s

भारत, म्यानमार हुँदै खाडी देशमा महिला तस्करी

सरकारले त्रिभुवन विमानस्थलमा कडाइ गरेपछि भारतको आसाम, मणिपुर, मिजोरम, म्यानमार, श्रीलंका हुँदै खाडी मुलुक पु-याउने गिरोह सक्रिय, २३ जना भारतमा अलपत्र

घटना १ : कुवेतमा राम्रो आम्दानीको लोभ देखाइयो, लगियो मणिपुर

सुर्खेतकी सावित्री विकका श्रीमान् विगत तीन वर्षदेखि गायब छन् । कमाइ गरेर पाल्ने श्रीमान् नै हराएपछि दुई छोराछोरीसहित सावित्री माइतीमा बस्दै आएकी छिन् । छोराछोरी हुर्काउन उनी दिल्लीका विभिन्न सहरमा मजदुरी गर्छिन् । दाजुभाइसँग वर्षमा चार–पाँच महिना दिल्ली र बाँकी समय सुर्खेत बस्ने गर्छिन् । यही क्रममा उनको विदेश पठाउने राज नाम गरेका व्यक्तिसँग भेट भयो ।

उनले कुवेतमा राम्रो आम्दानी हुने आस देखाएपछि सावित्री पनि लोभिइन् । दुई छोराछोरीलाई आमाको जिम्मा लगाएर सावित्री गत १८ कात्तिकमा सुर्खेतदेखि कुवेतका लागि हिँडिन् । दलालले उनलाई सडकको बाटो दिल्ली पु-यायो । उनी त्यहीँ दुई दिन बसिन् । दिल्लीबाट जहाजमा उनलाई कोलकाता पु-याइयो । तस्कर समूहले दिल्लीबाट मणिपुरको इम्फाइलमा जहाजमै लग्यो । तर, विमानस्थलमा प्रहरीले उनीसहित अन्य चारजना महिलालाई समात्यो ।

दलालले सावित्रीलाई दिल्लीबाट सीधै कुवेत पुग्ने बताएको थियो । तर, दिल्लीको विमानस्थलमा पुगेपछि कोलकाता, इम्फाइल, म्यानमार, श्रीलंका हुँदै कुवेत जाने जानकारी दिएको उनले फोनमार्फत बताइन् । ‘यस्तो दुःख हुने रहेछ । पहिला थाहा थिएन । यस्तो दुःख पाउने भए त किन आउँथे र,’ उनले भनिन्, ‘विदेशमा केही कमाइ होला भनेर हिँडेको । घरमा ससाना बालबच्चा छन् । बालबच्चाको अनुहार हेर्न पाए पनि हुन्थ्यो,’ उनले भनिन् ।

घटना २ : छोरीलाई श्रीमान्को जिम्मा लगाएर हिँडेकी रमा बीचमै अलपत्र

रुपन्देहीकी रमा क्षेत्री २० कात्तिकमा कुवेतका लागि दिल्ली हिँडेकी थिइन् । सामान्य चिनजानकी मुना थापाले उनलाई कुवेतमा राम्रो कमाइ हुने आश्वासन दिएपछि छोरीलाई श्रीमान्को जिम्मा लगाएर हिँडेकी रमा अहिले बीचमै अलपत्र परेकी छिन् ।

उनलाई पनि रुपन्देहीबाट सुर्खेत हुँदै दलालले दिल्ली पु-याएको थियो । दिल्लीबाट कोलकाता हुँदै उनलाई इम्फाइल विमानस्थल लगिएको थियो । तर, विमानस्थलमा उनीसहित अन्य तीनजनालाई प्रहरीले नियन्त्रणमा लियो । ‘हामी घर जान चाहन्छौँ । तर, यहाँ हामीलाई तिमीहरूको सरकारले वास्ता गरेन भन्छ । हामी आफ्नै परिवार बोलाएर जान्छौँ भन्दा पनि जान दिँदैनन् । हामीलाई छिटो उद्धार गरिदिनुहोस्,’ उनले भनिन् ।

घटना ३ : दुबईमा राम्रो कमाइ हुने लोभ, गुवाहटी हुँदै इम्फाइल पु.याइयो

काभ्रेकी मुना गुरागाईं १५ कात्तिकमा काठमाडौंबाट दुबई हिँडेकी थिइन् । दिल्लीमा बस्ने ईश्वर न्यौपाने र दुबईमा बस्ने अनिल न्यौपानेले उनलाई दुबई जाने सेटिङ मिलाएका थिए । दलालले भनेअनुसार नै उनी बसबाट काठमाडौंदेखि दिल्ली पुगिन् । दलाल समूहले उनलाई दिल्लीबाट हैदराबाद हुँदै चेन्नई पु-यायो । तर, चेन्नईमा उनलाई स्थानीय नेपालीले नै समाते र दिल्ली फकाईदिए ।

