s

भारतबाट आएका संक्रमितको विजोग : दिनभर रुवाबासी

किशोर बुढाथोकी

विराटनगर : सुर्खेत घर भएका चारजना भारतको जोगवनी हुँदै विराटनगरको रानी नाकाबाट सोमबार बिहान ११ बजेतिर नेपाल प्रवेश गरे। 

नाकाको हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मीले सबै जनाको एन्टिजेन परीक्षण गरे। तीन जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनाको पोजिटिभ आयो। सुर्खेतको चौकुने गाउँपालिका-८ का ३९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले एन्टिजेन रिपोर्ट पोजेटिभ आउनुलाई कोरोना भाइरसको संक्रमण मानेको छ।  

‘पश्चिम नेपालको सुर्खेतका चारजना रानी नाका हुँदै विराटनगर प्रवेश गरेपछि कोरोना भए÷नभएको पुष्टि गर्न एन्टिजेन परीक्षण गरिएको हो,’ हेल्थ डेस्कका चिकित्सक डा. कमलकिशोर यादवले भने, ‘तीन जनाको रिपोर्ट नेगेटिभ आए पनि एक जनामा कोरोना पुष्टि भयो।’

कोरोना पुष्टि भएका पुरुष भारत बिहारको मध्यपुरामा चार महिनाअघि गएका हुन्। उनीसँगै नेपाल फर्किएका सुर्खेतको चौकुने-५ का खड्ग दमाईले दिएको जानकारी अनुसार ती पुरुष भारतीय बजारमा रात्रिकालीन चौकीदारी गर्थे। तर भारतमा कोरोना तीव्र रुपमा फैलन थालेपछि नेपाल फर्किएको उनले बताए।

‘कोरोनाको ठूलो महामारीसँग जुधिरहेका कारण भारतमा रहनसक्ने अवस्था नभएपछि ज्यालामजदुरी र रोजगारीका लागि गएका हामी नेपाल फर्किएका हौँ,’ खड्गले भने, ‘परीक्षण गर्दा साथीलाई कोरोना पुष्टि भयो, तर हामी भने रिपोर्ट नेगेटिभ आएकाले घरतिर लाग्यौँ।’

एन्टिजेन रिपोर्ट पोजिटिभ आएका पुरुषलाई तत्काल अस्पताल भर्ना गर्ने कुनै प्रबन्ध मिलाइएन। भारतबाट आउनेलाई कोरोना पुष्टि भएमा होम आइसोलेसनमा बस्ने गरी वा अस्पताल भर्ना गर्ने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने गरिएको डा. यादवको भनाइ छ।

इता पश्चिम नेपालका ती पुरुषलाई जिम्मा लिन कोही आएनन्। न त तत्काल अस्पताल भर्ना नै गरियो। उल्टै एम्बुलेन्समा राखेर घरतिर जान भनियो। तर सामान्य रोजगारीका लागि केही समयअघि मात्रै भारत गएका उनको साथमा पैसा थिएन। पैसा कमाउन गएका उनी बिरामी परेर झन् समस्यामा थिए। पायल्सको शल्यक्रिया गर्नु परेर लामै समय थलिएका ती पुरुष केहीअघिदेखि मात्रै काममा जान थालेको खड्गले बताए।

‘भारत गएको पनि धेरै भएको छैन। बिरामी परेकाले काममा जान नसक्दा पैसा कमाई भएन,’ उनले भने, ‘त्यहाँमाथि कोरोना माहामारीका कारण अभावकै बीचमा स्वदेश फर्किनु प¥यो। तर कोरोना पुष्टि भएका कारण साथीले नाकामै बेवारिसे बन्ने अवस्था आयो।’

खड्गका अनुसार संक्रमितलाई उपचारका लागि तत्काल नलगेर ठूलो लाचारी देखाउने काम भयो। उनलाई नाकाबाट नेपालतिर अघि बढ्न पनि सुरक्षाकर्मीले दिएनन्। खड्गका अनुसार संक्रमितलाई सार्वजनिक सवारी साधनमा घर जान दिँदा अरु यात्रुलाई कोरोना फैलनसक्ने भन्दै सुरक्षाकर्मीले पनि रोकिदिए। पैसा नभएर एम्बुलेन्स रिजर्व गर्न नसक्दा तथा सार्वजनिक सवारी साधनमा जाँदा अरुलाई कोरोना सर्ने भन्दै सुरक्षाकर्मीले रोकेपछि नाकामा रहेका अरुले भने भारततिरै फर्किएर जानू भन्न थालेको खड्काले बताए। कोरोनाले भारत आक्रान्त भइरहेका बेला फर्किएका नेपालीमाथि यहाँभन्दा ठूलो अन्याय अरु केही हुनै नसक्ने गुनासो खड्गको छ। 

पैसाको अभाव भएर घरतिर जान नपाएपछि र उपचारका लागि अस्पताल भर्ना पनि नगरिएपछि ती पुरुष नाकामै रोकिएर रहे। दिनभर रोएरै बिताए। गरिब हुँदाको पीडा रुवाबासी गरेरै पोखे। हारगुहार गरे पनि कसैले सुनेनन्। साथीहरु भने सार्वजनिक सवारी साधन चढेर गन्तव्यतिर लागेपछि उनी एक्लै परे।

विभिन्न निकायबाट दबाब परेपछि राति उनलाई विराटनगरकै कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा भर्ना गरियो। केन्द्रका सूचना अधिकारी अनुपम राजवंशीले सुर्खेत घर भएका संक्रमितलाई उपचारका लागि राति ८ बजेतिर उपचारका लागि भर्ना गरिएको पुष्टि गरे। उनका अनुसार उपचाररत संक्रमितको अवस्था सामान्य छ।

केन्द्रमा अहिले २८ जना संक्रमितको उपचार भइरहेको राजवंशीले बताए। अक्सिजनसहितको ३१ वटा बेड छन्।

गत चैत २८ गते पनि उदयपुरको त्रियुगा नगरपालिका-७ की ४५ वर्षीया महिलामा पनि नाकामा परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। तर कसैले वास्ता नगरेपछि उनी सार्वजनिक सवारी साधन चढेरै गाउँ पुगिन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले संक्रमितको व्यवस्थापनमा चासो नदिएपछि मास्क लगाउँदै सावधानी अपनाएर जानू भनेर हेल्थ डेस्कका स्वास्थ्यकर्मीले महिलालाई घरतिर पठाएका थिए।

रानी नाका हुँदै भारतबाट मंगलबार एक सय ४१ जना नेपाल प्रवेश गरेका छन्। सोमबार ६४ जना आएका थिए। वैशाख लागेपछि हालसम्म यो नाका हुँदै चार सय जनाभन्दा बढी नेपाल प्रवेश गरिसकेका छन्।

अहिलेसम्म यो नाकामा गरिएको एन्टिजेन परीक्षणबाट १० पुरुष र तीन महिला गरेर १३ जनाको रिपोर्ट पोजिटिभ आएको डा. यादवले बताए। कोरोना पुष्टि भएकालाई होम आइसोलेसनमा रहने गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर पठाउने गरिएको उनको भनाइ छ।

Published on: 29 April 2021 | Annapurna Post

Link

Back to list

;