s

भारतमा कमाएर इनार

 
मोहन बुढाऐर
 
इनार खन्ने रकम जुटाउन चुरे फेदको ओलानी गाउँका कतिपय युवा भारत जान बाध्य
सार्वजनिक इनारमा पानी थाप्नेको हानथाप
असुरक्षित इनार, पानी झिक्दा खसेर मृत्यु
विपन्न र दलित परिवार इनारको पानी कपडा छानेर खान बाध्य
 
गोदावरी नगरपालिका १०, ओलानीका मनोज विष्टको आँगनमा इनार थिएन, पानीका लागि सधैं छिमेकीकहाँ जानुपथ्र्यो । त्यहाँ पनि आलोपालो । पानी थाप्नैका लागि हानथाप हुन थाल्यो । एक दिन यस्तो आयो, छिमेकीले वचनै लगाए । त्यसपछि उनले घरमा इनार खन्ने संकल्प लिए । त्यसका लागि बाधक बन्यो, कमजोर आर्थिक अवस्था । पारिवारिक सल्लाहपछि भारत जाने जुक्ति फुर्‍यो ।
 
एक बिहान चुरे फेदीको ओलानी गाउँका विष्ट झोलाझिम्टी कसेर भारत पसे । पानीका लागि काकाकुल उनको परिवारले त्यसमा साथ दियो । उनलाई नजाऊ भनेन । बरु ‘पहिलो कमाइ छिट्टै पठाइदिनू इनार खनिहाल्नुपर्छ’ भनेर सुझायो । यो गत वर्षको कुरा थियो । अहिले उनको आँगनमा इनार खन्न थालिएको छ । विष्टले वर्ष दिनको कमाइबापतको ३० हजार भारतीय रुपैयाँ पठाएपछि उनकी पत्नीले इनार खनाउन थालेकी हुन् ।
 
इनारका लागि उनकी पत्नीले स्थानीय एक कामदारलाई ठेक्का दिइन् । इनार खन्न करिब ७० देखि ८० हजार रुपैयाँ लाग्ने भएकाले अपुग रकम गाउँमै सापट खोज्न लागेको उनले सुनाइन् । छिमेकीलाई देखाउन पनि उनले अलि बढी खर्च गरेरै भए पनि सुविधायुक्त इनार बनाउन थालेकी हुन् । उनका अनुसार साधारण इनार खन्न ४० हजार भए पुग्छ । इनार मुखमा ढलान गरी हेन्डपम्प र मोटरबाट पानी तान्न सकिने बनाउन थालेकी छन् । सामान्यमा भने डोरीमा बाल्टी बाँधेर पानी झिकिन्छ ।
 
‘उनका श्रीमान्ले त भारतबाट पैसा पठाए । बिनाऋणमा इनार खनाउन थालिन्,’ छिमेकी सावित्री विष्टले भन्छिन्, ‘मैले इनार खन्न लिएको ४० हजार रुपैयाँ अझै तिर्न सकेकी छैन ।’ आर्थिक अवस्था कमजोर भएकाहरूले यो चुरे फेदीको गाउँमा इनार खन्ने पैसा कमाउन भारत जानुपर्ने बाध्यता छ, कसैले ऋणको भार थेग्नुपरेको छ ।
 
‘कि ठाउँ छाड्नुपर्‍यो,’ स्थानीय लक्ष्मीराज भट्ट भन्छन्, ‘कि ऋण लिएर, जग्गा बेचेर तथा विदेश गएर पैसाको जोगाड गर्नुपर्‍यो ।’ उनका अनुसार निजी इनार खन्न नसक्ने र सार्वजनिक इनारबाट टाढा रहेका सर्वसाधारण खानेपानीको समस्यासँग जुधिरहेका छन् । विष्टको इनार खनिरहेका कामदार तुलाराम जोशीले पानीका मूल सुक्दै गएपछि पहिला जस्तो सजिलै इनार खन्न नसकिएको बताउँछन् । ‘५० देखि ६० फिट गहिरो इनार नखनेर सुखै छैन,’ उनले भने, ‘सुक्खा लागेपछि पानीको जमिनमुनिको सतह भेटाउनै हम्मे पर्छ ।’ उनका अनुसार केही वर्षअघिसम्म केही फिट गहिराइमै पानी आउँथ्यो । अहिले गहिराइको इनार खन्दा त्यतिकै जोखिम पनि छ । ‘इनार खन्दा कैयौंपटक कामदार घाइते भएका छन्,’ उनले भने । उनले गहिराइअनुसार इनार खनेको पैसा लाग्ने गरेको बताए । यसपटक जोशीले गाउँका ५ इनारको ठेक्का लिएका छन् ।
 
इनारको पानीका लागि धेरै समय, परिश्रम र रकम लगानी गर्नुपर्ने स्थानीयको बाध्यता छ । केही वर्ष अघिसम्म सार्वजनिक इनारबाटै पानी पिउँदै आएका भट्ट परिवारले पनि जेनतेन इनार खनाएका छन् । उनले छिमेकीकै बीचमा पानीकै लागि बेमेल हुने गरेको बताए । सुक्खा मौसममा पर्याप्त पानी नआउँदा कसले पहिला भर्ने र कति लिने भन्ने समस्या गाउँमा छ । यसले मनमुटाव मात्र होइन, कहिलेकाहीं झगडाकै रूप लिन्छ । पानीकै कारण झैंझगडा हँुदा त्यसले छिमेकीका बीचमा मात्र होइन, संयुक्त परिवारमै पनि विखण्डन ल्याउन थालेको छ ।
 
