s

भारत हुँदै महिला धमाधम खाडीतिर

घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै सरकारले १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन् । खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन समिति गठन गरेको थियो ।

अध्ययन समितिको रिपोर्ट सार्वजनिक नहुँदा र सरकारले नियमन गर्न नसक्दा तालिम लिएर बसेका आठ सय ५० महिला कामदारसमेत भारतको बाटो हुँदै खाडी पुग्न थालेको तालिम संस्थाका सञ्चालक बताउँछन् । समीक्षा ओरियन्टेसन सेन्टर प्रालि जोरपाटीका सञ्चालक तथा वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड सदस्य सीता देवकोटाले सरकारले श्रम स्वीकृति नदिँदा तालिम लिएर बसेका महिला कामदारमध्ये अधिकांश भारतको बाटोबाट खाडी पुगिसकेको बताइन् । ‘न तालिम दिन पाइन्छ, न श्रम स्वीकृति पाइन्छ । नयाँ त गैरकानुनी भएर जाँदैछन् । तालिम लिएका पनि भारतकै बाटो भएर पुगिरहेका छन्,’ उनले भनिन्, ‘खाडीबाट भिसा बन्द भए पो कामदार जान पाउदैनन् । स्वीकृति बन्द हुँदा त झन् अवैधानिक भएर जाने क्रम बढ्छ ।’ 

सरकारले दुई वर्षअघि संस्थागत (म्यानपावर कम्पनी) श्रम स्वीकृतिमा खाडी पठाउन रोक लगाएको थियो । अहिले व्यक्तिगत स्वीकृतिसमेत बन्द गरेर महिला कामदारको अवस्था अध्ययन गर्न श्रम तथा रोजगार मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठको संयोजकत्वमा अध्ययन समिति बनाएको छ । घरेलु कामदारमा खाडी जान वैदेशिक रोजगार प्रवद्र्धन बोर्डमा सूचीकृत संस्थाबाट तालिम लिनुपर्छ । बोर्डमा १७ वटा संस्था सूचीकृत छन् । ती संस्था पनि नयाँ कार्यविधिअनुसार अनुमति लिनुपर्नेमा नलिएकाले बन्द छन् । 

दुई वर्षमा नेपालबाट तालिम लिएर विभिन्न देश गएका महिला कामदार ६ हजारभन्दा बढी रहेको बोर्डले जनाएको छ । तीमध्ये ४ सयभन्दा बढी अलपत्र परेको र तिनीहरुको उद्धार कसरी गर्ने भन्नेमा छलफल चलिरहेकाले विभागले श्रम स्वीकृति बन्द गरी अध्ययन सुरु गरेको हो । 

श्रम तथा रोजगार मन्त्रालयका सहप्रवक्ता बुद्धि भट्टराईले महिला कामदार भारतको बाटो जाने क्रम पहिलादेखि नै रहेको बताउँदै यो रोक्न प्रयास भएको जानकारी दिए । सरकारले अध्ययनको सिलसिलामा स्वीकृति रोक्दा पनि चोरबाटोबाट जाने क्रम जारी रहेकोले अध्ययन समितिको रिपोर्ट सार्वजनिक भएपछि तत्काल निर्णय हुने उनले बताए । ‘भारतको बाटो जानु गैरकानुनी हो । जुनसुकै बेला पनि पक्राउ पर्न सक्छ,’ उनले भने ।
अभिमुखीकरण तालिम दिने संस्थाले नै महिलालाई गैरकानुनी रुपमा खाडी पठाइरहेका छन् । संस्थागत स्वीकृति रोकिएपछि उनीहरुले व्यक्तिगत स्वीकृतिमा महिलालाई खाडी पुर्य इरहेको सरकारी कर्मचारी, कामदार र रोजगार व्यवसायी बताउँछन् । 

नेपालबाट महिला कामदार पठाउँदा प्रतिव्यक्ति २ हजार डलरसम्म कमिसन आउने रोजगार व्यवसायीको भनाइ छ । त्यही कमिसन खान तालिम दिने संस्थाले गाउँमा एजेन्ट खटाएर महिला खोज्छन् । तिनलाई काठमाडौंमा तालिम दिने र विदेश जान प्रोत्साहित गर्ने काम तालिम दिने संस्थाले नै गरिरहेको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेको भनाइ छ । 

खोटाङकी ३१ वर्षीया जमुना राईले काठमाडौं आएर तालिम लिएको तर अहिले जान नपाएपछि भारतको बाटो जाने बताइन् । ‘विदेश जाने योजना छ । नेपालबाट जान नपाइने भएछ भारतको बाटो जाने सल्लाह भएको छ,’ उनले भनिन् । आफूलाई खाडी जान आवश्यक प्रबन्ध तालिम दिने संस्थाले नै गरिदिने सर्तमा काठमाडौं आएको उनको भनाइ छ । 

नेपाली महिला घरेलु कामदारको रुपमा कुवेत, लेवनान, बहराइन, कतार र दुबई पुग्ने गरेका छन् । खाडीमा कतिपय घरेलु महिला कामदारले सम्झौताअनुसार तलब भुक्तानीमा ढिलाइ, शारीरिक र मानसिक यातना, घरमा सम्पर्क गर्न र फर्कन खोज्दा नपाउने लगायत समस्या झेलिरहेका छन् ।

Published  on: 9 May 2014 | Nagarik

Back to list

;