s

भैरहवामा ५ महिनासम्म समाधान भएन श्रम स्वीकृतिको समस्या, जजिराले घटायो उडान

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पछिल्लो एक महिनादेखि दैनिक उडान गरिरहेको जजिरा एयरवेजले अब हप्ताको तीन दिन मात्र जहाज उडाउने भएको छ।

गत बुधबार (असोज २६) देखि जजिराले दैनिक उडान घटाएर सातामा तीन उडानको तालिका बनाएको हो। हाल पुरानै तालिकाअनुसार सोमबार, मंगलबार र शुक्रबार उडान भइरहेको छ।

कुवेतको एयरलाइन्स जजिराले गत जेठ २ गतेबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरू गरेको थियो। ४ महिनासम्म सातामा तीन उडान गरेको यो एयरवेजले चाडपर्वलाई लक्षित गर्दै भदौ ३१ बाट दैनिक उडान थालेको थियो। दसैं सकिएलगत्तै जजिराले दैनिक उडान बन्द गरेको बताएको छ।

यो गन्तव्यमा उडान गर्ने यात्रु नभएपछि जजिराले साताको सात उडान घटाएर तीनमा झारेको एयरवेज सञ्चालन प्रमुख संगीता रौनियारले जानकारी दिइन्।

'सातामा तीन उडान हुँदा राम्रो अकुपेन्सी (यात्रु संख्या) थियो। तर दैनिक उडान थालेपछि यात्रु पाउन मुश्किल भयो,' प्रमुख रौनियारले सेतोपाटीसँग भनिन्, 'त्यसैले हामीले उडान संख्या घटाएका हौं।'

दसैंमा बढाएको उडान संख्या अहिले घटाउनु एक हिसाबले अस्वाभाविक होइन। तर जजिराले यस्तो बेला उडान संख्या घटाएको छ, जुन बेला अरू एयरलाइन्सले पनि भैरहवाबाट उडान थाल्ने तयारी गरिरहेका छन्।

एउटै एयरलाइन्सलाई यात्रु संख्या नपुगेपछि थप एयरलाइन्सले यो एयरपोर्टबाट कसरी उडान भर्न सक्छन्? किन अपेक्षा गरेझैं यो विमानस्थलमा यात्रु संख्या बढ्न सकेन?

भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहाल उडान बढाउन र वायुसेवा थप्न विमानस्थलले मात्र पहल गरेर नहुने बताउँछन्। सरकार र सम्बन्धित निकायले एउटा अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिने सबै खालका सेवा सुविधाको स्थापना र तिनलाई सञ्चालनमा ल्याउन समन्वय गर्नुपर्ने उनले बताए।

खाडी मुलुकबाट भैरहवा आउने वा त्यहाँबाट खाडी मुलुकमा जाने अधिकांश यात्रुहरू विदेशमा रोजगारी गर्नेहरू हुन्। त्यसैले भैरहवा विमानस्थलमा यात्रु संख्या बढाउने हो र यो विमानस्थल आर्थिक हिसाबले सफल र दीगो बनाउने हो भने वैदेशिक रोजगारीमा जानेहरूका लागि आवश्यक सबै सेवा भैरहवामै स्थापना हुनुपर्छ भन्ने 'कमन सेन्स' हो।

सरकारले यति सरल कुरा नबुझ्दा वा त्यसको आवश्यक व्यवस्था गर्न नसक्दा भैरहवा विमानस्थलमा सेवा सुरू गरेको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले आफ्नो सेवा घटाउने अवस्था आएको छ। यसले यहाँबाट उडान भर्न चाहने अरूलाई पनि निरुत्साहित गर्नेछ।

वैदेशिक रोजगारीका लागि जानेहरूले श्रमसम्बन्धी सबै कामका लागि काठमाडौं धाउनुपर्ने भएकाले पनि भैरहवामा आकर्षण नबढेको महाप्रबन्धक दाहाल बताउँछन्।

