s

भारत पस्दा गाउँ युवाविहीन

मेनुका ढुंगाना

अछाम — चौरपाटी गााउँपालिका–५ लुंग्राको थुवा गाउँमा ६०/६५ घरधुरी छन् । अधिकांश युवा रोजगारीको खोजीमा भारत पलायन हुँदा गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्रै छन् । ‘कुनै घरबाट त ३/४ जना पनि कमाइ गर्न बम्बै गएका छन्,’ स्थानीय सुन्तला विकले भनिन्, ‘हाम्रो गाउँमा त १६/१७ वर्षमाथिका किशोर पनि पढाइ छाडेर भारत जाने गर्छन् ।’ गाउँमा हुने विकास निर्माण, सामान्य भेला, बैठकदेखि विभिन्न सामाजिक कार्यहरू पनि महिलाले धानेका छन् ।

कोरोना महामारीका कारण लामो समयसम्म गाउँमै थन्किएको युवा शक्ति संक्रमण मत्थर भएसँगै पुन: भारत पसेको स्थानीय धौला विकले बताइन् । ‘घरमा श्रीमान्, छोराहरु नहुँदा खेतीपाती लगाउन/थन्क्याउन र गह्रुँगा काममा गाह्रो त हुन्छ नै, त्योभन्दा गाह्रो कमाइ हुने स्रोत बन्द हँुदा हुन्छ,’ उनले भनिन्, ‘भारत नगए खर्च चल्दैन । फेरि कोरोना आयो भन्छन् । कमाउन गए पनि रोगले कतिखेर समाउँछ भन्ने चिन्ता छ ।’

उनका अनुसार गाउँमा खेतबारीमा उल्लेख्य उत्पादन छैन । अन्य रोजगारीका अवसर पनि पाउन मुस्किल छ । भारत नगए परिवार पाल्न, दसैंतिहारजस्ता पर्व बनाउन, सामाजिक कार्यमा सामूहिक रूपमा तिर्नुपर्ने रकम दिन पनि मुस्किल पर्ने उनले सुनाइन् । ‘यो गाउँका अधिकांश युवा रोजगारीको सिलसिलामा भारतका सुरत, पुना, बम्बैलगायतका ठाउँमा जाने गर्छन्,’ चौरपाटी गाउँ कार्यपालिका सदस्य करी विक (कोली) ले भने, ‘अछामका धेरैजसो गाउँमा महिलाले बिरामी बोकेर अस्पताल लैजानेदेखि मलामीसमेत जानुपर्ने अवस्था छ । यस्तो मुख्य कारण नै गाउँमा पुरुष नहुनु हो ।’

सामान्य पढेलेखेका मात्रै होइनन्, उच्च शिक्षा हासिल गरेका यहाँका झन्डै ५०/६० जना युवा रोजीरोटीकै लागि भारत गएर निम्न स्तरको काम गरिरहेका बताउँछन् स्थानीय मनिराज पाण्डे । गाउँकै विद्यालयमा पढाइरहेका पाण्डे भन्छन्, ‘युवा नभएपछि गाउँ सुनसान जस्तै लाग्छ । सामाजिक कार्यमा पनि महिलाहरूले नै सघाउनुपर्छ ।’ गाउँमा २ जना प्रावि तहका स्थायी शिक्षक र ५ जना जति गैरसरकारी संस्थामा आबद्धबाहेक अहिलेसम्म कोही पनि जागिरे छैन । युवालाई प्रेरणा दिने र आफ्नै ठाउँमा केही गर्न सक्ने हौसला प्रदान गर्ने सामाजिक अगुवासमेत नहँुदा गाउँ युवाविहीन हुन पुगेको स्थानीय झंकरे कोलीले बताए ।

अछामसहित सुदूरपश्चिम प्रदेशका अधिकांश पहाडी गाउँको कथा प्राय: यस्तै छ । पहाडका हरेक गाउँबाट जिल्ला सदरमुकामस्थित बसपार्कहरुमा दैनिक भारत जाने युवाहरुको लर्को नै लाग्ने गरेको छ । मंगलसेन बसपार्कबाट मात्रै दिनमा १०–१५ युवाहरु भारत गइरहेको कर्णाली यातायातका दीपक साउदले बताए । बढीजसो युवाहरु दसैंतिहारपछि र असारको खेती लगाइसकेपछि जाने गरेको उनले बताए । ‘अहिलेको सिजनमा त ४०/५० जनासम्म एकै दिन जाने गरेको पनि भेटिन्छ, बसमा ठाउँ नै हँुदैन,’ उनले भने । कात्तिक/मंसिरमा गहुँ छर्ने काम सकेर अधिकांश युवा भारत पस्छन् । कतिपय वैशाखमा नयाँ वर्ष मनाउन, मकै छर्न तथा धान रोपाइँका लागि फर्कन्छन् भने केही गौरा पर्व र दसैं मनाउन घर फर्किन्छन् । 

पहाडी गाउँबाट कामका लागि भारत जाने युवाहरुले सामान्यतया चौकीदारी, घरको रेखदेख, सरसफाइ, होटलमा भाँडा माझ्ने जस्ता काम गर्ने गरेका मंगलसेन–५ का पुष्प विक बताउँछन् । पछिल्ला वर्षहरुमा सुदूर पहाडबाट भारत जाने र आउनेलाई मध्यनजर गरी विभिन्न व्यवसायी/समूहले धनगढीदेखि भारतका मुम्बई, पुने, सुरतलगायत सहरमा जान बस सेवासमेत सञ्चालन गरेका छन् ।

Published on: 28 December 2021 | Kantipur

Link

Back to list

;