s

भारत पु-याइएका ३२ महिलाको उद्धार

ख्याम भुजेल

भारत पु-याइएका ३२ महिला तथा बालबालिकाको उद्धार गरिएको जानकारी दिइएको छ । नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । प्रदेश १ मा क्रियाशील माइती नेपालका कार्यालयहरूले एक वर्षमा सीमावर्ती भारतीय बजारबाट उनीहरूको उद्धार गरेका हुन् ।

इलामसँग सीमा जोडिएका ठाउँबाट उद्धार गरिएकाको संख्या झापा, मोरङ र सुनसरीको भन्दा धेरै छ । पशुपतिनगर कार्यालयले इलामसँग सीमा जोडिएका भारतको मिरिक, दार्जिलिङ, कालेबुङलगायत ठाउँबाट १८ जनाको उद्धार गरेको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले जानकारी दिए ।
 
उनका अनुसार काँकडभिट्टामा रहेको माइती नेपालले १० जना, मोरङको जोगमनीको शाखाले चार महिलाको उद्धार गरेको छ । माइती नेपालले १ नम्बर प्रदेशका विभिन्न नाकामा चार सय ७९ महिलालाई रोकेको छ । सीमा पार हुन लागेका महिलाहरूलाई नाकामा रोकेर घर फर्काइएको जनाइएको छ ।
 
पशुपतिनगर नाकामा एक सय ९५, काँकडभिट्टामा एक सय ४६ र जोगबनीमा एक सय २० महिलालाई नाकामा रोकेर अभिभावकको जिम्मा लगाइएको पशुपतिनगर शाखा संयोजक ढकालले बताए । प्रहरीसँगको सहकार्यमा माइती नेपालले सीमा पार हुन लागेका महिलाहरूको निगरानी गर्ने गरेको छ । जोखिममा रहेको शंका लागेमा महिलालाई नाकामै रोकिने गरेको छ । पशुपतिनगर नाकाबाट मात्रै ५३ जिल्लाका महिलालाई रोकिएको माइती नेपालले जनाएको छ ।
 
प्रदेश १ का विभिन्न जिल्लामा दुई सय ११ महिला र बालबालिका हराएको निवेदन परेको छ । हराएकालाई खोजिदिन आग्रह गर्दै माइती नेपालमा उजुरी पर्ने गरेको भए पनि अधिकांश फेला नै पर्दैनन् । हराएकामध्ये ७० जना मात्रै फेला परेका छन् । इलाममा ६३ जना हराएको निवेदन परेकोमा २२ जना मात्रै फेला परेका छन् । झापामा ८६ जना हराएकोमा ३० जना फेला परेका छन् । मोरङमा २७ जना हराएकोमा तीनजना मात्रै फेला परेका छन् । सुनसरीमा ३५ जना हराएकोमा १५ जना मात्रै फेला परेको जानकारी दिइएको छ ।
 
Published on: 20 July 2018 | Naya Patrika

Back to list

;