमणमा परेका छन् । उनको उपचार पनि वीरगंजमै भइरहेको छ । 

प्रदेश २ उच्च जोखिममा

देशमा कोरोना जोखिम बढ्दै गएसँगै प्रदेश २ उच्च जोखिममा रहेको देखिएको छ । आइतबारसम्म देशमा देखिएका २९१ जना संक्रमितमध्ये प्रदेश २ कै संख्या बढी रहेको छ । प्रदेश २ को जनसंख्या अत्यधिक रहेको र सबै जिल्लाको खुल्ला सिमाना भारतसित जोडिएको रहेकोले प्रदेश २ उच्च जोखिममा रहेको देखिएको हो । अहिलेसम्म पर्सामा ९१, रौतहटमा १३, धनुषामा ६, महोत्तरीमा ४ बारा र सर्लाहीमा तीन तीन गरी ६, तथा सिराहा र सप्तरीमा एक एक जना संक्रमित भेटिएका छन् । प्रदेश २ मा कूल संक्रमित १२२ मध्ये छ जना निको भइसकेका छन् ।

Published on: 17 May 2020 | Nagarik

Link

Back to list

;