s

बेरोजगारलाई सीटीईभीटीले सीप सिकाउने, कोषले पुँजी दिने सम्झौता

कान्तिपुर संवाददाता 

काठमाडौँ — बेरोजगार युवाहरुलाई सीप सिकाएर उद्यमी बनाउने उद्देश्यले युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)बीच एक सम्झौता भएको छ । बेरोजगार युवालाई सीप सिकाएर, व्यवसाय सञ्चालन गर्न पुँजी उपलब्ध गराउनेगरी यो सम्झौता भएको कोष सचिवालयले जनाएको छ ।

सम्झौताअनुसार सीटीईभीटीले बेरोजगार युवालाई तालिम दिएर सीपयुक्त जनशक्ति तयार गर्नेछ । त्यसपछि समूहगत रुपमा व्यवसाय गर्न स्वरोजगार कोषले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । समझदारी पत्रमा कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी र सीटीईभीटीका सदस्य सचिव जीवनारायण कार्कीले हस्ताक्षर गरे ।

यो सम्झौताले युवालाई स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुग्ने कोषका कार्यकारी निर्देशक अधिकारीले बताए । ‘सीटीईभीटीले सीप सिकाउँछ, हामीले पुँजी उपलब्ध गराउँछौं,’ उनले भने, ‘यसले उद्यमशीलता विकासमा सघाउ पुग्छ ।’ साथै रोजगारीको सृजना पनि हुने उनले बताए । कोषले यो वर्ष करिब १२ हजार रोजगारी सृजना गर्ने लक्ष्य लिएको अधिकारीले जानकारी दिए । साथै विदेशमा सीप आर्जन गरेर स्वदेश फर्केका निम्न वर्गीय परिवारका युवालाई बिनाधितो सहुलियतदरमा कर्जा उपलब्ध गराउने कोषले जनाएको छ ।

सम्झौतापछि वार्षिक श्रम बजारमा आउने युवाहरुलाई प्राविधिक तथा व्यावसायिक शिक्षा, सीपमूलक तालिम र उद्यमशीलताको विकास मार्फत रोजगारी सृजना गर्न सघाउ पुग्ने सदस्य सचिव कार्कीले बताए । वैदेशिक रोजगारीबाट सीप, अनुभव र पुँजी समेत आर्जन गरी स्वदेश फर्किएका युवालाई उद्यमशीलतासँग जोडिने उनले बताए । उद्योगी, व्यवसायी एवं रोजगारदाताको सहभागितामा पहिचान भई आएका पेशा तथा व्यवसायलाई सघाउने योजना लिइएको छ ।

Published on: 7 January 2022 | Kantipur

Link

Back to list

;