s

भारत लैजाँदै गरेका २० बालबालिकाको उद्धार

मानदत्त रावल

भारतको हिमाञ्चलमा लामा पढाउने बहानामा लैजाँदै गरिएका जुम्लाका २० बालबालिकालाई प्रहरीले बुधबार तिला गाउँपालिकाको कुडारीबाट उद्धार गरेको छ । बालबालिकाले खचाखच भरिएको बसलाई प्रहरीले चेकजाँच गर्दा गैरकानुनी रूपमा भारततिर लैजाँदै गरेको फेला परेपछि बालबालिकाको उद्धार गरेको हो ।

गैरकानुनी रूपमा बालबालिका लैजाँदै गरेको आरोपमा पातारासी गाउँपालिका–३ का २९ वर्षीय छिरिङतुन्डुक तामाङ र सोही वडाका ३२ वर्षीय कार्मा तामाङलाई पक्राउ गरेको प्रहरी निरीक्षक चूडामणि पुनले बताए ।
 
लामा भाषा पढाइदिने भनेर अभिभावकलाई आश्वासन दिएर बालबालिकालाई भारत लैजान लागेकाले बस नियन्त्रणमा लिई बालबालिकाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक पुनले बताए । उनका अनुसार उद्धार गरिएका बालबालिका सातदेखि १४ वर्ष उमेर समूहका छन् ।
 
‘एउटा बसमा धेरै बच्चा लैजाँदै गरेको देखेपछि सोधपुछ गरियो,’ प्रहरी निरीक्षक पुनले भने, ‘बलबालिकालाई लैजाँदै गरेको कुनै कानुनी आधार फेला परेन । त्यसैले उद्धार गरेको हो ।’ उनका अनुसार दुईजनालाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ । बालबालिकालाई प्रहरीको निगरानीमा होटेलमा राखिएको छ ।
 
उद्धार गरिएका २० बालबालिकाको नाम भने सार्वजनिक भएको छैन । उनीहरू बुढा, बोहरा, महतारा र कामी थरका रहेको प्रहरीको भनाइ छ । उद्धार गरिएका बालबालिकाका अभिभावकलाई बोलाएर बुझाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 
Published on: 11 January 2018 | Naya Patrika

Back to list

;