s

भारत लगिँदै गरेका १८ बालबालिका कञ्चनपुर प्रहरीकाे नियन्त्रणमा

भारततर्फ लगिँदै गरेका १८ बालबालिका २ व्यक्तिलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट बिहीबार बेलुकी १२ बालक, ६ बालिकासहित २० जनालाई नियन्त्रणमा लिइएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
 
नेपाल प्रहरीका डीएसपी ज्ञानबहादुर सेट्ठीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) को सहयोगमा नियन्त्रणमा लिइएका बालबालिकाहरु अछामको ढकारी गाउँपालिका–७ का रहेको खुलेको छ । पक्राउ परेका २ व्यक्ति पनि सोही गाउँपालिका निवासी ५३ वर्षीय रामबहादुर बुढा र ४८ वर्षीय रतन विक रहेको प्रहरीले जनाएको छ ।
 
नियन्त्रणमा लिइएकाहरुलाई माइती नेपालको आश्रयमा राखिएको छ । भारततर्फ जाने क्रममा बालबालिकासँगै रहेका बालवालिकाहरु भारतमा रहेका आफन्तहरुको सल्लाह अनुसार नै काम गर्न जान लागेको प्रारम्भिक रुपमा बुझिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । कञ्चनपुर प्रहरीका अनुसार ती बालबालिकाहरुका बारेमा थप बुझ्ने काम भइरहेको छ ।
 
प्रारम्भिक अनुसन्धानले ती बालिकाहरु काम गर्न घरबाट हिँडेको देखिए पनि प्रष्ट भइनसकेको  इन्स्पेक्टर कर्णबहादुर बमले बताए । अछामबाट कम उमेरका बालबालिकाहरुलाई अभिभावकले मजदुरी गर्न भारततिर पठाउने गरेका छन् । लामो समयदेखि यस्तो प्रवृत्ति देखिए पनि यसमा कुनै सुधार आएको छैन ।
 
Published on: 8 June 2018 | Onlinekhabar

Back to list

;