s

भारतबाट फर्किने नेपाली भन्छन्– हाम्रोलाई होइन, राम्रोलाई भोट

विश्वराज पछल्डङ्ग्या

 

चन्दननाथ नगरपालिका–९ श्रीडुस्का जुम्लाका ३६ वर्षीय विष्णुप्रसाद उपाध्याय २४ वैशाखमा नेपालगन्ज नाका भएर स्वदेश फर्किए। उनी निर्वाचनमा सहभागी हुने र खेतीपाती गर्ने मनस्थिति बनाएर भारतको सिम्लाबाट स्वदेश फर्किएका हुन्। यसपालि सुझबुझका साथ मतदानमा सहभागी हुने उल्लेख गर्दै उनले भने, ‘हुन त सबै नेता उस्तै हुन्, तैपनि यसपटक नराम्रोमध्येबाट राम्रो उम्मेदवार छानेर भोट दिने विचार छ।’ 

विष्णुप्रसादसँगै सोही ठाउँका कवि उपाध्याय पनि स्वदेश फर्किएका छन्। कसैको लहलहै र बहकाउमा नभई आफ्नै विवेकले मतदान गर्ने उनी बताउँछन्। ‘गाउँमा रोजगारी सिर्जना गर्ने उम्मेदवारलाई भोट दिने संकल्प गरेर स्वदेश फर्किएको छु,’ उनले भने।

भगवतीमाई गाउँपालिका–३ मेहलतोली दैलेखका ३५ वर्षीय दशरथ चन्द पनि राजनीतिक आस्थाका आधारमा नभई विकासप्रेमी उम्मेदवारलाई भोट दिने बताउँछन्। निर्वाचनकै लागि नेपाल फर्किएका उनले आफ्नो मान्छेभन्दा राम्रो मान्छे छानेर भोट दिने बताए। पत्नी र एक छोरासँगै उनी भारतको कुल्लु मनालीबाट फर्किएका हुन्। ‘आफ्नो मान्छे भनेर भोट दिएकै कारण गाउँको विकास हुन सकेन। भ्रष्टाचार मौलायो,’ उनले भने, ‘यसपालि त आफ्नो मान्छेलाई नभई विकास प्रेमी नेतालाई भोट दिन्छु। मेरो एक भोटले भ्रष्टाचारीलाई सहयोग नपुगोस्।’ 

नेपालगन्ज नाका भएर स्वदेश फर्किएका आठबिसकोट नगरपालिका–९ बटाला, रुकुमका ३३ वर्षीय विकास केसीले उम्मेदवारको छवि हेरेर भोट दिने बताए। ‘राम्रो मान्छे छान्न नसकेका कारण स्थानीय तहमा विकृति बढ्यो। यसपालि त तीनपुस्ते हेरेर भोट दिने हो,’ नेपालगन्ज नाकामा भेटिएका केसीले भने। 

नेपालगन्ज नाकामै भेटिएका आठबिसकोट नगरपालिका–९ रुकुमका परनित खत्रीले पनि भोटको सदुपयोग गर्न नेपाल फर्किएको बताए। उनले आफ्नो भोट सही ठाउँमा प्रयोग गर्ने बताए। ‘अघिल्ला निर्वाचनमा अरूको भनाइमा लागेर भोट हालेँ। यसपालि विवेक पुर्याएर विकासप्रेमी नेतालाई भोट हाल्छु,’ उनले भने, ‘पार्टीको नाममा होइन, सचेत नागरिकको हैसियतले योग्य र सक्षम व्यक्तिलाई भोट दिन्छु।’ 

मत दिन भारतबाट फर्किनेको संख्या न्यून

स्थानीय तह निर्वाचनको मतदानको दिन नजिकिँदै गर्दा भोट हाल्नकै लागि भारतबाट स्वदेश फर्कने नेपालीको संख्या ज्यादै न्यून छ। २३ बैशाखमा एक सय १० नेपाली नेपालगन्ज नाकाबाट आएका इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (सइ) मीनबहादुर विष्टले जानकारी दिए। 

२४ वैशाखमा केवल ६० नागरिक नेपालगन्ज नाकाबाट प्रवेश गरेका थिए। विष्टले मतदानका लागि स्वदेश फर्किने नेपालीको संख्या घट्दै गएको बताए। नेपालगन्ज नाका भएर स्वदेश फर्किनेमध्ये अधिकांश नेपालीहरू खेतीपातीका लागि आएका उनको भनाइ छ। ‘मतदानका लागि मात्र स्वदेश फर्किने नेपालीको संख्या एकदमै न्यून छ,’ उनले भने, ‘अधिकांशले खेतीपातीसँगै मतदान गर्न आएको पाइन्छ।’

Published on: 12 May 2022 | Naypatrika

Link

Back to list

;