दिल्लीबाट दलालले फेरि उनलाई बसबाट गुवाहटी पु-यायो । गुवाहटीबाट पनि सडक बाटो हुँदै इम्फाइल पु-याइयो । इम्फाइलबाट मोरे जाने क्रममा उनीलाई प्रहरीले नियन्त्रणमा लियो । अहिले उनीसहित पूजा केसी, दुर्गा थापा, गोमा दनुवार, स्मिता माझी, आशा माझी, प्रमिला सार्कीलगायत १२ मणिपुरस्थित सेन्टर फर डेभलपमेन्ट एक्टिभिटिजको संरक्षण छन् । उनीहरूले आफूहरूलाई नेपाल फर्काइदिन आग्रह गरेका छन् ।

नेपाली महिलालाई दलालहरूले कसरी भारतबाट अर्को देश हुँदै खाडी मुलुक पु-याउँछन् भन्ने उदाहरण हुन् यी माथिका घटना । नेपाल सरकारले महिलालाई रोजगारका लागि खाडी मुलुकमा जान प्रतिबन्ध गरेको छ । तर, जान चाहने महिला अनेकौँ जोखिम मोलेर खाडी मुलुक जान खोजिरहेका हुन्छन्, दलालले पनि अनेकौँ रुट प्रयोग गरी नेपाली महिलालाई खाडी मुलुक पु-याइरहेका छन् ।

पछिल्लो समय सडकमार्ग हुँदै भारतको आसाम, मणिपुर, मिजोरम हुँदै म्यानमार पु-याउने र त्यहाँबाट श्रीलंका हुँदै खाडी मुलुक पु-याउन गिरोह सक्रिय हुन थालेको छ । अहिले मणिपुरमा करिब २३ जना नेपाली महिला प्रहरी नियन्त्रणमा छन् ।

खाडीका विभिन्न मुलुक लैजाने क्रममा उनीहरू मणिपुरको इम्फाइल विमानस्थल र मोरे नाकाबाट समातिएका हुन् । अहिले उनीहरू मणिपुरको विभिन्न गैरसरकारी संस्थाको संरक्षणमा छन् । केही एबिसिडिओ प्रोएक्टिम एन्ड रिहालिबेटिम होम्स, इपाम्लम्डम उजाला होम्स अफ सेन्टर र सेन्टर फर डेभलपमेन्ट एक्टिभिटिजमा रहेको माइती नेपालका अध्यक्ष विश्वराम खड्काले बताए ।

गत फागुनमा ब्युरोले १७९ जना नेपालीलाई मणिपुरबाट उद्धार गरेको थियो । अवैध बाटोबाट खाडी मुलुक लगिएका ती महिलालाई माइती नेपालले पाएको सुराकीका आधारमा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । म्यानमार हुँदै खाडी मुलुक जान चाहनेमा १४७ जना महिला र ३२ जना पुरुष थिए । उनीहरूलाई काँकडभिट्टा हुँदै नेपाल ल्याइएको छ ।

यस्तै, गत वैशाखमा मानव बेचबिखन अनुसन्धान ब्युरोले २३ जना महिलालाई भारतको मिजोरमबाट उद्धार ग-यो । तिनलाई पनि म्यानमारबाट, श्रीलंका हुँदै खाडी मुलुक लैजाने दलालको योजना थियो । तर, भारतीय प्रहरी र स्थानीय गैरसरकारी संस्थाको सहयोगमा ब्युरोले उद्धार ग-यो । पछि उनीहरूलाई नेपाल फर्काइयो ।

जति-जति कडाइ उति-उति रुट परिवर्तन

नेपाली महिलालाई घरेलु कामदारका लागि कुवेत, युएई, कतार, ओमान, बहराइन, लेबनान, साउदी, इराक, कुर्दिस्तान, सिरिया र माल्दिभ्स पु-याइन्छ । नेपालबाट भारत पु-याउन दलालले सबैभन्दा बढी महेन्द्रनगरको गड्डाचौकी, धनगढीको मोहाना, नेपालगन्जको जमुनाहा, भैरहवाको बेलिया, पर्साको वीरगन्ज, विराटनगरको जोगबनी र झापाको काँकडभिट्टा नाका बढी प्रयोग गर्छन् ।

महिलालाई भारतको दिल्ली, पहाडगन्ज, गोठगाउँ, मुनिरका, बनारस, मनिपुर, चेन्नई, जयपुर र मिजोरममा राख्ने गरिन्छ । त्यस्तै, दिल्ली, बनारस, चेन्नई, जयपुर, बम्बई, कोलकाता, लखनउ र बैंगलोरको विमानस्थलबाट खाडीका लागि उडाउने गरिन्छ ।

