s

भारत जान हिँडेका नेपाली कामदारहरु गड्डाचौकी नाकाबाटै फर्काइए

महादेव अवस्थी

 

महेन्द्रनगर: सीमा नाका खुला भएको सूचना पाएर भारत जान लागेका नेपाली नागरिकहरु गड्डाचौकी नाका पुगेर फिर्ता हुनु परेको छ ।

मन्त्रीपरिषदको निर्णयले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमा नाका शुक्रबारदेखि खुला गरेको भए पनि शुक्रबार अपरान्ह भारत जानका लागि गड्डाचौकी पुगेका नेपालीलाई शसस्त्र प्रहरीले सीमा नाकाबाटै फिर्ता पठाएको हो ।

रोजगारीका लागि भारत जान लागेका कैलालीको टीकापुरका राकेश मगरले सिमानाका खुलेको सूचना पाएर भारत जानका लागि गड्डाचौकी नाका पुगेको बताए । “सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै नाका खुला गरेको समाचारमा आएपछि थाहा पाएँ ” उनले भने “२४ सै घण्टा खुला हुन्छ भनेर आएको यहाँ जान दिएन ।”

भारत जान नपाएपछि समस्यामा परेको उनीहरुको गुनासो छ । एक दिन महेन्द्रनगरमा बास बस्नुपर्ने अवस्था आएपछि आफुहरु मार्कामा परेको उनीहरुको गुनासो छ ।

“यहाँ एक दिन होटेलमा बस्नु पर्ने भयो” उनले भने “होटेलमा बस्ने पैसाले हाम्रो गाडी भाडा हुनेथियो ।” शुक्रबारदेखि कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको जनाए पनि गड्डाचौकी नाकाबाट नेपालीले भारत जान प्रवेश पाएका छैनन् ।

जिल्ला प्रशासन कार्यालयले भने नाका खुला गर्न आन्तरीक तयारीमा जुटेको र शनिबारबाट सहज रुपमा आवतजावत हुने जनाएको छ । सरकारले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो ।

Published on: 30 January 2021 | Annapurna Post

Link

Back to list

;