s

भारतसँगको सीमा नाकामा सयौं नेपाली आएपछि तिनलाई के गर्ने छलफल हुँँदै

नेपाल सरकारले आइतबार साँझ नेपाल-भारत नाका एक साताका लागि बन्द गर्ने निर्णय गर्‍यो। केन्द्र सरकारले निर्णय गर्नुअघि बाँकेको रुपैडिया नाका आइतबारदेखि नै बन्द गर्नेबारे दुई देशका अधिकारीबीच सहमति भएको थियो।

तर भारतबाट आउने यात्रु रोकिएनन्। कामको शिलशिलामा भारतका विभिन्न ठाउँमा  गएका सयौं नेपाली आइतबार राति र सोमबार बिहान रुपैडिया नाका कटेर वारि आए।

अब ती यात्रुलाई कसरी घर पुर्‍याउने भन्ने नयाँ समस्या आएको छ किनकी सोमबारदेखि देशभरि एउटा जिल्लाबाट अर्को जिल्लामा जाने सार्वजनिक सवारी बन्द भएका छन्।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार खड्काले आएका सबै नेपाली भएको हुँदा फर्काउन पनि असम्भव भएको बताए। उनका अनुसार उनीहरूलाई कसरी घर पठाउने भन्नेबारे छलफल भइरहेको छ।

‘सहमतिविपरीत भारतले मानिस पठायो,’ खड्काले भने ‘आएका सबै नेपाली नागरिक नै छन्। मानवीय नाताले फर्काउन पनि मिलेन। के गर्ने भन्ने छलफल भइरहेको छ।’

यसैगरी रुपन्देहीको सीमानाका बेलहियाबाट सोमबार बिहान १० बजेसम्म १६ सय बढी नेपाली प्रवेश गरेका छन्। बिहान १० बजेदेखि नाका बन्द हुने भनिएपछि भारतका विभिन्न स्थानबाट रातारात सीमावारि आइपुगेका हुन्।

नेपाल आउने नेपालीहरूलाई भारतीय सुरक्षाकर्मीले सहजै सीमावारि आउन दिएका छन्। नेपाल प्रहरीले पनि भारतीय नागरिकहरूलाई भारत जान दिएको छ भने नेपाली नागरिकहरूलाई सीमाबाटै फर्काइदिने गरेको छ।

ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले १० बजेसम्म सीमानाका खुला भएकोले उनीहरूको तथ्यांक राखी ज्वरो नापेर र सेनिटाइजर प्रयोग गर्न दिएर नेपाल प्रवेश गराइएको सेतोपाटीलाई जानकारी दिए।

१० बजेपछि भने नाका बन्द गरिएको उनले जानकारी दिए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले सरकारले १० बजेपछि सबै सीमानाका बन्द गर्न निर्देशन दिएकोले अत्यावश्यक वस्तु बोकेका गाडी बाहेक कसैलाई पनि सीमा प्रवेश गर्न नदिइने जानकारी दिए।

उनले रुपन्देहीको बेलहिया नाकासँगै अन्य साना नाकाहरूबाट समेत मानिसहरूको आवतजावत हुनसक्ने भएकोले कडा निगरानी गरिएको जानकारी दिए।

सीमावारी आए पनि सोमबारदेखि लामो दूरीका सवारी साधन सञ्चालनमा सरकारले रोक लगाएपछि पहाडी जिल्लाका यात्रुहरू बेलहियामै अलपत्र परेका छन्।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले छोटो दूरीका सवारी साधन चले पनि लामो दूरीका सवारी साधनमा सरकारले रोक लगाएपछि चलाउन नसकिएको जानकारी दिए।

यात्रु अलपत्र पर्ने अवस्था आए र प्रदेश सरकार र स्थानीय प्रशासनले आग्रह गरेको खण्डमा गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी समेत गाडी चलाउन सकिने उनले बताए।

तुलसीपुरमा पनि सयौं यात्रु अलपत्र

छिमेकी देश भारतलगायत नेपालकै अरू जिल्लाबाट दाङ आइपुगेका सयौं यात्रु तुलसीपुरको बसपार्कमा अलपत्र परेका छन्।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार तुलसीपुर बसपार्कमा झन्डै तीन सय मानिस विभिन्न स्थानबाट आइपुगेका छन्।

उनीहरूलाई कसरी गन्तव्यसम्म पुर्‍याउने भन्नेबारे छलफल भइरहेको  रिजालले जानकारी दिए।

‘अहिले हामी छलफल गर्दै छौं,’ प्रजिअ रिजालले भने ‘अब सम्बन्धित जिल्लाको सीमानासम्म हामी पुर्‍याउँछौं। त्यसपछि अर्को जिल्लाका प्रहरी अधिकारीले उनीहरूको जिम्मा लिने गरी कुरा भइरहेको छ।’

यसैगरी,वीरगञ्ज-रक्सौल नाकाबाट पनि बिहान ६ बजेदेखि १० बजेसम्म ७ सय ६२ जना भित्रिएका छन्। अहिले नाका बन्द गरिएको छ। सीमानाकाबाट प्रवेश गर्नेलाई फिर्ता पठाइएको छ। मालवाहक सवारीलाई भने आउन दिइएको छ।

सीमानाका बन्द र आवातजावतमा पनि रोक लगाइएपछि अहिले सर्वसाधारण अलपत्र परेका छन्।

Published on: 23 March 2020 | Setopati

 

 

Link

Back to list

;