s

भारत हुँदै तेस्रो देश जानेले सिफारिस लिनुपर्ने

नयाँदिल्लीस्थित नेपाली दूतावासले भारत हुँदै तेस्रो देशमा हवाईयात्रा गर्ने नेपालीका लागि सूचना जारी गरेको छ । परराष्ट्र मन्त्रालयलाई एक वर्षदेखि आग्रह गर्दा पनि ट्राभल एड्भाइजरी जारी नभएपछि दूतावास आफैँले सूचना जारी गरेको हो । सूचना जारी नभए पनि एक वर्षदेखि यो अभ्यास हुँदै आएको थियो । 
 
‘भारत हुँदै तेस्रो मुलुकको यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा दूतावासको सिफारिसपत्र आवश्यक पर्न सक्ने भएकाले’ काजजातसहितले निवेदन दिन दूतावासले मंगलवार आह्वान गरेको हो । दूतावासले इमेलमै सिफारिसपत्र पठाइदिनेसमेत स्पष्ट पारेको छ । 
 
सम्बन्धित व्यक्तिले यात्रा गर्नुपर्ने कारणसहितको निवेदन, राहदानीको प्रतिलिपि,गन्तव्य देशको भिसा र हवाई टिकटको प्रतिलिपि, रोजगार भिसामा जानेका हकमा वैदेशिक रोजगार विभागबाट जारी भएको श्रम स्वीकृतिको प्रतिलिपि आवश्यक रहेको दूतावासले जनाएको छ । भारतबाहेक अन्य देश यात्रा गरिसकेका यात्रुका लागि पासपोर्टमा उल्लेखित यात्रा अभिलेखको कपी पनि पेस गर्न दूतावासले भनेको छ । भारतमा रहेका नेपालीको हकमा अध्ययन वा व्यवसाय गरेको परिचय खुल्ने परिचयपत्र/कागजातको कपी पनि पेस गर्न दूतावासले आह्वान गरेको छ । 
 
‘उपरोक्त कागजातसहितको निवेदन प्राप्त भएपछि औचित्यका आधारमा दूतावासले उपयुक्त सिफारिसपत्र जारी गर्न सक्नेछ’ दूतावासको सूचनामा भनिएको छ । अत्यन्त जरुरी भई दूतावासमा उपस्थित हुन नसक्ने नागरिकको हकमा इमेलबाट सिफारिसपत्र पठाइदिने पनि दूतावासले जनाएको छ ।
 
Published on: 16 May 2019 | Naya Patrika

Back to list

;