सरकारले घरेलु कामदार रूपमा खाडी मुलुक जान नेपाली महिलालाई बन्देज गर्दै त्रिभुवन विमानस्थलबाटै कडाइ गरेपछि दलालले सडकमार्गको विकल्प प्रयोग गरेका हुन् । यसअघि नेपालबाट नागरिकता बोकाएर दिल्ली लगिन्थ्यो, त्यसपछि भिसा लगाएर खाडी पु-याइन्थ्यो ।

तर, नेपालको अनुरोधमा भारत सरकारले दिल्ली विमानस्थलमा ‘नो अब्जेक्सन लेटर’लाई अनिवार्य गरेपछि दलालहरूले बंगलादेशको रुट प्रयोग गर्न थाले । बंगलादेशमा पनि कडाइ भएपछि अहिले सडकमार्ग भएर भारतको मणिपुर, मिजोरम, म्यानमार, श्रीलंका हुँदै खाडी पु-याउन थालेको माइती नेपालका अध्यक्ष खड्काको भनाइ छ ।

एक वर्षमा २७२ जनाको उद्धार

मानव बेचबिखन अनुसन्धान ब्युरोले १० महिनायता २७२ जना महिलालाई विभिन्न मुलुकबाट उद्धार गरेको छ । रोजगारीका लागि दलालहरूले अवैध मार्ग हुँदै लैजाने क्रममा ब्युरोले उद्धार गरेको हो । उद्धार गरिएकामध्ये २०६ जना महिला र ६६ जना पुरुष छन् । केन्याबाट १२, मलाबी तीन, दिल्ली एक, म्यानमार एक, इन्डोनेसिया चार, कुवेतबाट एकजनाको उद्धार गरिएको ब्युरोका प्रवक्ता गोविन्द थपलियाले बताए ।

खाडीमा एक लाखभन्दा बढी घरेलु कामदार

गैरकानुनी प्रक्रियाबाट एक लाखभन्दा बढी घरेलु नेपाली कामदार खाडीका विभिन्न मुलुकमा रहेको अनुमान छ । तर, यकिन तथ्यांक सरकारसँग पनि छैन । सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासको अनुमानित तथ्यांकअनुसार कुवेतमा १९ हजार ७८७, कतारमा चार हजार ९९, मलेसियामा ५९, बहराइनमा एक हजार, युएईमा ५० हजार घरेलु कामदार छन् । त्यस्तै, जोर्डनमा पाँच हजार, लेबनानमा तीन हजार, साउदीमा सात हजार, कुर्दिस्तानमा तीन हजार, माल्दिभ्समा दुई हजार घरेलु कामदार हुन सक्ने गैरसरकारी संस्थाहरूको तथ्यांक छ ।

न्यूनतम पाँचदेखि १० लाख रुपैयाँमा नेपाली महिला घरेलु कामदारका लागि खाडीका विभिन्न मुलुक पुग्ने गरेका छन् । नेपाल सरकारले प्रतिबन्ध गरेपछि खाडी मुलुकका रोजगारदाताले नै ठूलो रकम दिएर नेपाली महिलाको माग गर्न थालेको सरोकारवाला बताउँछन् ।

खाडी मुलुकमा नेपाललगायत फिलिपिन्स, इन्डोनेसिया, श्रीलंकाबाट महिलाहरू घरेलु कामदारका रूपमा जाने गरेका छन् । तर, तुलनात्मक रूपमा बढी इमानदार, कम बोल्ने, सफासुग्घर, मिलनसार, मिहिनेती हुने भएकाले रोजगारदाताको रोजाइमा नेपाली महिला पर्ने गरेका छन् ।

कानुनी प्रक्रियाका कारण समातिएका नेपाली महिला ल्याउन समय लागेको हो : भरतराज पौड्याल, प्रवक्ता, परराष्ट्र मन्त्रालय

मणिपुरमा समातिएका महिलाको उद्धारका लागि सबैतर्फबाट प्रयास भएको छ । तर, त्यहाँको कानुनी प्रक्रियाका कारण समस्या देखिएको छ । त्यहाँको नियमअनुसार संरक्षणमा राखेका गैरसरकारी संस्थाले यसलाई अदालतमा मुद्दा दायर गर्नेछन् । अदालतले क्लिरियन्स दिएपछि घर-परिवारबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले प्रक्रिया लम्बिएको हो ।

कारबाही प्रक्रिया अगाडि बढाएका छौँ : ज्ञानेन्द्र पौडेल, प्रवक्ता, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

हामीलाई १५ जना नेपाली महिला मात्र मणिपुरमा समातिएको खबर आएको छ । यो सूचना हामीले परराष्ट्र हुँदै दिल्लीस्थित नेपाली दूतावासलाई दिएका छौँ । दुवै पक्षसँग छलफल भइरहेको छ । प्रक्रिया टुंगिएपछि उद्धार गर्छौँ । दोषीलाई कारबाही पनि हुन्छ ।

Published on: 12 February 2020 | Naya Patrika

Link

Back to list

;