s

बेरोजगार पर्यटन मजदुरलाई काम दिने तयारी

सन्तोष पोखरेल 

कोरोना भाईरस संक्रमणले गर्दा पर्यटन क्षेत्र बढी थला परेको छ। भाइरस संक्रमणले पर्यटक आउजाउ रोकिदा हजारौं पर्यटन मजदुर बेरोजगार बनेका छन्। बेरोजगार भएका मजदुरले नियमित आम्दानी गुमाउँदा हातमुख जोर्न धौधौ भएको गुनासो गरिरहेका छन्। बेरोजगार भएका उनै मजदुरलाई काममा लगाएर आम्दानी दिलाउने तयारी पर्यटन बोर्डले गरेको छ।  

बोर्डले पहिलो चरणमा केहीदिनभभित्रै पदयात्रा क्षेत्रका दुई सय ५० जना मजदुरलाई कामका लगाउने तयारी गरेको हो। बोर्डका अनुसार पहिलो चरणमा गण्डकी प्रदेशको कास्कीका दुइवटा पदमार्ग, प्रदेश एकमा सोलुखुम्बु र प्रदेश दुईमा जनकपुरमा पर्यटन मजदुरका लागि कार्यक्रम ल्याउने तयारी गरेको छ। कास्कीमा अन्नपुर्ण गाउँपालिकाको अन्नपुर्ण आधारशिविर पदमार्ग, मादी गाउँपालिकाको टोनी हेगन पदमार्ग र सोलुखुम्बुको खुम्बु पासाङल्यामु गाउँपालिकाको सगरमाथा आधारशिविर पदमार्गमा ती मजदुरलाई खटाउनेगरि स्थानीय तहलाई पत्राचार गरिसकेको छ। जनकपुर क्षेत्रको लागि भने कोरोना संक्रमणले गर्दा अहिले पत्राचार नभईसकेको बोर्डको भनाई छ। 

बोर्डका सूचना अधिकारी मणि लामिछानेका अनुसार अन्नपुर्ण आधारशिविर पदमार्गमा ६०, टोनी हेगन पदमार्गमा १०० र खुम्बु पासाङल्यामुमाको सगरमाथा आधारशिविर पदमार्गमा ६० जना मजदुरलाई काममा लगाउने तयारी छ। जनकपुरमा ३० जनाले मात्र काम पाउनेछन्। ‘सबैगरि २५० जना मजदुरलाई काम लगाउने तयारी भएको छ,’ उनले भने, ‘कास्की र सोलुखुम्बुका स्थानीय तहमा पत्राचार भईसकेको छ। कोरोनाले गर्दा जनकपुरमा भने केही समयका लागि रोकिएको हो। कोरोनाको अवस्था कमजोर हुनासाथ जनकपुरमा प्रक्रिया अघि बढ्छ।’ पदमार्गमा खटिएका ती मजदुरले ४५ दिनसम्म काम पाउने उनले बताए।  

लामिछानेका अनुसार ती पदमार्गमा खटिएका मजदुरले दिनको एकहजार ज्याला पाउनेछन्। ४५ दिन काम पाउँदा मजदुरले ४५ हजार रुपैयाँ कमाउनेछन्। पदमार्गमा खटिएका मजदुरले पदमार्ग सरसफाई, पदमार्ग मर्मत तथा व्यवस्थापन, संकेतस्थल मर्मत, कुलोकुलेसो सरसफाई, पहिरो, झाडि व्यवस्थापन लगायका काम गर्नेछन्। जनकपुर क्षेत्रमा भने मन्दिर आसपासका सरसफाईका काम हुनेछन्। ‘मजदुरले दिनको एकहजार रुपैयाँका दरले ज्याला पाउनेछन,’ उनले भने, ‘यसले मजदुरलाई थोरै भएपनि राहत मिल्नेछ। अहिले अप्ठेरोमा परेका मजदुरलाई यो कामले थोरै मात्र आम्दानी दिलाउनेछ।’ 

लामिछानेका अनुसार स्थानीय तह, ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) र बोर्डमार्फत मजदुरलाई काम लगाउने तयारी छ। गाउँपालिकाले तोकिएको क्षेत्रमा मजदुरलाई काम लगाउने, टानले कामको मनिटरिङ गर्ने र मजदुर छान्ने लगायतका काम गर्नेछ। ‘हामीले स्थानीयतहलाई एकसाताभित्र कामदार छनोट गरिदिनु भनेर पत्राचार गरेका छौ’ उनले भने, ‘सकेसम्म उनीहरुलाई छिटो काममा पठाउने योजना हो।’ उनका अनुसार छनोटमा पर्ने मजदुरले कोरोनाका कारण रोजगारी गुमाएको हुनुपर्ने, पदमार्ग, धार्मिक क्षेत्रमा काम गर्न तयार हुनुपर्ने लगायतका छन्। गण्डकी प्रदेशमा मात्र करिब १५ सय जना पदयात्रा मजदुर छन्। 

