s

भाडाकी आमा बनाउन महिला बेचिएको खुलासा

नेपालगन्ज, भदौ २६ गते । रोजगारीलगायत विभिन्न प्रलोभन देखाएर भारतको मुम्बईमा पु-याइएका बाँकेका दुई जना महिलालाई बन्धक बनाई जबरजस्ती भाडाकी आमा बनाएको खुलासा भएको छ। ती महिलालाई अरूका लागि बच्चा जन्माउने काममा लगाइएको पाइएको छ। केही दिनअघि माइती नेपालको सम्पर्कमा आएका महिलाले उक्त घटनाको खुलासा गरेका हुन्। माइती नेपाल नेपालगन्ज कार्यालय प्रमुख केशव कोइरालाले बेचबिखनमा परेका दुई महिलालाई भाडाकी आमा बन्न बाध्य पारिएको जानकारी दिनुभयो।

नेपाली महिलालाई सरोगेसी (आमाको कोख भाडामा लिई बच्चा जन्माउने प्रक्रिया) मा प्रयोग गरिएको घटना मानव बेचबिखनको नयाँ रूपमा भएको जानकारी दिँदै उहाँले यसले घटनाले आफूलाई अतिनै गम्भीर बनाएको बताउनुभयो।

कोख भाडामा लिने समस्या मानव बेचबिखन नियन्त्रण र रोकथामका लागि झन् चुनौतीपूर्ण बन्दै गएको उहाँले बताउनुभयो। माइती नेपालका अनुसार बेचबिखनमा परेका बाँकेका ती दुई जना महिलालाई बच्चा जन्माइसकेपछि घर फिर्ता पठाइएको थियो।

घर फर्किएपछि माइती नेपालको सम्पर्कमा आएका उनीहरूले आफूहरूमाथि घटेको बर्बर घटनाको वृत्तान्त सुनाएपछि नेपाली महिलालाई भारतमा बन्धक बनाएर भाडाकी आमा बन्न बाध्य पार्ने गरेको रहस्य खुलेको हो। ती महिलालाई माइती नेपाल नेपालगन्जको ‘सेल्टर’ मा राखेर आवश्यक परामर्श दिएपछि परिवारमा पुनस्र्थापना गरिने भएको छ। यो घटनाको खुलासाले बेचबिखनविरुद्ध सक्रिय सङ्घसंस्था र सरकारी निकायलाई गम्भीर हुन बाध्य बनाएको छ।

माइती नेपालका अनुसार, पीडित दुई महिला आफन्तको सहारामा रोजगारीका लागि मुम्बई पुगेका थिए। त्यहाँ उनीहरूलाई एउटा फ्ल्याटमा बसाइयो र केही दिनपछि अब तिमीहरूले बच्चा जन्माउने काम गर्नुपर्छ भनियो।

यो सुनेर महिलाले प्रतिवाद त गरिन तर बन्धक बनाइएका कारण उन्मुक्ति पाउन सकेनन्। अन्ततः बच्चा जन्माइसकेपछि घर पठाइयो घटना विवरण सुनाउँदै उहाँले भन्नुभयो। घर फर्किएका ती महिलाका अनुसार, त्यहाँ फ्ल्याट लिएरै महिलालाई बच्चा जन्माउन बाध्य पारिएको छ र त्यहाँ अन्य नेपाली महिला पनि छन्। उनीहरूकै सूचनाका आधारमा माइती नेपालले अन्य महिलाको उद्धार प्रयास गरेको भए पनि उक्त फ्ल्याट नै फेरिएको बताइएको छ। अरूको गर्भ भाडामा लिएर बच्चा जन्माउने प्रक्रियालाई सेरोगेसी भनिन्छ।

यो नेपाल र भारतमा कानुनी रूपमा अवैध मानिन्छ तर लुकिछिपी यस्तो कार्य हुँदै आएका छन्। नेपाली महिलालाई भारतमा लगेर जबरजस्ती सरोगेसीमा प्रयोग गरिएको यो घटना नौलो हो। विगतमा देहव्यापार तथा यौन तथा शारीरिक कामका लागि नेपाली महिलालाई प्रयोग गरिने गरेका घटना सार्वजनिक हुने गरेका थिए। सरोगेसी पनि महिला बेचबिखनको अर्को चुनौती भएको भनाइ सरोकारवाला निकायको छ।

Published on: 12 September 2023 | Gorkhapatra

Link

Back to list

;