s

भारत जान लागेका १६ बालबालिका सीमाबाट रोकिए

रूपा गहतराज

नेपालगन्ज — अभिभावकलाई भेटन् भारत जान लागेको बताउने १६ जना बालबालिकालाई नेपालगन्जस्थित सिमानामा रोकिएको छ ।

आइतबार साँझ सीमाबाट भारत जान लागेका जाजरकोट र सल्यानका आठ बालक र आठ बालिका गरी १६ जना बालबालिका रोकिएका हुन् । वार्षिक परीक्षा सकिएपछि अभिभावकलाई भेटन् भारतको गुजरात जान लागेको उनीहरूले बताएका थिए ।

'साना हातहरू' नामक संस्थाका अनुसार सीमा नाकाबाट उद्धार गरी आवधिक संरक्षणका लागि नेपालगन्जस्थित सिविन बाल हेल्पलाइनमा ल्याइएका उनीहरू गाउँकै छिमेकी महिलासँग भारत जान लागेका थिए ।

सीमा नाकामा जाँचका लागि बसेका साना हातहरु संस्थाले नाकामा बालकहरुलाई केरकार गर्दा शंका लागेर उनीहरुलाई रोकेको थियो ।

प्रहरी महिला बालबालिका सेलकी दिलसरा रानाले पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेको बताइन् ।

सिविन बाल हेल्पलाइन नेपालगन्जका प्रमुख शिद्धराज पनेरूका अनुसार प्रशासनको रोहबरमा बालबालिकाहरूलाई अभिभावक तथा आफन्तको जिम्मा लगाइएको छ ।

‘यसरी भारत जान खोज्नेमा आर्थिक अवस्था कमजोर भएका बालकहरू मात्रै छन् । यस्तो असुरक्षित यात्राले उनीहरू जोखिममा पर्ने सम्भावना रहन्छ,’ पनेरूले भने ।

Published on: 4 April 2023 | Kantipur

Link

Back to list

;