सरकारी निकायबीच नै समन्वयात्मक काम हुन नसक्दा मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन प्रभावित हुन थालेको छ। यो समस्या समाधान नगर्ने हो भने यो विमानस्थल सफल हुन नसक्ने अधिकारीहरू बताउँछन्।

वैदेशिक रोजगारमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाट सम्पन्न हुने व्यवस्था मिलाउनु यो विमानस्थलको सफल सञ्चालनको प्रमुख शर्त हो।

नेपालबाट वैदेशिक रोजगारमा जाने युवाहरूको संख्या ठूलो छ। त्यसमा पनि तराई क्षेत्रतर्फबाट अत्यधिक संख्यामा विदेशिने गरेका छन्। पश्चिम नेपाल घुम्ने विदेशी पर्यटकहरूसँगै पश्चिम तराई तथा पहाडतर्फबाट वैदेशिक रोजगारमा जानेहरूको ठूलो संख्यालाई यो विमानस्थलले सेवा दिने लक्ष्य लिएको छ।

तर हाल यो विमानस्थल प्रयोग गरेर बाहिरिने श्रमिक एकपटक विदेश गएर सोही कम्पनीमा पुनः श्रम स्वीकृति लिएर फर्कनेहरू मात्र छन्। नयाँ श्रम स्वीकृति लिनेहरू भैरहवा विमानस्थलबाट उड्न सकेका छैनन्।

काठमाडौंभन्दा पश्चिमबाट वैदेशिक रोजगारमा जाने सबै नेपाली श्रमिकलाई भैरहवाबाटै उडाउने भन्दै गत असार १ गते तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार व्यवस्थापन शाखा उद्घाटन गरेका थिए।

त्यही बेला स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा सरोकारवालाहरूले पनि वैदेशिक रोजगारमा जानुअघि श्रमिकले पूरा गर्नुपर्ने सबै प्रक्रिया भैरहवाबाट गर्ने व्यवस्था तुरुन्तै मिलाउन मन्त्रीसँग आग्रह गरेका थिए।

मन्त्रीले पनि सो विमानस्थलबाट बाहिरिँदा काठमाडौं धाउनुपर्ने बाध्यताको अन्त्य गर्ने वाचा गरेका थिए। मन्त्री श्रेष्ठले म्यानपावर कम्पनीका शाखा, अभिमुखीकरण तालिम दिने संस्था र स्वास्थ्य परीक्षण गर्ने संस्थाहरू पनि गएको जेठभित्रै भैरहवाबाट सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए।

तर सरकारको ५ महिनासम्म पनि त्यो प्रतिवद्धता पूरा गर्न सकेको छैन। हालसम्म पनि उक्त शाखाले सबै प्रकारका श्रम स्वीकृति जारी गर्न सकेको छैन। वैदेशिक रोजगार विभागका एक अधिकारीका अनुसार भैरहवा शाखाले हाल पुनः श्रम स्वीकृति मात्रै जारी गर्छ। नयाँ तथा व्यक्तिगत श्रम स्वीकृतिका लागि अहिले पनि काठमाडौं आउनु पर्छ।

'कार्यालय मात्रै त्यहाँ भएर सबै श्रमिकहरू भैरहवाबाटै उड्न सक्दैनन्। अहिले पनि अभिमुखीकरणका लागि काठमाडौं नै पुग्नुपर्छ। बीमा, अझ स्वास्थ्य जाँचलगायत काम नभई नयाँ श्रम स्वीकृतिको काम हुँदैन। यी काम यहाँ हुँदैनन्। काठमाडौं नै पुग्नु पर्छ,' ती अधिकारीले सेतोपाटीसँग भने।

अहिलेसम्म सरकारले श्रम स्वीकृतिसँग सम्बन्धित सबै काम जसरी पनि भैरहवाबाटै गर्न सकिने व्यवस्था मिलाइ सक्नुपर्थ्यो। तर सरकारले त्यति काम गर्न सकेको छैन।

यति महत्वपूर्ण कुरामा किन र कसरी चुक्यो सरकार?

