s

बेरोजगार श्रम शक्तिलाई नयाँ शैलीबाट प्रयोगमा ल्याउने सरकारी तयारी

खगेन्द्र अधिकारी

ताप्लेजुङ— लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई अब सरकारले नयाँ उपायका साथ उपयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बेरोजगार श्रमशक्तिलाई उत्पादनमूलक कार्यमा अग्रसर बनाउन सरकारले योजना बनाईरहेको बताएका छन् ।

‘रोजगारी गुमाएका र घर जान नसकेका श्रमशक्तिलाई अब नयाँ किसिमले उपयोग गर्न र पुर्नरोजगारीको अवस्था सिर्जित गर्ने उपायका बारेमा सरकारले प्राथमिकताका साथ गृहकार्य गरिरहेको छ’बुधवार गृह जिल्लाका सञ्चारकर्मीको भिडियो कन्फरेन्समा मन्त्री भट्टराईले भने ।

उनले लकडाउनका कारण बेरोजगार बनेको श्रम शक्तिलाई हिमाल सफाई, पुरातात्विक महत्वका क्षेत्रको सरसफाई र सामान्य जिर्णोद्धार एवम् कृषि उत्पादन र फार्मिङ केन्द्रहरुमा रोजगार दिन सकिने गरी तयारी भईरहेको जानकारी दिए । लकडाउनक कारण रोजगारी गुमेकाहरुका लागि लागि सरकारले बैकल्पिक रोजगारीका उपायहरु खोजी रहेको उनको भनाई थियो । मन्त्री भट्टराईले अहिलेको परिस्थिति सामान्य अवस्थामा नआउँदासम्म रोजीरोटी खोसिएकाहरुका बारेमा सरकार गम्भीर बन्ने बताए ।

उनले भौतिक दुरी, सरसफाई र व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गरेर खेती किसानी कार्यमा लाग्न आम किसान दाजुभाई तथा दिदीबहिनीहरुलाई आवहन समेत गरेका छन् । यो बेला आफ्नो खेती किसानीलाई नै थाती राखेर बस्न नसकिने अवस्था नरहेकोले सुरक्षाका उपायसाथ आफ्नै दैनिकीमा फर्कन आग्रह गरेका छन् ।

Published on: 22 April 2020 | Nagarik

Link

Back to list

;