s

भारतबाट उद्धार गरिएका १९७ नेपाली काठमाडौं आइपुगे

रामकला खड्का

भारतमा उद्धार गरिएका १९७ जना नेपालीलाई काठमाडा ल्याइएको छ । बुधबार बिहान तीन बजे काठमाडौं आइपुगेका छन् । काकडभिट्टाको पानी ट्यांकी नाका हुँदै मंगलबार नेपाल फर्काइएका उनीहरुलाई बुधबार बिहान काठमाडौं ल्याइएको हो ।

भारतस्थित मणिपुरका विभिन्न ठाउँबाट उद्धार गरेर नेपाल फर्काइएकामो १४७ जना महिला र ३२ जना पुरुष रहेका छन् । नेपाल र भारत सरकारको संयुक्त पहलमा ती उनीहरुलाई फर्काइएको हो ।

दुई साताअगाडि माइती नेपाललाई प्राप्त गोप्य सूचनाको आधारमा उद्धार कार्यको थालनी भएको थियो । सूचना पाएपछि माइती नेपालले दिल्ली महिला आयोगलाई जानकारी दिएको थियो । सेहीसूचनाका आधारमा सबैभन्दा पहिले दिल्लीबाट ६ जना महिलाको उद्धार गरिएको थियो । त्यसपछि तिनै महिलाले ठूलो संख्यामा नेपाली महिलालाई दिल्ली लैजान लागिएको सूचना दिएका थिए । दिल्लीबाट उद्धार गरिएका महिला माघ २५ गते काठमाडौं आइसकेका छन् ।

यसपछि पनि आफ्नो रेस्क्यु अपरेसनलाई जारी राखेको भारतीय प्रहरीले मणिपुर शहरका छुट्टा छुट्टै ठाउँबाट ठूलो संख्यामा नेपालीको उद्धार गरेको हो ।  म्यानमारसँगको सिमावर्ति क्षेत्रमा पर्ने मणिपुरबाट इराक, दुबईलगायतका देशमा मानव तस्करी हुँदै आएको पाइएपछि भारतीय प्रहरीले सक्रियता देखाएको हो । मानव तस्करीमा संलग्न  भएको आरोपमा एक महिलासहित ९ जनालाई पक्राउ गरिएको छ ।

 भारतस्थित नेपाली दुतावास र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयसँग समन्वय गर्दै भारतको केन्द्र सरकार, मणिपुर सरकार, मणिपुरस्थित गोरखा दुख निवारण समिति लगायतका संस्थामार्फत पहल गरी मणिपुरबाट उद्धार गरिएकालाई नेपाल फर्काएको माइती नेपालले जनाएको छ ।

उद्धार गरिएका यी नेपालीलाई विभिन्न १२ वटा पुर्नस्थापना केन्द्रमा राखेर पारिवारिक पुर्नमिलनको कार्यक्रमलाई अगाडि बढाउने ब्यवस्था मिलाइसकिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए ।

Published on: 20 February 2019 । Annapurna Post

Back to list

;