s

भारत जान श्रम स्वीकृति

सरकारले भारतमा काम गर्ने जाने कामदारहरुलाई बैदेशिक रोजगारको दायराभित्र ल्याई नियमन गर्नै तयारी गरेको छ। नेपाली कामदारको लागि प्रमुख गन्तव्य रहेको भारतमा काम गर्ने जाने र कार्यरत कामदारलाई बैदेशिक रोजगारको दायरमा ल्याई नियमन, व्यवस्थापन गर्ने तयारी गरेको हो। हाल भारतमा काम गर्ने जाने कामदारको लागि कुनै नियमन छैन।

श्रम तथा रोजगार मन्त्रालयको माघ १० को निर्णय अनुसार गठित कार्यदलले वैदेशिक रोजगार विभागको कार्यलाई थप चुस्त दुरुस्त एवं गुनासो रहित बनाउन तत्काल तथा दीर्घकालमा गर्नु पर्ने सुधारका लागि मंगलवार पेश गरेको सुझावमा तत्काल गर्नुपर्ने काममा भारतमा काम गर्ने जाने कामदारलाई बैदेशियक रोजगारीको दायरामा ल्याउने सुझाव पेश गरेको हो। कामदारहरुलाई वैदेशिक रोजगार सम्बन्धी कानून बमोजिम प्रदान हुने सेवा, सुविधा र अवसरमा समेत सहभागी गराउने व्यवस्था मिलाउन तत्काल कामको थालनी गर्ने आवश्यक व्यवस्था श्रम तथा रोजगार मन्त्रालयले मिलाउने छ। कार्यदलले ...देश विशेष बैयक्तिक कार्यविधी' बनाएर भारतमा जाने र कार्यरत कामदारलाई बैदेशिक रोजगारको दायरामा ल्याउने सुझाव दिएको हो।

कार्यदलका संयोजक तथा श्रम विभागका महानिर्देशक कृष्णहरी पुस्करले अन्य देशमा गएकाभन्दा ३ गुणा बढि कामदार भारतमा रहेकोले तत्काल गर्नुपर्ने काममा राखी भारतमा काम गर्ने जाने कामदारका लागि मापदण्ड बनाएर दायरामा ल्याउने कुरा मन्त्रालयसँग भएको बताए। सबैभन्दा बढि कामदार भारतमा छन्, उनीहरुको रेमिट्यान्समा योगदान पनि बढि छ, तर तिनै कामदारको सुरक्षा र सुविधा छैन त्यसैले अन्य खाडी मुलुकमा घरेलु कामदारको मापदण्ड बनाए जस्तै भारतका लागि पनि छुट्टै मापदण्ड बनाएर कामदारलाई बैदेशिक रोजगारको दायरामा ल्याउनुपर्छ, उनले भने।

मन्त्रालयलाई दिइएको सुझावमा भारतसँग सिमानामा पर्ने इलाका प्रहरी कार्यालय वा अध्यागमन कार्यालयलाई अधिकार दिएर कामदारलाई रजिष्ट्रेशन गरी श्रमस्विकृती प्रदान गरी दायरामा ल्याउन सकिने कुरा भएको पुस्करले बताए। पछिल्लो पटक भारतबाट म्यानपावर कम्पनीले संस्थागत रुपमा नै मागपत्र ल्याएर काम गर्ने थालेका छन् त्यसैले कामदारले विमा र कल्याणकारी कोषमा योगदान पुर्‍याए भने कामदारका लागि ठूलो सुविधा हुन्छ, उनले भने।

भारतमा काम गरिरहेका कामदारको मृत्यु हुँदा क्षतिपूर्ति पाइरहेका छैन, न त कुनै विमाको सुविधा छ। यही सुविधा प्रदान गर्नै कामदारलाई दायरामा ल्याउन लागिएको हो, उनले भने। एक महिना अगाडी भारतको गोवामा नेपाली कामदारको दर्दनाक मृत्यु भयो तर कुनै राहत पाएनन त्यसैले यो अति आवश्यक प्रक्रिया भएकाले तत्काल गर्नुपर्ने भनेका छौं, उनले भने।

कार्यदले मंगलवार पूर्ण प्रतिवेदन पेश गर्दै तत्काल र दीर्घकालमा गर्नुपर्ने कामहरुको सुझाव दिएको हो। कार्यदले तत्काल गर्नुपर्ने काम भन्दै कानूनी प्रकृया पुरागरि भारतको बाटो प्रयोग गरी वा कतिपय भारतमै बसोबास गरी बसिरहेका कानून बमोजिम वैदेशिक रोजगारमा जाने नेपाली नागरिकहरुले श्रम स्वीकृतिको प्रकृयामा आउने व्यवस्था को लागि नेपालको भारत स्थित कूटनितिक नियोगसँग समन्वय गरी अनलाइनबाट नै श्रम स्वीकृति सम्बन्धि कार्यवाही टुङ्गयाउने सुझाव पनि दिएको छ। यसलाई प्रभावकारी व्यवस्थापनको लागि भारत स्थित सबै अन्तराष्ट्रिय विमानस्थलमा उपयुक्त साझेदारसँग समझदारी पत्र गरी कार्यान्वयन गर्ने सुझाव पेश गरेको छ।

 

Published on: 6 February 2014 | Nagarik

Back to list

;