s

भारतबाट फर्केर म्यादी

भगीरथ अवस्थी 

बैतडीको दशरथचन्द नगरपालिका-११ का विक्रमबहादुर चन्द प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीमा खटिएका छन् । सरकारले निर्वाचनका लागि म्यादी प्रहरीमा आवेदन आह्वान गरेपछि चन्द भारतको फरिदावादबाट भर्नाका लागि स्वदेश फर्केका हुन् । उनी भन्छन्, ‘नेपालमा चुनाव हुँदै छ । म्यादी प्रहरीमा आवेदन खुलेको छ भन्ने थाहा पाएपछि भारतको जागिर छाडेर आएको हुँ । स्वदेशमा जुनसुकै काम गर्न पनि सजिलो हुन्छ । त्यसैले भारतको जागिर छाडेर घर आएको हुँ ।'

भविष्यमा फोर्स लाइनमै जागिर गर्ने इच्छा भएका चन्दले म्यादी प्रहरीपछि अब नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी जुनसुकैमा पनि आवेदन खुले प्रतिस्पर्धा गर्ने बताउँछन् । उनी भन्छन्, ‘अर्काको देशमा गुलामी गर्नुभन्दा आफ्नो देशमा सानो रोजगारी पनि राम्रो हुँदो रहेछ । अहिले चुनावमा म्यादी प्रहरी भएर खटिएको छ । निकै गर्व महसुस भएको छ । चुनाव सुरक्षामा खटिन पाउँदा निकै खुसी लागेको छ । आफ्नै गाउँठाउँमा थोरै समयका लागि भए पनि काम गर्न पाउँदा खुसी भएको छु ।'
 
दशरथचन्द नगरपालिका-१० कै भाष्करदत्त पन्त पनि म्यादी प्रहरी भएर जिल्लाको पुरचौडी नगरपालिकामा खटिएका छन् । भारतको दिल्लीमा होटलमा काम गर्दै आएका पन्त म्यादीमा भर्ना हुन भारतबाटै घर फर्केका हुन् । उनले भने, ‘स्वदेशमै काम गर्ने रहर छ । त्यसैले म्यादीमा भर्ना हुन भारतबाट घर फर्केको हुँ । म्यादी पनि भइयो । साथीहरूसँग रमाइलो पनि छ ।'
 
भारतमा काम गर्दा अपमानित हुनुपरेको सुनाउँदै पन्तले स्वदेशमा सम्मानका साथ काम गर्न पाइने बताए । उनले भने, ‘मेरो इच्छा प्रहरी भएर नेपालको सेवा गर्ने छ । यो भन्दा पहिला पनि दुई÷तीन पटक प्रहरीमा आवेदन दिएको हुँ । तर, सफल भइएन । यसपटक म्यादीमा भर्ना भएको छु । अब फेरि प्रयास गर्नेछु ।'
 
दशरथचन्द नगरपालिका-४ जर्गका हेमराज पाण्डेय र राजेन्द्र पाण्डेय पनि निकै खुसी देखिन्छन् । सानैदेखि गाउँका मिल्ने साथी भारतमा काम गर्ने बेलामा अलग-अलग ठाउँमा थिए । भारत गएको वर्षदिनमै म्यादी प्रहरीमा भर्ना भएपछि उनीहरूको भेट भएको छ। राजेन्द्र भन्छन्, ‘हामी एकजना गोवा र एकजना दिल्लीमा काम गथ्र्यौं । म्यादी प्रहरीमा भर्ना खुलेपछि दुवैले भारतको काम छाडेर म्यादीमा भर्ना हुने निधो गरेर घर आयौं । म्यादी पनि भइयो । अहिले सँगै ड्युटीमा छौं । स्वदेशमा काम गर्दा निकै रमाइलो भएको छ।'
 
भारतमा काम गर्दा अर्काको अधीनमा बस्नुपरेकाले निकै समस्या हुने गरेको हेमराजले बताए । उनले भने, ‘थोरै समय भए पनि स्वदेशमै काम गर्ने इच्छा जाग्यो । अब नेपाल प्रहरीमा भर्ना हुने योजना बनाएको छु ।' दशरथचन्द नगरपालिका-४ का २० वर्षीय महेशराम लुहार पनि म्यादी प्रहरीमै भर्ना हुन दिल्लीबाट घर आए । दिल्लीको एक होटलमा काम गर्ने महेश म्यादीमा भर्ना भएपछि आफूलाई निकै सम्मानित भएको महसुस गरिरहेका छन् । उनले भने, ‘भारतमा काम गर्नुभन्दा स्वदेशमै रोजगारीका अवसर मिले काम गर्न सकिन्छ । अहिले म्यादीमा भर्ना भइयो । पछि केही अवसर मिले अब यतै काम गर्ने इच्छा छ । भारत त हामी रहरले गएका होइनौं । हामीजस्ता युवाका लागि स्वदेशमै केही भए राम्रो हुन्थ्यो ।'
 
