s

भारतबाट आएका कर्णालीबासीका पीडा, ‘जन्मभूमिको अनुभूति गर्न पाएनौं’

नगेन्द्र उपाध्याय

रोजगारीका लागि भारतको मुम्वईमा रहेका ७१ जना युवाले जेठ ६ गते स्वदेशका लागि यात्रा तय गरे । मुम्वईमा कोरोना संक्तमितको संख्या दिनदिनै बढ्दै गएपछि स्वेदशमै सुरक्षित भइएला भन्ने आशमा आएका उनीहरू जन्मभूमि टेक्ने वित्तिकै सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवहारले निरास भए । भारतीय भूमिमा हुँदासम्म उनीहरूलाई कुनै समस्या भएन् । मुम्वई सरकारले रेल स्टेशनमै उनीहरूको कोरोना परीक्षण गर्यो । आवश्यक सुरक्षाको उपाय सिकायो । निःशुल्क रेलको यात्रा गरायो । स्टेशन–स्टेशनमा खाना–खानाको व्यवस्था गर्यो । 

जव उनीहरू सीमामा आइपुगे, दुःखका समय सुरु भए । ‘भारतबाट आएको भन्ने वित्तिकै यहाँ त अछुतको व्यवहार हुँदो रहेछ,’ ७१ जनाको समूहमा रहेका पञ्चपुरी नगरपालिकाका अनिल विष्टले भने, ‘भारतमा रोजगारी गुमाउँदाको पीडा भन्दा स्वदेशमा गरिएको व्यवहारले दुःख लागेको छ ।’

बिहीबार नेपाल–भारत सीमा रुपैडीहा आइपुगेका उनीहरू आइतबार बेलुकी गाउँ पुगे । गाउँमा पनि उनीहरूले थप १४ दिन क्वारेन्टिनमा कष्टपूर्ण दैनिकी विताउनुपर्ने छ । नेपाल–भारत सीमादेखि गाउँ पुग्दासम्मको चार दिनमा उनीहरू मुस्किलले एक छाक खाना पाए । पैसा दिएर पानी किन्न खोन्दा उनीहरूले प्रहरीको लाठ्ठी खाए । 

‘भारतले निःशुल्क रेल चढायो, बाटोमा खाना–खाजा दियो,’ दैलेखका युवा गणेश विकले भने, ‘जन्मभूमि प्रवेश गरेपछि पैसा दिन्छौं, खाने कुरा किनेर ल्याइदिनु भन्दा प्रहरीले लाठ्ठीले हान्यो ।’ स्वदेशका सुरुका चार दिन मध्ये दुई दिन उनीहरूले कर्णाली प्रदेशको मुख्य नाका बबईमा विताए । थप दुई दिन प्रदेश राजधानी वीरेन्द्रनगरको धुलियाविटमा विताए । ‘यि चार दिन निकै कष्टकर भए,’ पञ्चपुरी–१० को विद्यालयमा स्थापित क्वारेन्टिनमा पुगेका रणबहादुर विकले भने, ‘अरु भारतमै बसेको भए सुरक्षित भइन्थ्यो, बेकारमा जन्मभूमि सम्झेर आएजस्तो लागिरहेको छ ।’

बबई नाकामा उनीहरू दुई दिनसम्म जेठको गर्मीका सडकमै बस्नुपर्यो । प्यास मेटाउन बबईको धमिलो पानी खानुपर्यो । चाउचाउ किनिदिने पनि कोही भएनन् । ‘धन्न एक संस्थाले एक छाक खाना दियो,’ उनले भने, ‘आफ्नै भूमिमा पाएको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन् ।’

भारतमा रेल सेवा सुरु भएसँगै कर्णालीमा पाँच हजारबढी नागरिकहरू भित्रिएका छन् । हजारौंको संख्यामा कर्णालीबासीहरू भारतीय सीमा नाकामा अलपत्र छन् । सीमाबाट उद्दार गर्ने, उनीहरूका लागि खानपानको व्यवस्थापन गर्ने र चेकजाँच गराएर सुरक्षित तरिकाले गन्तव्यसम्म पुर्याउने गरेर प्रदेश सरकारले तयारी नगर्दा भारतबाट आउने नागरिकहरूले सास्ती भोगिरहेका छन् । 

सुर्खेतको लेकवेशी, चिंगाड र सिम्ताका ५३ जना नागरिकहरू भारतका विभिन्न ठाउँबाट रुपैडीहा नाकामा आएको तीन दिन भयो । उनीहरूसँगै करिव एक हजार कर्णालीबासीहरू सीमा नाकामा छन् । ‘तीन दिनदेखि पानीको भरमा उद्दार हुने आशमा भोकभोकै नाकामा बसिरहेका छौं,’ चिंगाड गाउँपालिकाका कर्णबीर रोकायले भने, ‘अहिलेसम्म स्वदेश प्रवेश गर्न पाएका छैनौं ।’ भारतबाट आएका नागरिकहरू पटक–पटक सीमामा पुग्छन् । नेपाल प्रहरीले भित्र प्रवेश गर्न दिँदैन् । ‘आफ्नो गाउँ जान पनि यति धेरै सास्ती भोग्नुपर्छ भन्ने थाहा भएको भने आउनेनै थिएनौं,’ भारतको बहराइचमा राखिएका सिम्ता गाउँपालिकाका हरि विकले भने, ‘अव त रोगले भन्दा पनि भोकले मर्ने बेला भइसक्यो ।’

‘खाना–खाजाको व्यवस्थापन गछौं’

भारतबाट स्वदेश पुगेका नागरिकहरू भोकभोकै रहेको विषयमा प्रदेश सरकार जानकार नभएको होइन् । दैनिक मन्त्रीहरू पनि प्रदेश भित्रिने सीमा नाका बबई पुगेकै हुन्छन् । प्रदेश सरकारले कामका लागि भारतमा रहेका कर्णालीका एक लाख नागरिक मध्ये ३० देखि ४० हजार भित्रिने आँकलन पनि गरेको छ । तर उनीहरूको व्यवस्थापनमा साचो नदिँदा भारतबाट आउने नागरिकहरूले सास्ती भोग्दै आएका छन् । 

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश सरकार एक्लैले भारतबाट आउने नागरिकहरूलाई खाना–खाजाको व्यवस्था गर्न नसक्ने अवस्था रहेको बताए । उनले विभिन्न सामाजिक संघ–संस्थाहरूलाई खाना–खाजाका लागि सार्वजनिक अपिल गरिएको बताए । ‘विभिन्न व्यवसायीक संघ–संस्था, सामाजिक संघ–संस्थालाई भारतबाट आएर अलपत्र परेका नागरिकहरूलाई खाना–खाजाको व्यवस्था गरिदिन अनुरोध गरेका छौं,’ उनले भने, ‘केहीले सुरु गर्नुभएको छ, केही तयारीमा हुनुहुन्छ ।’ उनले भारतबाट आएका नागरिकहरूलाई प्रदेशको मुख्य प्रवेशद्वारमै र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) चेक गरेर चाँडोभन्दा चाँडो गन्तव्यमा पुर्याउने व्यवस्था मिलाइएको बताए ।

Published on: 25 May 2020 | Nagarik

Link

Back to list

;