‘मजदुरलाई काममा लगाउँदा स्थानीयतह र त्यहाँका पर्यटकीय गाउँले पनि पर्यटनमा फड्को मार्ने सम्भावना हुन्छ,’ उनले भने, ‘अहिलेका लागि बेरोजगारले काम पाउँछन तर, ती क्षेत्रका काम हुँदा भविश्यमा ती गाउँको पर्यटन विकासा राहत पुग्छ।’ पर्यटनमा सक्रिय गाउँले पर्यटन बापत उठाएको केही रकम पनि यस्तै काममा सदुपयोग गर्न सके त्यहाँको विकासमा पनि फाइदा पुग्ने उनले बताए।  

बोर्डका प्रमुख कार्यकारी धनन्जय रेग्मीका अनुसार बेरोजगार बनेका मजदुरलाई काममा लगाउने गरि दातृ निकाय यूएनडिपीसँग सहकार्य भएको छ। पहिलो चरणमा मजदुरलाई काममा लगाउँदा दाताले १ करोड ४० लाख रुपैयाँ दिने सम्झौता गरेको छ। पहिलो चरणको अवधि तीनमहिनाको हुनेछ। तर मजदुर ४५ दिनसम्म काममा खटिनेछन्। रेग्मीका अनुसार दोश्रो चरणको कार्यक्रम ३ करोड रुपैयाँको हुनेछ। यसमा बोर्डले ५० लाख र युएनडिपीले २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउनेछ। सबैगरि ३ करोड रुपैयाँको दोश्रो चरणको कार्यक्रम हुने उनले बताए।  

तेश्रो चरणको कार्यक्रम भने अलि ठुलो आकारको हुनेछ। तेश्रो चरणको कार्यक्रम ७० करोड रुपैयाँको हुनेछ। त्यसबाट ५ हजार जनालाई काम दिन सकिन्छ। त्यसको सम्झौता भने भईसकेको छैन। दसैंसम्म सम्झौता भएर काम थाल्ने तयारी बोर्डको छ। चारवर्षका लागि हुने यो कार्यक्रम अनुसार नेपालभर मजदुरलाई काममा लगाउने र मजदुरलाई तीन महिनासम्म काम दिन सकिने सकिने बोर्डको भनाई छ। ‘कामविहीन मजदुरलाई थोरै भएपनि आर्थिक रुपमा राहत दिनेगरि कार्यक्रम ल्याउन थालेका छौ,’ रेग्मीले भने, ‘अहिले बेरोजगार बनेपनि ती मजदुरले आर्थिक रुपमा सास फेर्न सक्नेछन्।’ यसअघि नै यो कार्यक्रम ल्याउने तयारी भएपनि लकडाउनका कारण सम्भव नभएको रेग्मीले बताए।  

ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका प्रथम उपाध्यक्ष सुशीलराज पौडेलले पनि अहिले बेरोजगार भएका मजदुरलाई थोरै भएपनि यो राहतले सघाउने बताए। पौडेलका अनुसार यो कार्यक्रमका लागु भएका कतिपय स्थानीय तहले आफ्नै बजेटबाट रकम निकासा गरेर मजदुरलाई थपिदिने भएका छन्। कार्यक्रम लागु हुँदा मजदुर पनि लाभान्वित हुने र त्यस क्षेत्रको पनि विकास हुने भएकोले दोहोरो फाइदा हुने उनले बताए।  

कार्यक्रम लागु हुने अन्नपुर्ण गाउँपालिकाको अन्नपुर्ण आधारशिविर जाने पदमार्ग सरसफाई हुँदा त्यो क्षेत्रको आउजाउ सहज हुनेछ। यो कास्कीमा निकै नै चल्तीको पदमार्ग हो। वर्षमा हजारौं विदेशी पाहुना आधारशिविर पदमार्गमा जान्छन। त्यस्तै कास्कीको मादी गाउँपालिकाको ताङतिङबाट सिक्लेस हुँद दूधपोखरी नामुन पास गर्दै मनाङको तिमाङ निस्कने पदमार्गको नाम हो–टोनी हेगन टे«क। यो पदमार्गमा अहिलेसम्म पर्यटन व्यावसायीले दूधपोखरी टे«कको नाममा प्रर्वद्धन गरिरहेका छन्। उपाध्यक्ष पौडेलका अनुसार यो निकै नै चल्तीको रुट हो। पुरानो रुट पनि हो। १० दिनको यो रुटमा क्याम्पिङ नै सबैभन्दा आकर्षक रहेको पौडेलले बताए। रुटले कास्की, लमजुङ र मनाङ छुन्छ। अन्नपूर्ण फेरोको विकल्पमा यो पदमार्गलाई लिइन्छ। यो पदमार्गमा पर्ने कास्कीका सिक्लेस अन्तिम बस्ती हो। मोटरबाटोले नछोएको यो बाटो निकै आकर्षक छ। ‘वेष्ट क्याम्पिङ पदमार्गको रुपमा यसले पहिचान बनाएको छ,’ उनले भने। 

Published on: 17 August 2020 | Nagarik

Link

Back to list

;