चुनाव सुरक्षाका लागि म्यादी प्रहरी भएर खटिएका दशरथचन्द नगरपालिका-३ का रमेश रावत पनि भविष्यमा सुरक्षा फौजमै जागिर खाने सोचमा छन् । कक्षा १२ उत्तीर्ण रमेश भारतको पञ्जावबाट म्यादीमा भर्ना हुन घर आएका हुन् । उनी भन्छन्, ‘स्वदेश र विदेशको तुलना नै गर्न मिल्दैन । हाम्रो ठाउँ त स्वर्ग हो । रोजगारीको व्यवस्था भए भारत जानु बेकार छ । म्यादीको जागिर पछि म स्वदेशमै केही गर्ने सोचमा छु ।'
 
म्यादी प्रहरीमा भर्ना भएपछि दशरथचन्द नगरपालिका-४ का हेमराजको दैनिकी फेरिएको छ । ‘भारत छँदा बिहानै उठेर होटलको भाँडा माझ्नुपथ्र्यो । होटल सरसफाइमा खटिनुपथ्र्यो । अलि पनि काम बिग्रेको मालिकाको हप्काइ खानुपथ्र्यो', उनले भने, ‘हिजोआज बिहानै उठेर पिटी परेड खेल्नुपर्छ । शारीरिक दन्तुरुस्ती पनि हुन्छ । देशको सेवा गर्ने कसम खानुपर्छ । यसले निकै गर्व महसुस भएको छ ।'
 
प्रहरी बनेर देशको सेवा गर्ने ठूलो धोको रहेको बताउने दुर्गा भवानीकै गोविन्द रावत म्यादीको पोसाक लगाउन पाउँदा निकै खुसी छन् । उनी भन्छन्, ‘प्रहरीको पोसाक लगाएर ऐतिहासिक चुनावमा खटिन पाएको छु । भारतको जागिरभन्दा निकै सजिलो महसुस भएको छ।'
 
आसन्न निर्वाचनका लागि बैतडीमा खटिएका म्यादी प्रहरी अधिकांश भारतको रोजगारी छाडेर आएका युवा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताए ।
 
स्वदेशमै रोजगारीका सम्भावना खोजी गर्न सके विदेश पलायन हुने युवाशक्ति स्वदेशमै रोक्न सकिने जगन्नाथ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए । उनले भने, ‘अहिले म्यादी प्रहरीमा भर्ना हुन धेरैजसो युवा भारतको जागिर छाडेर आएका छन् । यसबाट के प्रस्ट हुन्छ भने स्वदेशमै रोजगारीका अवसर मिल्यो भने युवा विदेश पलायन हुने छैनन् । युवाशक्तिले स्वदेशमै काम गर्न पायो देशको विकास पनि हुन्छ ।'
 
बैतडीका धेरैजसो युवा कामको खोजीका लागि भारतका विभिन्न सहरमा पस्ने गर्छन् । उनीहरू ‘वर्षभरि कमाइ गरेर घरपरिवार चलाउने गर्छन् । यसले गर्दा गाउँसमेत युवाविहीन बनेका छन् । स्वदेशमै कामको अवसर मिले भारत जाने बाध्यता अन्त्य हुने थियो । आफ्नै देशमा केही गर्न सके हामीलाई पनि गर्व महसुस हुन्छ', भारतको काम छाडेर म्यादीमा भर्ना भएका गणेश महराले भने, ‘सरकारले युवालाई स्वदेशमै रोक्ने खालका कार्यक्रम ल्याउनुपर्छ । यसले हाम्रो देशलाई धेरै फाइदा हुनेछ ।'
 
म्यादीमै भए पनि स्वदेशमै आफ्ना छोराहरूले जागिर पाएपछि आमाबुबासमेत खुसी भएका छन् । ‘भारतमा काम गर्दा कतिखेर के हुने हो भन्ने चिन्ता हुन्थ्यो । म्यादीमै भए पनि छोराले जागिर पाएकाले निकै खुसी लागेको छ ।' दशरथचन्द नगरपालिका-४ का चेतराज पाण्डेयले भने, ‘युवाका लागि स्वदेशमै काम गर्ने वातावरण बनाउन सके राम्रो हुन्थ्यो । यतै रोजगारीका सम्भावना भए हामीलाई पनि छोराहरूलाई भारत पठाउने रहर छैन ।'
 
स्वदेशमै छोटो समयका लागि भए पनि छोराले जागिर पाउँदा निकै खुसी लागेको दशरथचन्द नगरपालिका-४ का तिलक पाण्डेयले बताए । उनले भने, ‘युवा छोरा कामको खोजीमा भारत जाँदा नरमाइलो लागेको थियो । तर म्यादी प्रहरीमा भर्ना भएपछि निकै खुसी लागेको छ ।'
 
Published on: 21 November 2017 | Annapurna Post

Back to list

;