s

भारतमा अलपत्र ७ बालबालिकाको उद्धार

प्रशान्त माली

बुबाले सानैमा घर छाडे । ३ महिनापछि आमाले अर्को विवाह गरिन् । सुरुमा उनलाई पनि आमाले सँगै राखिन् । पछि, आमाले पहिलाकै श्रीमानको घरमा फर्काइदिइन् । ‘यता हजुरआमाले पोइला गएकी आमाकी छोरी भनेर हेलाँ गर्न थालिन्,’ भारत, बिहारबाट साताअघि उद्धार गरी नेपाल फर्काइएकी जनकपुरकी ११ वर्षीयाले सुनाइन्, ‘२ वर्षअघि घरबाट भागेर बिहार पुगें ।’ 

आफू सुरुमा मुजफ्फरपुरस्थित एक घरमा काम गरेर बसेको उनले सुनाइन् । ‘पछि साहुनीले अर्को घरमा पठाइदिइन् । त्यहाँकी साहुनीले धेरै कुटपिट गर्थिन्,’ ती बालिकाले सम्झिइन्, ‘सहन नसकेर भागें, रेलवे स्टेसन पुगेपछि प्रहरीले समातेर चिल्ड्रेन होम पठाइदियो ।’ बिहारमा पटक–पटक बेचिएकी वीरगन्जकी ९ वर्षीयाले पहिल्यै आमा गुमाइन् ।
 
बुबा कामको सिलसिलामा भारत बस्थे । उनी हजुरआमासँग बस्थिन् । अस्पतालमा कार्यरत हजुरआमाले डेढ वर्षअघि एक भारतीय डाक्टरको घरमा काम गर्न भनी उनलाई पठाइदिइन् । बिहारबाट उद्धार गरी फर्काइएकी अर्की बालिकाले सुनाइन्, ‘डाक्टरको घर सफा गर्ने क्रममा झुम्का भेट्टाएँ । डाक्टरकी श्रीमतीले चोरी गरेको आरोप लगाएर अर्कैको घरमा काम गर्न पठाइदिइन् ।’
 
नयाँ घरमा झन् धेरै काम गर्नुपरेको उनले सुनाइन् । ‘तैपनि काम नगरेको भन्दै साहुनीले बेलाबेला कुटथिन्,’ उनले भनिन्, ‘घरबेटीकी कान्छी छोरीलाई धकेलेर घाइते बनाएको भन्दै अर्कैको घरमा काम गर्न पठाइदिए ।’ उनले घरेलु कामदारका रूपमा यातना बेहोर्ने सिलसिला रोकिएन । त्यो घरका मालिकले पनि उनलाई दुव्र्यवहार गर्दै निकालिदिए । ‘म भौंतारिरहेकी थिएँ । एक जनाले घरमा काम गर्न लगे,’ उनले सुनाइन्, ‘पहिलाका साहुजी आएर फिर्ता लैजान खोजे । मैले मानिनँ । पछि ती व्यक्तिले प्रहरीलाई जिम्मा लगाइदिए ।’
 
उद्धार गरी ल्याइएकी अर्की बालिकाको कथा पनि कम्ती कारुणिक छैन । रौतहटकी ९ वर्षीया ती बालिकाका बुबा कारागारमा छन् । कर्तव्यज्यान मुद्दामा बुबा जेल परेपछि आमा छोराछोरीसहित माइत पुगिन् । पछि अर्कै केटासँग विवाह गरिन् र छोरी लिएर उसैसँग बस्न थालिन् । ‘सुरुमा ठिकै चल्दै थियो,’ ती बालिकाले सुनाइन्, ‘पछि कान्छाबुबाले रक्सी खाएर आमालाई पिट्न सुरु गरे । हामीलाई पनि बाँकी राखेनन् ।’
 
दिनहुँको पीडा सहन नसकेर उनी ३ वर्षअघि दाइसँग भागेर भारत पुगेकी थिइन् । बिहारको जेलवे स्टेसनमा प्रहरीले दुवै जनालाई पक्राउ गर्‍यो । ‘पछि दाइ भागे,’ उनले भनिन्, ‘मलाई चिल्डेन होममा पठाइदियो । दरभंगाबाट ५ महिनाअघि दाइ पनि पक्राउ पर्‍यो, अहिले चिल्ड्रेन होममा छ रे ।’ दाइलाई पनि फर्काउन सहयोगका लागि उनले याचना गरिन् ।
 
केन्द्रीय बालकल्याण समितिको समन्वयमा ‘छोराछोरी नेपाल’ नामक संस्थाले भारत, बिहारबाट ७ बालबालिकालाई उद्धार गरी काठमाडौं ल्याएको हो । समितिका निर्देशक तारक धिताल भन्छन्, ‘अझै पनि बिहारमा धेरै बालबालिका घरायसी काममा छन् । तर अध्ययन नभएकाले यति नै छन् भनेर यकिन गर्न सकिने अवस्था छैन ।’ उनले कतिपय बालबालिकालाई बुबाआमा आफैं भारत पुगेर फिर्ता ल्याउने गरेको पनि सुनाए ।
 
उद्धार गरिएका ११ देखि १५ वर्ष उमेरसमूहका अन्य ४ बालक सर्लाही, हरिवनका हुन् । दिल्ली गएर काम गर्न भनी घरबाट भागेका यी बालकलाई बिहारको छपरा रेलवे स्टेसनबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरूलाई बिहारको बालगृहमा बुझाएको सूचनाका आधारमा उद्धार गरी ल्याइएको छोराछोरी नेपालका कार्यक्रम संयोजक अनिला डंगोलले जानकारी दिइन् ।
 
‘तीन बालिकामध्ये दुई जना घरायसी काममा बेचिएको थिइन्,’ उनले भनिन्, ‘एक जना दाजुसँगै घरबाट भाग्दा छुट्टिएर अलपत्र परेकी रहिछन् । केही बालबालिकालाई परिवारको जिम्मा लगाउने क्रममा छौं ।’
 
उद्धार गरिएका बालबालिकालाई गोदावरी, टौखेलस्थित छोराछोरी नेपालकै बालगृहमा राखिएको छ । गत वर्ष पनि यो संस्था छोराछोरी नेपालले केन्द्रीय बालकल्याण समितिको समन्वयमा भारत दरभंगा र मुजफ्फरपुरस्थित बालगृहबाट ३३ बालबालिकालाई उद्धार गरिएको थियो । संस्थाले हालसम्म १ सय २२ बालबालिकाको उद्धार गरिसकेको जनाएको छ ।
 
Published on: 18 May 2018 | Kantipur

Back to list

;