सार्वजनिक इनार भने मर्मत सम्भारको अभावमा भत्कँदै र पुरिँदै गएका छन् । आर्थिक अवस्था सुदृढ भएकाहरू निजी इनार बनाउन थालेका छन्, नभएकाहरू छिमेकीको भर पर्छन् । भट्टले भन्छन्, ‘सार्वजनिक इनार पनि थोरै छन् । पानी जहिले नि अपुग भइरहन्छ ।’ वैशाख–जेठमा इनार सुक्दा पानीकै लागि हानथाप हुने गरेको उनी बताउँछन् ।
 
सार्वजनिक इनारको सतहमा पानी कम भएकाले बालुवा मिश्रित आउने गरेको गोदावरी नगरपालिका ११, बांगेसालकी भागरथी सुनारको भनाइ छ । ‘कपडाले छानेर पानी खानुपर्ने अवस्था छ,’ इनारमै भेटिएकी उनले भनिन्, ‘एक दिन अथवा महिना होइन । बाह्रैमास यस्तो समस्या भइरहन्छ ।’
 
बांगेसालको तल्लो टोलमा दलित समुदायको बसोबास धेरै छ । यहाँका करिब सय बढी घर परिवारका लागि ३ मात्रै सार्वजनिक इनार छन् । दलित र विपन्न परिवारले निजी इनार खनाउन नसक्दा फोहोर र लेदोयुक्त पानी खानुपरेको छ । बर्खामा इनारमै भेल पस्दा पानी खाइनसक्नु हुन्छ । एउटा इनारबाट ३० देखि ३५ घरपरिवारले पानी झिक्ने गरेको स्थानीय दिलबहादुर वड बताउँछन् । उनका अनुसार एक दिनमा एक परिवारले २० देखि ३० लिटर झिक्दा पनि इनारबाट दैनिक हजार लिटर पानी रित्तिन्छ । झगडाको जड यहींबाट सुरु हुन्छ ।
 
पानी लिनकै लागि हानथाप चल्दा आफैंमा भिड्ने स्थिति आउने उनले सुनाए । तल्लो टोलमा रहेका केही परिवार ‘गैरदलित’ का लागि भने छुट्टै इनारको व्यवस्था छ । केही परिवार मिलेर निजी जग्गामा इनार बनाएका छन् । जातीय विभेद अन्त्यमा लागि केही गैरसरकारी संस्थाले अभियान थालेपछि बाह्मण र क्षत्री सार्वजनिक इनारमा जान छाडेका हुन् । उनीहरू मिलेर छुट्टै इनार खनाएका छन् ।
 
‘ज्यानमारा’ इनार
 
असुरक्षित तरिकाले निर्माण गरिएका इनारबाट पानी झिक्दा ज्यान जोखिममा पर्न थालेको छ । स्थानीय लालबहादुर सुनारका अनुसार इनारमा खसेर केहीको मृत्युसमेत भएको छ । ‘केही वर्षअघि इनारमै खसेर २ बच्चाको ज्यान गयो । पानी भर्दा आफैं इनारमा खसेर घाइते भएका घटना पनि छन्,’ स्थानीय दिलबहादुर वडले भने ।
 
बांगेसालकी नन्दा विकले केही वर्षअघि आफ्नै नन्द बिना इनारमा खसेर घाइते भएको सुनाइन् । ‘बाल्टीको वजन धेरै भएकाले तान्न खोज्दा अल्झेर आफैं खसिन् । अहिले अपांग भएकी छन् । राम्रोसित हिँड्डुल गर्न सक्दिनन्,’ उनले भनिन् ।
 
गोदावरी नगरपालिकाका १०, ११ र १२ वडामा पानी अभाव छ । मूल सुकेर धारामा पानी आउँदैन । ढुंगा लाग्ने भएकाले मेसिनबाट हयान्डपम्प गाड्न मिल्दैन । पानीका लागि इनार मात्रै एउटा विकल्प हो । ‘पानी नै प्राण’ भन्छन्, तर त्यही पानीका लागि केहीको ज्यानै गइसकेको छ । भूमिगत जलस्रोत कार्यालयले जमिनबाट पानी तान्न सकिने ठाउँमा डिप बोरिङ निर्माण गरिदिएको छ ।
 
तर, बोरिङको मर्मत र बिजुलीको बिल तिर्न नसक्दा ती पनि नियमित चालु अवस्थामा छैनन् । ‘नियमित बोरिङ चलाएर पानी पिउन झन् महँगो पर्छ,’ वडा १० का अध्यक्ष रवीन्द्र शाह भन्छन्, ‘त्यसैले अधिकांश परिवार इनार र कुवाकै पानी पिउन बाध्य छन् ।’
 
उनले सार्वजनिक धारा निर्माणका लागि वडाबाट ५० हजार बजेट छुट्याएको बताए । खानेपानी योजनाका लागि समेत पहल भइरहेको उनले जनाए । ‘यो वडाको माथिल्लो क्षेत्रमा मात्रै खानेपानीको हाहाकार हो,’ उनी भन्छन्, ‘यहाँको खानेपानीको समस्या समाधान गर्न करोडमाथिको बजेट नभई सम्भव छैन ।’ वडा ११ का शिवु विकले खानेपानीकै लागि समस्या झेल्नुपरेको बताए । ‘स्थानीय तहलाई गुनासो सुनाउँदा, आश्वासन मात्र पाएका छौं । बृहत् खानेपानी योजना निर्माणका लागि पहल भएको छैन,’ उनले भने ।
 
Published on: 6 May 2018 | Kantipur

Back to list

;