s

भारतबाट काम गरेर घर फर्किरहेका नेपाली बाटोमै लुटिए

कञ्चनपुर — भारतमा मजदुरी गरेर घर फर्किरहेका एक नेपाली कामदार लुटिएका छन् । कैलालीको टीकापुर नगरपालिका–२ खडक चोकका गणेशबहादुर रावत बाटोमै लुटिएका हुन् ।

कारगिलमा ६ महिना मजदुरी गरेर ल्याएको १ लाख २८ हजार ८ सय र एक थान मोबाइल लुटिएको उनले बताए । कारगिलबाट हरिद्वार आउने बसमा सुर्खेत घर बताउने एक नेपालीले चिसो पेय पदार्थ खुवाएर लुटेको उनले बताए ।

हरिद्वारमा लुटिएपछि अलपत्र परेका उनलाई एक नेपालीले नै उद्वार गरेर बनबासासम्म पुर्‍याएको हो । मंगलबार बिहान गड्डाचौकीस्थित नागरिक सहायता कक्षमा पुगेका उनलाई बाटो खर्च दिएर घर पठाइएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको नागरिक सहायता कक्षले अलपत्र परेका नेपालीलाई घरसम्म पठाउने गरेको छ ।

Published on: 10 November 2023 | Kantipur

Link

Back to list

;