s

भाइटीका छोडेर लालाबालासहित भारततिर [तस्बिरसहित]

तेजराज भट्ट

 

असोजयता साढे ५६ हजार नेपाली मुगलान लागे 

दशकदेखि भारतमा काम गर्दै आएका धनगढी उपमहानगरपालिका– ७, जाखोरतालकी रञ्जिता चौधरी र उनका श्रीमान् सन्तराम विगतका वर्षमा दसैँमा घर आएर तिहार मनाएपछि भारत फर्कन्थे । यस वर्ष कोरोनाको त्रासले लकडाउनका वेला गत वैशाखमा घर फर्केका उनीहरू बुधबार भारत जाँदै थिए ।

धनगढीमै माइती भएकाले उनका भाइ पनि यहीँ छन्, तर तिहारको मुखैमा उनी भाइटीका नलाएरै भारत गइन् । ‘टीका लगाएर जाने इच्छा थियो,’ उनले भनिन्, ‘चाडबाड मान्न पैसा पनि छैन । मालिकले उताबाट बोलाउन थालेपछि तिहार छोडेर जाँदै छु ।’

उनीहरू दुवैजना भारतको लुधियानामा कुखुरा फर्ममा काम गर्छन् । दुवैजनाको मिलाएर मासिक १५ हजार भारु कमाउने गरेको उनले बताइन् । घरमा ६–७ महिना बेरोजगार बस्दा भारतबाट कमाएर ल्याएको पैसा पनि सकिएपछि समस्या भएको सन्तरामले बताए ।

डोटीको फुलौटका हर्क भुल र उनकी श्रीमती विष्ना छ, चार, तीन र डेढ वर्षीय छोराछोरी काखीमा च्यापेर भारत जान लागेको भेटिए । तिहारको मुखैमा भाइटीका छोडेर भारत जानुपर्दा दुख लागेको विष्नाले बताइन् । पञ्जावको एक कोठीमा खाना पकाउने काम गर्दै आएका हर्क श्रीमती र छोराछोरीसहित उतै बस्थे ।

लकडाउनकै वेला फर्केका उनले साँझ–बिहान खानसमेत समस्या हुन थालेपछि भारत फर्कनुपरेको बाध्यता सुनाए । ‘आफ्नो जग्गाजमिन छैन, अनपढ मान्छे गाउँमा काम पनि पाइएन,’ उनले भने, ‘गाउँमा बेरोजगार बसेर छोराछोरी पाल्न समस्या भएपछि तिहार छोडेर जान लागेका हौँ ।’ रोजगारीको सिलसिलामा आफू १६ वर्ष पञ्जाब बसेको उनले बताए ।

गरिबीका कारण घर धान्न मुस्किल भएपछि चाडपर्वको मुखमा कोरोनाको समेत प्रभाव नगरी दैनिक सयौँ नेपाली भारत जान थालेका छन् । पश्चिमी नाका गड्डाचौकी र त्रिनगरमा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारत जानेको लर्को लाग्ने गरेको छ । स्वदेशमा सामान्य काम नपाएपछि मजदुरीका लागि पनि भारत जानुपरेको उनीहरूको गुनासो छ । भारत जानेमध्ये अधिकांश नेपाली चौकीदारी, घरको सरसफाइ, खाना बनाउने, गाडी धुने, स्याउ टिप्नेलगायत काममा सस्तो श्रम बेच्न बाध्य छन् ।

सुदूरपश्चिमका दुई प्रमुख नाका त्रिनगर र गड्डाचौकीबाट असोजयता मात्रै साढे ५६ हजार जना भारत गएका प्रहरीको तथ्यांक छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णानन्द भट्टले असोजदेखि हालसम्म गड्डाचौकीबाट आठ हजार ९५ र त्रिनगर नाकाबाट ५८ हजार पाँच सयजना भारत गएका जानकारी दिए । प्रहरीका अनुसार यीमध्ये अधिकांश रोजगारीको सिलसिलामा जानेहरू हुन् ।

दसैँ सकिएयता भारत जानेको संख्या बढेको सीमा प्रहरी चौकी डोकेबजारका प्रमुख प्रहरी नायब निरीक्षक भूपालसिंह थापाले बताए । भारतबाट स्वदेश आउनेभन्दा जानेको संख्या बढी रहेको उनले बताए । ‘दसैँ सकिएपछि भारत जानेको संख्या दैनिक तीन हजारसम्म पुगेको थियो । तिहार नजिकिएपछि अहिले केही घटेको छ, तर अहिले पनि दैनिक एकदेखि डेढ हजारसम्म नेपालीहरू यो नाकाबाट भारत गइरहेका छन्,’ प्रहरी नायब निरीक्षक थापाले भने ।

सीमामा भारत जानेको लर्को हेर्दा कोरोनाका कारण भारतबाट फर्केका युवाहरूलाई यहीँ रोजगारी दिने प्रदेश सरकारको नीति र योजना असफल भएको देखिएको सुदूरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले बताए । कृषि, पशुपालन, ससानो व्यवसायमा जोडेर युवाहरूलाई रोजगारी दिने कार्यक्रम प्रदेश सरकारले ल्याउनुपर्ने उनले बताए । 

‘कोरोनाका वेला हजारौँ युवा स्वदेश फर्केका छन् । उनीहरूलाई स्वरोजगार बनाउने, यहाँको विकास निर्माणमा जोड्ने काम तीनै तहका सरकारले गर्न सकेनन्,’ नेता रावलले भने, ‘मुख्यमन्त्रीले विगतमा लामो समय आफैँ भारतमा काम गर्नुभो, तर भारतबाट फर्केकालाई रोजगारी दिन उहाँ पनि गम्भीर देखिनु भएन ।’

Published on: 11 November 2020 | Nayapatrika

Link

Back to list

;