s

भारतमा बेचिएका आमाछोराको उद्धार

विष्णु शर्मा

६ महिनाअघि भारतमा बेचिएका आमाछोराको उद्धार गरिएको छ । श्रीमान्सँग भारतको बेंग्लोर गएकी दैलेखकी १८ वर्षीया एक महिलालाई श्रीमानले बेचिदिएका थिए । दुई वर्षका छोरासहित २ लाख २० हजार भारुमा बिक्री भएकी उनलाई एक भारतीय प्रहरीको सहयोगमा बेंग्लोरबाट उद्धार गरिएको हो । बेचिएकी महिलाको माइती पक्षले गत ९ जेठमा मानव बेचबिखन तथा ओसारपोसार अन्तर्गत दिएको निवेदनका आधारमा स्थानीय संस्था र भारतको बेंग्लोर घुम्न गएका नेपाली मूलका भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो ।

छोराको विषयले मानसिक तनाव
 
तीन वर्षपछि छोरालाई लैजाने भनेर मानसिक तनाव दिने गरेको उनले बताइन् । ‘उनीहरूले प्लास्टिक कारखानामा लगेर राखेका थिए । दिनहुँ मानसिक तनाव दिन्थे,’ उनले भनिन् । आफू रहेको ठाउँमा ११ जना महिला र उनीहरूका बालबच्चा पनि रहेको उनले बताइन् । तीन वर्ष पुगेपछि बालकलाई अज्ञात स्थलमा लाने गरेको र कारण भने थाहा नभएकोसमेत उनले जनाइन् ।
 
माइतीको निवेदनमा उद्धार
 
एक वर्षअघि श्रीमान्सँगै भारत गएकी उनी ६ महिनाअघिदेखि बेंग्लोरमा बस्न थालेकी थिइन् । उनले दैलेखका एकजनालाई फोन सम्पर्क गरेर समस्या बताएकी थिइन् । त्यसपछि माइती पक्षले उद्धार गरिदिन निवेदन दिएको थियो । सोही आधारमा सामाजिक सेवा केन्द्र सोसेक दैलेख र शक्ति समूह काठमाडौंको सहयोगमा उनलाई नेपाल ल्याइएको हो ।
 
होस खुल्दा अज्ञात स्थानमा
 
श्रीमान् दुई वर्षदेखि भारतको बेंग्लोर साझापुरमा बसोवास गर्दै आएको पीडित महिलाले बताइन् । ‘चार महिनाअगाडि बजार घुम्न गएका थियौँ, श्रीमान्ले ‘तिमी घर जाऊ, म एकछिनपछि आउँछु’ भन्नुभयो । म घर गएँ, घरमा पुग्नेबित्तिकै एक्कासि अञ्जान व्यक्तिहरूले जबर्जस्ती सेतो पाउडर मुखमा सुँघाएर बेहोस बनाए । होस खुल्दा त नचिनेको ठाउँमा लगेका रहेछन्,’ पीडित महिलाले भनिन्, ‘ती अपरिचित व्यक्तिहरूले रकमै तोकेर तिमीलाई किनेका हौँ भने । अनि नजरबन्दमा राखे ।’
 
Published on: 13 June 2018 | Naya Patrika

Back to list

;