s

भैरहवा–कुवेत उडान उत्साहजनक : जजिरा

माधव ढुंगाना

भैरहवा — गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो २ सातायता कुवेतमा सीधा हवाई उडान गर्दै आएको जजिरा एयरवेजले व्यावसायिक रूपमा आफ्नो सेवा उत्साहजनक रहेको बताएको छ । ‘व्यावसायिक दृष्टिले हामी निकै सन्तुष्ट छौं,’ जजिरा एयरवेजका नेपालस्थित कमर्सियल व्यवस्थापक अमित नागरथले कान्तिपुरसँग भने, ‘यो रूटको उडान सोचेभन्दा राम्रो ढंगले अघि बढेको छ । यसले हामीलाई उत्साहित बनाएको छ ।’

गत जेठ २ देखि जजिराले सातामा ३ दिन कुवेत–भैरहवाबीच सिधा उडान गर्दै आएको छ । जजिराको ‘एयर बस ३२० निओ’ विमानले सोमबार, बुधबार र शुक्रबार उडान सेवा दिन्छ ।

बुधबारसम्म जजिराले ७ वटा उडान गरिसकेको छ । सेवा थालेदेखि नै भैरहवा–कुवेत रुटमा यात्रुको कमी नरहेको नागरथले बताए । ‘कुवेतका लागि काठमाडौंबाट श्रम स्वीकृति लिएका धेरै नेपाली श्रमिक भैरहवा पायक पर्ने भएकाले काठमाडौंको सट्टा यहींबाट उडिरहेका छन्,’ उनले भने, ‘काठमाडौं–कुवेत रुटको हवाई भाडाभन्दा भैरहवा–कुवेतको भाडासमेत सस्तो छ ।’ उनका अनुसार जजिरा एयरवेजबाट काठमाडौं हुँदै कुवेत जानुभन्दा भैरहवा हुँदै गए प्रतियात्रु ८ हजार रुपैयाँले सस्तो पर्छ ।

‘भैरहवामा हवाई उडान सञ्चालन गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पाएको विशेष सहुलियत हामीले यात्रुलाई प्रदान गरेका छौं,’ उनले भने, ‘यही कारण पनि यो रुटको भाडा सस्तो भएको हो ।’ यही गतिमा यात्रुको चाप बढेमा जजिराले उडान संख्या थप्न सक्ने उनको भनाइ छ । विमानस्थलका निमित्त महाप्रबन्धक एवं प्रवक्ता श्यामकिशोर साहका अनुसार अहिलेसम्म १५ सयभन्दा बढी यात्रुले अन्तर्राष्ट्रिय उडानतर्फ विमानस्थलको प्रयोग गरिसकेका छन् । ‘यो नेपाल आउने–जाने दुवैतर्फका यात्रुको संख्या हो,’ उनले भने ।

सरकारले गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई सेवा कम्पनीहरूलाई आकर्षण गर्न विभिन्न शुल्कमा सहुलियत र पूर्ण छुटसमेत दिएको छ । विमानस्थल प्रवक्ता साहले अन्तर्राष्ट्रिय एयरलाइन्सलाई अवतरण, पार्किङ, सुरक्षा र सञ्चार गरी ४ शीर्षकको शुल्क एक वर्षका लागि शतप्रतिशत छुट दिइएको बताए । जजिराले अहिले एकपटकको उडानबापत विमानस्थललाई बुझाउनुपर्ने २ लाख २५ हजार रुपैयाँ छुट पाइरहेको छ ।

Published on: 3 June 2022 | Kantipur

Link

Back to list

;