s

भारतबाट ६ युवतीको उद्धार

भारतीय बाटो हुँदै तेस्रो मुलुक लगिँदै गरेका ६ नेपाली युवतीको उद्धार गरिएको छ । उत्तराखण्डको रुद्रपुर पुर्‍याइएका युवतीलाई भारतीय प्रहरी, वनवासास्थित मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललगायत संस्थाको पहलमा उद्धार गरिएको हो।
 
वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर ती युवतीलाई भारतीय बाटो भएर लगिँदै थियो । सबै युवतीको उद्धार गरी मानव तस्करीमा संलग्न ३ जनाविरुद्ध मुद्दा दर्ता गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन् । सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमै मुद्दा दर्ता गरिएको हो । 
 
पश्चिमी नाका गड्डाचौकी भएर सिन्धुपाल्चोकका ती युवतीलाई भारत पुर्‍याइएको थियो । त्यहाँस्थित रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैध रूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए ।
 
‘कुवेत र दुबइ पठाइदिने भन्दै युवतीलाई दिल्ली लगिँदै गरेको भेटियो,’ माइती नेपालकी संयोजक भट्टले भनिन्, ‘उनीहरूलाई दुई जना दलालमार्फत विदेश पठाउन लागेको पनि खुल्यो ।’ उनका अनुसार नानीमायाले सिन्धुपाल्चोकबाट ८ युवतीलाई ल्याएकी थिइन् । तीमध्ये एक जनालाई भने माइती नेपालले गड्डाचौकीमै रोकेको थियो । अर्की एक जना भागेर घर फर्किएकी थिइन् । ६ जनालाई भारत पुर्‍याउन दलालहरू सफल भएका थिए ।
 
उद्धार गरिएका युवतीलाई रुद्रपुरकै सुरक्षित गृहमा राखिएको छ । दलालविरुद्ध मुद्दा चलेका कारण उनीहरूलाई त्यही राखिएको हो । ‘नेपालबाट मानव तस्करी गर्ने एउटा गिरोहविरुद्ध मुद्दा चलेको छ,’ रुद्रपुर प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘उक्त गिरोहले ग्रामीण भेगका महिला र युवतीलाई ललाइफकाइ विदेश पठाउने भन्दै ल्याउने गरेको थियो ।’ प्रहरीका अनुसार दलालले युवतीलाई विदेश पठाउने दुई समूहलाई जिम्मा लगाउने गरी दिल्ली लैजान लागेका थिए ।
 
उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्षसम्मको छ । उनीहरूका साथबाट प्रहरीले पासपोर्ट र केही कागजात पनि बरामद गरेको छ  ।
 
Published on: 23 October 2017 | Kantipur

Back to list

;