s

बेरोजगारलाई सय दिनबराबरको रोजगारी

धनगढी उपमहानगरपालिकाले बेरोजगारलाई छोटो अवधिका लागि रोजगारीको अवसर दिने भएको छ । उपमहानगरको आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर गोपाल हमालले रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई प्राथमिकताका आधारमा क्रमशः न्यूनतम सय दिनबराबरको रोजगारी र ५० दिनको सीपमूलक तालिम प्रदान गरिने बताए ।

विपन्न र सीमान्तकृत समुदायका रोजगारी गुमेका व्यक्तिलाई रोजगारीको प्राथमिकतामा राखिने उपमहानगरको नीति तथा कार्यक्रममा उल्लेख छ । नगरमा सञ्चालन हुने विकास निर्माणका योजनामा आवश्यक श्रमिकको आपूर्तिका लागि रोजगार सेवा केन्द्रमा सूचीकृत बेरोजगारलाई प्राथमिकता दिने नीति लिइने हमालले बताए । उपमहानगरले एकीकृत श्रम तथा रोजगारमूलक सेवा सञ्चालन र व्यवस्थापन गर्न नमुना रोजगार सेवा केन्द्रको सञ्चालन गर्ने भएको छ । स्थानीय कच्चा पदार्थमा आधारित, स्थानीय श्रमसीपमा आधारित उद्योग र निर्यातजन्य उद्योगलाई कर छुटको व्यवस्था गरिने मेयर हमालले बताए ।

विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न नगर प्रमुख शैक्षिक गुणस्तर सुधार कार्यक्रम लागू गरिने भएको छ । त्यसका लागि नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरेर थप स्रोत जुटाइने मेयर हमालले बताए । आगामी आर्थिक वर्षलाई शैक्षिक उपलब्धि सुधार वर्षका रूपमा मनाउने तथा कक्षा १ देखि ८ सम्म स्थानीय हाम्रो धनगढी पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक निर्माण गरी कार्यान्वयन गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएका छन् । उपमहानगरले उच्च शिक्षा अध्ययनरत अपांगता भएका विद्यार्थीको सहायताका लागि मोबाइल, ट्याब्लेट र ल्यापटप उपलब्ध गराउने भएको छ ।

नगरलाई शतप्रतिशत संस्थागत सुत्केरी भएको सुनिश्चित गर्ने उपमहानगरको नीति छ । निजी अस्पतालले कुल शड्ढयाको १० प्रतिशत शड्ढया गरिब, असहाय र बेवारिसे नागरिकलाई छुट्याई निःशुल्क उपचार सेवा दिनुपर्ने व्यवस्था कडाइका साथ लागू गरिने मेयर हमालले बताए । ‘स्वास्थ्य सचेतना वृद्धिका लागि सबै माध्यमिक विद्यालयमा महिनामा एक दिन स्वास्थ्यकर्मीद्वारा स्वास्थ्य शिक्षा कक्षा सञ्चालनको व्यवस्था गरिनेछ,’ उनले भने ।

सहरी सडक निर्माण गर्दा पक्की नाली र फुटपाथ निर्माणलाई प्राथमिकता दिने नीति अवलम्बन गरिने भएको छ । नयाँ बसपार्क निर्माण, मुख्य सहरी सडकमा साइकल लेन निर्माणलगायत योजना पनि नीति तथा कार्यक्रममा समेटिएका छन् । लागत सहभागिता जुट्ने योजना मात्र उपभोक्ता समितिबाट कार्यान्वयन गरिनेछन् । उपमहानरमा आयोजना बैंक स्थापना गरिने भएको छ । अतिक्रमण हटाएर सार्वजनिक जमिन, ताल, कुलोहरूको संरक्षण र व्यवस्थापन कार्यलाई आगामी वर्ष पनि निरन्तरता दिइने मेयर हमालले बताए । इलेक्ट्रोनिक सवारीसाधनलाई प्रोत्साहन गर्न नगरका विभिन्न ठाउँमा इलेक्ट्रोनिक सवारीसाधन चार्जिङ स्टेसन बनाउने तथा प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन प्रणाली उपयोग गरी फोहोरमैला व्यवस्थापन गरिने योजना पनि नीति तथा कार्यक्रममा समेटिएको छ ।

Published on: 23 June 2023 | Naya Patrika

Link

Back to list

;