श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल भने वैदेशिक रोजगारीका लागि काठमाडौं कार्यालयबाट जारी हुने जति सबै प्रकारका श्रम स्वीकृति भैरहवाबाट पनि जारी भइरहेको बताउँछन्।

'अहिले त सबै किसिमका श्रम स्वीकृति अनलाइमार्फत् जारी गरिन्छ। काठमाडौंबाट जति काम भइरहेको छ, भैरहवाबाट पनि त्यति नै काम भइरहेको छ,' अर्यालले सेतोपाटीसँग भने।

सरकारले अहिले अनलाइन प्राणालीबाट नयाँ तथा पुनः श्रम स्वीकृति जारी गर्दै आए पनि केही समस्या पर्दा अथवा आवश्यक कागजात अपुग हुँदा हेर्ने कार्यालय आवश्यक पर्छ। भैरहवा श्रम कार्यालयले नयाँ तथा व्यक्तिगत श्रम स्वीकृतिका त्यस्ता समस्या हेर्दैन। जसले गर्दा कुनै समस्या पर्नेबित्तिकै कैयन श्रमिक काठमाडौं ताहाचलस्थित कार्यालय नै आउनुपर्छ।

हाल ताहाचल कार्यालयले दैनिक तीन हजारदेखि ३५ सय हाराहारीमा नयाँ तथा पुनः गरी अनलाइन श्रम स्वीकृति जारी गर्दै आएको बताएको छ। उपत्यका बाहिरका कार्यालयहरूबाट भने दैनिक दुई सय ५० देखि तीन सयको हाराहारीमा मात्र पुनः श्रम स्वीकृति मात्रै जारी हुने गरेको छ। यसले पनि वैदेशिक रोजगारीमा जानेहरूको चाप अझै पनि कसरी काठमाडौं थुप्रिएको छ भन्ने देखाउँछ।

अर्कोतिर नेपाली श्रमिकहरूको आकर्षक प्रमुख गन्तव्य मुलुकहरू मध्येका युएई र कतारका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन्। यी भिसा सेन्टरमा आवश्यक प्रक्रिया पूरा नगरी श्रमिकहरू युएई र कतार उड्न सक्दैनन्। जसले गर्दा तत्काल कुवेत ट्रान्जिट बनाएर यी मुलुक जाने श्रमिकहरू भैरहवाबाट उड्न सम्भव छैन। आगामी दिनमा भैरहवाबाट ती मुलुकमा सिधा उडान हुँदा पनि काठमाडौं धाउनुपर्ने बाध्यता हुन्छ।

नागरिक उड्डयन प्राधिकरणले वैदेशिक रोजगारसँग सम्बन्धित सबै किसिमका सेवा भैरहवाबाट व्यवस्था गर्न पटक-पटक श्रम मन्त्रालयलाई आग्रह गरेको बताएको छ। श्रम मन्त्रालयले भने यतिका महिनासम्म पनि यो समस्या समाधान गर्न सकेको छैन।

मन्त्रालयले सहजीकरणका लागि प्रयास गरिरहेको श्रम सचिव अर्यालले बताए। भैरहवामा अभिमुखीकरण सेवाप्रदायक संस्था, बीमा, म्यानपावर तथा मेडिकल सेन्टर स्थापनाका लागि पनि समन्वय भइरहेको उनले जानकारी दिए।

'हामीले म्यानपावरलाई पनि त्यहाँ शाखा खोल्न भनिरहेका छौं। अन्य संस्थाहरू लैजान पनि काम गरिरहेका छौं। निजी संस्था हुन्, जबरजस्ती त गर्न मिल्दैन। उनीहरूलाई फाइदा हुने भए बिस्तारै खुल्लान्,' उनले भने।

