s

भारत पठाउँदा पनि शुल्क

रुद्र खड्का

खाडी, मलेसिया, युरोप, अमेरिकालगायत मुलुकमा रोजगारीका लागि पठाउँदा ठगी गर्ने विषय नयाँ होइन। वैदेशि रोजगारीका लागि ती मुलुक जाने युवालाई विभिन्न बहानामा ठगी गर्नेे धन्दा मौलाइरहेका बेला छिमेकी मुलुक भारतमा काम लगाइदिने नाममा समेत यस्तै हुन थालेको छ। सिनामंगलमा रहेको एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले भारतको विहारमा मासिक २०–२६ हजार भारतीय रूपैयाँ पारिश्रमिक दिलाउने भन्दै आठ युवालाई ठगी गरेपछि भारतमा पनि रोजगारीका नाममा युवालाई ठगी गर्ने गरिएको खुलेको हो।

कन्सल्टेन्सीमा काम गर्ने अनिल श्रेष्ठ र दीपक शाहलाई २० हजार रूपैयाँ बुझाएका कञ्चनपुर कृष्णपुर–९ का रमेशप्रसाद ओझाले रकम बुझाएको दुई महिना बित्दा पनि भारत जान नपाएको बताए। ‘श्रेष्ठ र शाहले भारत, विहारको एटलान्टिक कन्स्ट्रक्सनमा मासिक २६ हजार भारु पारिश्रमिक पाइने भन्दै २० हजार रूपैयाँ लिएका हुन्,’ उनले भने, ‘रकम लिएपछि आजभोलि पठाइदिने भन्दै दुई महिना बित्यो।’

ओझाका अनुसार उक्त कन्सल्टेन्सीले आठ युवासँग एकैपटक रकम असुलेको हो। पटकपटक भारतको रोजगारीमा गइसकेका ओझाले विगतमा कुनै शुल्क तिर्न नपरेको बताए। ‘पहिला भारत जाँदा मासिक १० हजार हाराहारी पारिश्रमिक पाइन्थ्यो,’ उनले भने, ‘यसपटक २६ हजार भारु पाइने दलालको कुरा पत्याउँदा लगानी नै डुब्ने अवस्थामा पुग्यो।’

दलालले रकम लिएको एक सातामा ती युवालाई जनकपुरसम्म पुर्याएका थिए। ‘जनकपुरमा साढे एक साता राखेर पुनः काठमाडौं फिर्ता गरेपछि ठगहरूको परिबन्दमा परिएको रहेछ भन्ने लाग्यो,’ अर्का पीडित रुकुम, त्रिवेणी–१ का खिमबहादुर ओलीले भने, ‘दलालले ठग्नलाई गलत आश्वासन दिएको पुष्टि भएपछि रकम फिर्ता गर्ने प्रयास गरिरहेका छौं। तर, त्यसपछि दलाल सम्पर्कमा छैनन्।’ भारत पठाउने नाममा ती युवासँग रकम असुल गर्ने शाह र श्रेष्ठको मोबाइल नम्बरमा नागरिकले समेत पटकपटक सम्पर्क गर्न खोज्दा दुवैको स्विच अफ गरिएको थियो।

वैदेशिक रोजगार ऐन २०६४ ले भारतको रोजगारीलाई वैदेशिक रोजगारीको श्रेणीमा राखेको छैन। भारत जान राहदानी आवश्यक पर्दैन। खुला सीमाका कारण वर्षौंदेखि नेपाली रोजगारीका लागि भारत जाने क्रम जारी छ। भारतमा रोजगारी पाउन कठिन नभएकाले कुनै शुल्क तिर्न पर्दैन। त्यहाँको रोजगारीका लागि दलाल वा अन्य कुनै पनि संस्थाको सहयोग आवश्यक पर्दैन।

भारत जाने व्यक्तिले रोजगारी पाउन शुल्क तिर्नुपरेको घटना अहिलेसम्म सार्वजनिक भएको थिएन। ओलीले भारतको रोजगारी पाउन शुल्क तिर्नु हुँदैन भन्ने थाहा भए पनि दलालको राम्रो पारिश्रमिक पाइने प्रलोभनले फसेको प्रस्ट्याए। वैदेशिक रोजगार ऐनले भारत रोजगारीका नाममा ठगीमा परेकालाई कारबाही गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको छैन। जसले गर्दा पीडितले विभागमा उजुरी गर्न खोजे पनि विभागका कर्मचारीले दर्ता गर्न मानेनन्।

‘विभागले उजुरी दर्ता नगरेपछि गौशाला प्रहरी वृत्तमा उजुरी दिएका छौं,’ ओझाले भने, ‘प्रहरीका अधिकारी उल्टै ठगी गर्ने शाह र श्रेष्ठलाई समातेर ल्याऊ भन्छन्। उनीहरूलाई खोज्ने ल्याकत छैन।’

वैदेशिक रोजगार विभागका अधिकारी युवा सचेत नभएसम्म ठगी रोक्न कठिन हुने बताउँछन्। विभागका निर्देशक भोलानाथ गुरागाईंले दर्ता भएका एजेन्टलाई खारेज गरिएपछि अवैध धन्दा चलाउने एजेन्ट मौलाइरहेको बताए। ‘विभागले अवैध एजेन्टलाई कारबाही गर्ने प्रयास गरिरहेको छ,’ उनले भने, ‘तर, ठगी गर्नेको गिरोह र च्यानल ठूलो छ।’

वैदेशिक रोजगार ऐनले भारत रोजगारीलाई नसमेटेकाले मौन विभागले अहिलेसम्म भारत जानेको विवरण राख्ने गरेको छैन। त्यस्तै भारत रोजगारीमा जाँदा कुनै शुल्क लिन पाइँदैन। सरकारले चार वर्षअघि नै खाडी मुलुक र मलेसिया जाने कामदारसँग १० हजार रूपैयाँभन्दा बढी रकम लिन नपाइने नियम बनाइरहेको बेला भारत रोजगारीका नाममा ठगी गरिएको पाइएपछि रोकथामका लागि कडा कदम चाल्नु पर्ने अवस्था देखिएको छ।

विभागका अनुसार आर्थिक वर्ष ०७५÷७६ मा भारतबाहेकका मुलुकमा कामदार पठाउने भन्दै ८० करोड रूपैयाँभन्दा बढी असुल भएका घटनासम्बद्ध दुई हजारभन्दा बढी उजुरी दर्ता भएका छन्।

Published on: 15 August 2019 | Nagarik

Back to list

;