s

बेरोजगारलाई सीप सिकाउँदै धनगढी उपमहानगरपालिका

धनगढी उपमहानगरले बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउने उद्देश्यले तीनमहिने सीपमूलक तालिम दिन सुरु गरेको छ । उपमहानगरले ललितपुरको ओल्गापुरी भोकेसनल स्कुलसँगको सहकार्यमा प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम सुरु गरेको छ । यी दुवै तालिममा ५३ जना सहभागी छन् । त्यस्तै, फर्निचर, कार्पेटिङ र वेल्डिङसम्बन्धी तालिम पनि तत्काल सञ्चालन गर्ने उपमहानगरको तयारी छ ।

वार्षिक करिब चार सयजनालाई तीनमहिने अवधिका विभिन्न विधाका सीपमूलक तालिम निःशुल्क दिन उपमहानगरले धनगढी भोकेसनल स्कुल (व्यावसायिक शिक्षालय) स्थापना गर्न लागेको छ । उपमहानगरको सहकार्यमा ओल्गापुरी भोकेसनल स्कुलले शिक्षालय स्थापना गर्न लागेको हो । व्यावसायिक शिक्षालय स्थापना गर्न दुवै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ । नेपाल युथ फाउन्डेसनद्वारा सञ्चालित ओल्गापुरी भोकेसनल स्कुल निःशुल्क सीपमूलक तालिम दिँदै आएको संस्था हो ।

व्यावसायिक शिक्षालयमा निःशुल्क खान, बस्नसँगै तालिमको व्यवस्था गरिने नगरप्रमुख गोपाल हमालले बताए । प्रदेशका सबै पालिकाका युवायुवतीले निःशुल्क रूपमा सीपमूलक तालिम लिन पाउने गरी व्यावसायिक शिक्षालय स्थापनाको सहमति गरिएको उनले बताए । सहमतिअनुसार शिक्षालय स्थापना गर्न उपमहानगरले धनगढी– १८, फूलबारीमा करिब चार बिघा जमिन उपलब्ध गराउनेछ । ओल्गापुरीले त्यसमा डेढ वर्षभित्र भवनलगायतका संरचना बनाउने सहमति छ । संरचना निर्माण नभएसम्मका लागि फूलबारी बहुमुखी क्याम्पसको भवनबाट तालिम सुरु गरिएको हमालले बताए । दुईवटा विधाका तालिम सुरु भइसकेका र थप दुई विधाको तालिम सुरु गर्न लागिएको उनले जानकारी दिए ।

हमालले औपचारिकताका लागि मात्र नभई बेरोजगारलाई स्वरोजगार बनाउने उद्देश्यले सीपमूलक तालिम दिन लागिएको बताए । ‘अहिले व्यावसायिक तालिमका नाममा लाखौँ खर्च भइरहेको छ, तर तालिमबाट सिकेको सीप व्यवहारमा लागू हुन सकेको छैन, तालिम लिएका धेरै रोजगार र स्वरोजगार बन्न सकेका छैनन्,’ उनले भने, ‘हामीले तीन महिना लामो तालिम दिएर स्वरोजगार बनाउन खोजेका हौँ ।’ यसले बेरोजगारीको समस्या केही हदसम्म कम गर्ने उनको दाबी छ ।

अहिले ५३ जनाले तीन महिना अवधिको प्लम्बिङ र बिल्डिङ इलेक्ट्रिक तालिम लिइरहेका छन् । केही काम पाउने आशा लिएर सीप सिक्न आएको प्लम्बिङको काम सिकिरहेका सुदीप थापाले बताए । ‘घरमा बेरोजगार बसेको थिएँ, केही काम गर्नलाई सीप छैन,’ उनले भने, ‘तीन महिनासम्म सीप सिकेपछि केही काम पाइएला भन्ने आशा छ, सीप भए आफैँ पनि स्वरोजगार बन्न सकिएला ।’

डेढ वर्षभित्र व्यावसायिक शिक्षालयका लागि आवश्यक संरचना तयार गरिसक्ने लक्ष्य रहेको नेपाली युथ फाउन्डेसनका सञ्चालन निर्देशक रिसभराज गोर्खालीले बताए । भवनको डिजाइन तयार भइसकेकाले निर्माण कार्य छिट्टै सुरु गरिने उनले जानकारी दिए ।

शिक्षालय सुरुको वर्ष ओल्गापुरीले आफ्नै लगानीमा सञ्चालन गर्नेछ । त्यसपछिका वर्षमा उपमहानगरको क्रमशः २५ प्रतिशत, ५० प्रतिशत, ७५ प्रतिशत र छ वर्षपछि पूर्णरूपमा उपमहानगरले आफैँ सञ्चालन गर्ने समझदारी छ । सुरुमा व्यावसायिक तालिम दिने र पछि तालिमसँगै कृषि फर्म पनि स्थापना गर्ने योजना रहेको गोर्खालीले बताए । ‘सीपमूलक तालिमका लागि सुदूरपश्चिमबाट धेरै युवायुवतीहरू ओल्गापुरी आउनुहुन्छ, धनगढीलाई केन्द्र बनाएर सुदूरपश्चिममा तालिम दिन भोकेसनल स्कुल स्थापना गर्न लागेका हौँ,’ उनले भने, ‘अहिले चार विधामा तालिम दिन्छौँ, बिस्तारै तालिमका विषय बढाउँछौँ ।’

तालिमले बेरोजगार युवायुवतीलाई स्वरोजगारमार्फत आत्मनिर्भर बन्न सहयोग पुग्ने नगरप्रमुख हमालले बताए । उनले धनगढी व्यावसायिक शिक्षालयलाई प्रदेशकै नमुना तालिम केन्द्रको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । ‘तीन महिनासम्म तालिम लिएपछि हातमा सीप हुन्छ,’ उनले भने, ‘सीप भएपछि खाली बस्नुपर्दैन, व्यक्ति स्वरोजगार बन्छ ।’ धनगढी उपमहानगरपालिका अग्रसर भएपछि ओल्गापुरी यहीँ व्यावसायिक तालिम केन्द्र स्थापना गर्न सहमत भएको सञ्चालन निर्देशक गोर्खालीले बताए । अहिले तीनमहिने तालिम सञ्चालन गरिने र आवश्यकताअनुसार त्योभन्दा माथिल्लो तहको तालिम पनि दिइने उनले बताए ।

बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउन तालिम दिइने भएपछि क्याम्पसले भवन उपलब्ध गराएको फूलबारी बहुमुखी क्याम्पसका अध्यक्ष रमेशकुमार बस्नेतले बताए । सीपमूलक जनशक्ति उत्पादनका लागि यो तालिम निकै महŒवपूर्ण हुने र यसले रोजगारी सिर्जनामा योगदान पुग्ने उनले बताए ।

Published on: 16 October 2023 | Naya Patrika

Link

Back to list

;