s

भारत गएका २०९ नेपाली सम्पर्कविहीन

मोहन विष्ट

मध्य तथा सुदूरपश्चिमका विपन्न तथा गरिब समुदायका युवा वर्षौँदेखि रोजगारीका लागि भारत जाने क्रम जारी छ । कामका लागि भारत गएर हराएका सुदूरपश्चिमका २ सय ९ जना नेपाली मजदुर अझै परिवारको सम्पर्कमा आएका छैनन् ।  निड्स नेपाल नामक गैरसरकारी संस्थाले सुदूरपश्चिम प्रदेशका दुई जिल्लामा गरेको एक अध्ययनले रोजगारीका लागि भनेर भारत गएका २ सय ९ जना नेपाली अझै परिवारको सम्र्पकमा नआएको जनाएको छ  । 

निड्सले सुदूरपश्चिमको डोटी र कञ्चनपुरका तीन सय घरधुरीको भारतमुखी आप्रवासनसम्बन्धी सर्वेक्षण गरेको थियो । दुई जिल्लाका चार स्थानीय तहबाट भारतमा काम गर्न गएका नेपाली मजदुरको अवस्थाबारे रेन्डम्ली विधिबाट सर्वेक्षण गरेअनुसार ११८ डोटी र ९१ जना कञ्चनपुरका स्थानीय हराएका छन् । डोटीको शिखर नगरपालिका एक सय, केआइसिंह गाउँपालिका १८, कञ्चनपुरको महाकाली नगरपालिका ५४ र पुर्नवासका ३७ जना कामदार हराएका हुन् । 
 
कामका लागि भारत गएका व्यक्ति लामो समयसम्म परिवारको सम्पर्कमा नआएको, नफर्किएपछि उनीहरूका घरपरिवारले फर्केर घर आउने आशा मारेको अध्ययनले देखाएको छ  । भारतको दिल्ली, पुना, मुम्बई, गुजरात, राजस्थान, उत्तरप्रदेश, उत्तराखण्डबाट नेपाली नागरिक हराएका हुन् ।   हराउने  कारणमा मानसिक तनाव, मोजमस्ती, मदिरा सेवनलगातभएको अध्ययनले देखाएको छ । निड्स नेपाल कञ्चनपुरका सह–निर्देशक प्रकाशचन्द्र मडैले सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये दुई जिल्लाका  चार स्थानीय तहकै यस्तो कहालिलाग्दो अवस्था रहेको बताए । स्थानीय जनप्रतिनिधिले भारतमुखी रोजगारी सुरक्षित बनाउनुपर्नेमा जोड दिए । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङले भने, ‘आफ्नो स्थानीय तहबाट को व्यक्ति भारतमा गएको छ, को भारतबाट फर्केको छ, को विदेशका  छन्,विवरण राख्नुपर्छ, पहल गर्छु ।’ 
 
Published: 25 December 2018 | Naya Patrika

Back to list

;