s

भारत हुँदै खाडीमा

जनक नेपाल

यौनशोषण र दुव्र्यवहार बढेको भन्दै सरकारले ३० वर्षमुनिका महिलालाई खाडीमा घरेलु कामदारका रूपमा जान रोकेपछि दलालले भारतीय बाटो प्रयोग गर्न थालेका छन् । नाका फेरेर खाडी मुलुक लैजाने दलाल सक्रिय रहेको मानव बेचबिखनविरुद्ध कार्यरत संघसंस्थाले दाबी गरेका छन् । 'अन्तर्राष्ट्रिय विमानस्थल छाडेर दिल्ली पुर्या एर खाडी पठाउन थालेका हुन्,' सुरक्षित वैदेशिक रोजगारीका क्षेत्रमा कार्यरत अधिकारकर्मी चपला कोइरालाले भनिन्, 'सरकारले कडाइ गरेपछि झन् जोखिम बढेको छ ।' भारत पुर्याघएका युवतीलाई खाडी लैजानुअघि छनोट गरिने र छनोटमा नपरेका बेचबिखनमा पर्ने घटना बढेको उनले दाबी गरिन् ।

खाडीमा रोजगारीका लागि पुगेका महिला यौन शोषणमा पर्ने, गर्भवती हुने, वेश्यावृत्ति गर्न बाध्य पारिने र शारीरिक तथा मानसिक यातनापछि आत्महत्या गर्ने क्रम बढेपछि उमेरका महिलालाई सरकारले अनुमति रोकेको हो । 'सरकारले असल मनसायले रोक्यो । दलालले भने अनेक प्रलोभन देखाएर सीमा कटाउने गरेका छन् । त्यसले महिला थप असुरक्षित भए,' उनले भनिन् ।

वैदेशिक रोजगारीका कतिपय दलालले नागरिकता र पासपोर्टसमेत दिल्लीमै बनाइदिने भन्दै नाका कटाउने गरेको माइती नेपालका नेपालगन्ज संयोजक केशव कोइरालाले बताए । 'त्यसै पनि भारतीय बाटोबाट खाडी जाने महिलाको संख्या ठूलो थियो । सरकारी निर्णयपछि दलाललाई फकाउन सजिलो भएको छ,' उनले भने । माइती नेपालमा एक वर्षयता झन्डै दोब्बर त्यस्ता निवेदन परेको कोइरालाले बताए । मासिक कम्तीमा आठ त्यस्ता महिलालाई माइती नेपालले रोकेको उनले गरे ।

०६८ मा २ सय ९५ निवेदन लिएकामा ०६९ मा बढेर ४ सय १६ पुगेको उल्लेख गर्दै उनले तीमध्ये खाडी पुगेर श्रम तथा यौनशोषणमा पर्ने तथा हराउनेको संख्या ठूलो रहेको जनाए । गत साता गरिएको सुरक्षित आप्रवासन सम्मेलनले पनि गलत नाका प्रयोगले नेपाली श्रमिक महिला झन् धेरै समस्यामा परेको निष्कर्ष निकालेको थियो ।

एक तथ्यांकअनुसार नेपालबाट दैनिक पन्ध्र सय युवा भारतबाहेक मुलुकमा रोजगारीका लागि जाने गरेका छन् । त्यसमध्ये तराईका ४८, पहाडका ४५ र हिमालका ७ प्रतिशत छन् । वाषिर्क श्रम बजारमा आउने झन्डै ४ लाख युवामध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीमा छ । पूर्वको तुलनामा मध्य तथा सुदूरपश्चिममा त्यो संख्या कम रहे पनि भारतमा रोजगारीमा जाने संख्या पश्चिममा धेरै छ । भारतबाहेक मुलुकमा रोजगारीका लागि जानेमा सबैभन्दा बढी पूर्वाञ्चलका ३५, मध्यमाञ्चलका ३२, पश्चिमका २३, मध्यपश्चिमका ९ र सुदूरपश्चिमका २ प्रतिशत छन् । सुरक्षित आप्रवासका क्षेत्रमा क्रियाशील संस्था एबीसीकी साधना पंगेनीले दलालको जालमा परेका महिलाले रोक्न खोज्ने अधिकारकर्मी र संघसंस्थालाई भन्दा धेरै दलाललाई विश्वास गर्ने भएकाले गाउँगाउँसम्म जनचेतना अभिवृद्धि गर्नुपर्ने बताइन् ।

Published on: 23 May 2013 | Kantipur

Back to list

;