एउटा अन्तर्राष्ट्रिय विमानस्थल श्रमिककै लागि लक्षित गरेर निर्माण गरिएको नहुने भएकाले श्रम मन्त्रालयका कारण मात्र समस्या नआएको उनले जिकिर गरे।

'एउटा अन्तर्राष्ट्रिय विमानस्थल श्रमिकका लागि मात्रै लक्षित गरेर त खोलेको हुँदैन नि! पर्यटकहरू तथा व्यापार-व्यवसायलाई पनि लक्षित गरिएको हुन्छ। त्यता पनि सोच्नुपर्‍यो,' उनले भने।

जे-जे तर्क गरे पनि श्रम मन्त्रालयले एउटा आधारभूत प्रश्नको भने स्पष्ट जवाफ दिन सकेको छैन- के कारणले झन्डै ५ महिनासम्म पनि भैरहवामा श्रम स्वीकृतिका सबै काम हुने गरी कार्यालय स्थापना गर्न सरकारले सकेको छैन? आवश्यक निजी कम्पनीलाई त्यहाँ कार्यालय खोल्न लगाउन सकेको छैन? र यो व्यवस्था मिलाउन कति अझै कति समय लाग्छ? यति महत्वपूर्ण पूर्वाधार स्थापनामा देखिएको लापर्बाही र ढिलासुस्तीको जिम्मेवारी कसले लिने?

अहिले जजिराले एयरबस ३२० विमानमार्फत् कुवेत-भैरहवा-कुवेत उडान गरिरहेको छ।

जेठ २ गतेदेखि हालसम्म उक्त एयरवेजले ८२ वटा उडान गरेको छ। कुल एक सय ७४ सिट क्षमताको उक्त विमानमार्फत् १० हजार ५४२ जना कुवेत उडेका छन् भने नौ हजार २७२ जना कुवेतबाट भैरहवा भित्रिएका छन्।

दैनिक उडान सुरू गरेको दिन, भदौ ३१ गते, १५१ जना यात्रु कुवेतबाट भैरहवा भित्रिएका थिए। सोही दिन १२ जना यात्रु कुवेतका लागि भैरहवाबाट बाहिरिएका थिए। विमानस्थलको तथ्यांकअनुसार दैनिक उडान हुँदा पनि कम्तीमा ११५ देखि बढीमा १६७ जना यात्रु भैरहवा भित्रिएका थिए। तर भैरहवाबाट बाहिरिनेको संख्या निकै कम छ।

भैरहवाबाट कुवेतका लागि सबभन्दा कम ६ जना यात्रु बाहिरिएका थिए। तथ्यांक हेर्दा दैनिक उडान हुँदा सयभन्दा कम यात्रु बोकेर जजिरा भैरहवाबाट कुवेत उडान गरेको देखिन्छ। भैरहवा आउने नेपाली यात्रुको संख्या धेरै हुनु तर भैरहवाबाट उड्नेको संख्या सुरूदेखि नै कम हुनुले पनि यो समस्या श्रम स्वीकृतिसँग जोडिएको छ भन्ने स्पष्ट देखिएको छ।

आगामी दिनमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडानका लागि थुप्रै वायुसेवा कम्पनीहरू आउने तयारी गरिरहेका छन्।

एउटा कम्पनीले सेवा दिँदा त यात्रु नपाइरहेको अवस्थाले अन्य वायुसेवा कम्पनीलाई कत्तिको प्रभाव पर्ला त?

यस विषयमा भैरहवा विमानस्थलका महाप्रबन्धक दाहाल भन्छन्, 'पूर्वाधार नभएका कारण यात्रु नबढेको होइन। अन्तर्राष्ट्रिय विमानस्थलमा चाहिने सबै पूर्वाधार छन्। आजको दिनमा ४० वटा अन्तर्राष्ट्रिय उडान धान्न सक्ने क्षमता छ। श्रम मन्त्रालयले श्रम स्वीकृतिको समस्या भने समाधान गर्न पर्‍यो।'

Published on: 18 October 2022 | Setopati

Link

Back to list

;