s

विप्रेषणको बहुआयामिक प्रभाव

विप्रेषणले नेपाली अर्थतन्त्रलाई चलायमान बनाएको छ । घरेलु अर्थतन्त्र सप्रिएको छ । उपभोग गर्ने प्रवृत्ति बढेको छ । नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार भएको छ । केही वर्षयताको आकडा हेर्दा औसतमा जीडीपीको २५ प्रतिशत हिस्सा विप्रेषणले ओगटेको छ । यति हुँदाहुँदै पनि यसले दीर्घकालीन कस्तो प्रभाव पारेको छ भनेर हामीले सोच्नुपर्ने बेला भएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार ४ लाख ७२ हजार ५ सय १६ घरधुरी रित्ता छन्, जहाँ कोही पनि मानिस छैनन् । धेरैजसो ग्रामीण भेगका घर रित्तिएका हुन् । ३४ वटा जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ । युवाहरू रोजगारी र अध्ययनका लागि विदेश जाने अनि घर/परिवारका सदस्य बजारमा कोठा खोजेर भाडामा बस्ने प्रवृत्ति बढ्दो छ । सडक र सञ्चारको विकास गाउँगाउँ पुग्न थालेको छ, तर गाउँका बस्ती खाली हुँदै छन् । पहिले ग्रामीण भेगमा विकास हुन नसक्दा त्यहाँका मानिस कष्टकर जीवन जिउँथे । तर, अहिले गाउँमा विकास पुग्न थाल्यो, जसलाई उपभोग गर्नेहरू गाउँमै बस्न चाहन्नन् ।

गाउँको खेतीयोग्य जमिन बाँझो भएको छ । झाडी, वनमासा र बुट्यानले जमिन भरिएको छ, जसका कारण जंगलमा बस्ने बाँदर बस्ती छिर्न थालेका छन् । उत्पादन गर्न खोज्ने किसानलाई समेत बाँदरले निकै दुःख दिएको छ । घरेलु उत्पादन हराउँदै गएको छ भने एकै पुस्ताको अन्तरमा समेत कृषिबारे निकै अनभिज्ञता बढ्दो छ । हिजोआजका बच्चाहरूले ‘दूध कहाँबाट आउँछ’ भन्दा ‘डेरी’ बाट भन्ने अवस्था छ । हामी कृषिप्रधान मुलुकका लागि यो दुर्भाग्य हो । यसले हाम्रो उत्पादनको अवस्थालाई नै चुनौती दिएको छ ।

हरेक परिवार उसको बच्चाका लागि पहिलो पाठशाला हो । रोजगारी र अध्ययनका लागि आफ्ना साना बच्चालाई छाडेर बिदेसिनेको संख्या बढ्दै गइरहेको छ । बाआमाको काखमा बस्न पाउने, खेल्न पाउने, मायाममतामा लाडिन पाउने नैसर्गिक अधिकार नै खोसिएको छ भने अर्कातिर वृद्ध बाआमाको बुढ्यौली जीवन निकै सन्तापमा बितिरहेको छ । आफ्ना सन्तानजति सबै विदेश हुँदा उनीहरूलाई न रातमा निद्रा न दिनमा भोकको अवस्थामा पुर्‍याएको छ । पीडाले छटपटी र बेचैनी थपेको छ ।

वैदेशिक रोजगारले पति र पत्नीको सम्बन्धमा बहुआयामिक समस्या सिर्जना गरेको छ । मानसिक रोगी थपिनु र आत्महत्या गर्नेको संख्या बढ्नुका कारणमध्ये वैदेशिक रोजगारले सिर्जना गरेको समस्यालाई पनि एक कारणका रूपमा लिन सकिन्छ । हिजोआज त अझ व्यापक निराशाका कारण बालबालिकामा समेत मानसिक समस्या बढ्दो छ । बाबा/आमासँग छुट्टिएर नातेदारसँग बस्नुपर्ने बाध्यताले आवश्यकताअनुसार स्कुलिङ नपाउन सक्छन् । यसले उनीहरूको मनोविज्ञानमा नकारात्मक असर पर्न गएको छ ।


अहिले गाउँघरका स्कुलमा विद्यार्थी संख्या कम हुन थालेको छ भने विश्वविद्यालयहरूमा समेत विद्यार्थी घटेका छन् । आजका युवालाई राजनीतिक नेतृत्वप्रति व्यापक निराशा छ । मुलुकमा रोजगारीको अवसर छैन । भएको पुर्ख्यौली सम्पत्तिसमेत बेचेर शैक्षिक योग्यता कमाउँछु, त्यसको उपयोग गरेर सानोतिनो काम गर्छु र स्वदेशमै बस्छु भन्नेलाई समेत काम गर्ने वातावरण छैन । नेतृत्वले कुरा मात्रै गर्छ, काम गर्दैन भाष्य नयाँ पुस्तामा निर्माण भएको छ । प्रौढहरू नेतृत्वकै चाकरी र चाप्लुसी गर्नमा व्यस्त छन् । पढ्दै गरेका युवा अलि सचेत देखिएका छन् । उनीहरूमा प्लस टु सक्नासाथ विदेश जानु नै एकमात्र विकल्प हो भन्ने बुझाइ छ ।

१८ वर्षको उमेरमै हातमा पासपोर्ट लिएर विदेश छिरेका युवा स्थायी रूपमा विदेशी हुने क्रम पनि बढ्दो छ । विकसित मुलुकले हाम्रा उच्च बौद्धिक क्षमता भएका युवालाई विभिन्न माध्यमबाट तानिरहेका छन् । यो भनेको हाम्रो जस्तो विकासोन्मुख मुलुकका लागि मानव पुँजी पलायन हो । आज सूचना र प्रविधिले विश्व नै साझा बजार भएको छ । हरेक देश विश्वव्यापीकरणका लाभ प्राप्त गर्ने वातावरण सिर्जना गर्न तत्पर छन् । यस्तो समयमा रोजगारी वा अध्ययनका लागि विदेश जानै हुन्न भन्ने होइन । तर, उनीहरूले स्वदेशलाई माया मार्ने अवस्था हुनुभएन । मानव पुँजी पलायन हुनु भएन ।

अब हाम्रै मुलुकभित्र प्रचूर मात्रामा रोजगारीका अवसर सिर्जना हुनुपर्छ । विप्रेषणलाई उपभोगमा मात्र खर्च नगरी, यसको निश्चित हिस्सा उत्पादनमुखी क्षेत्रमा लगानी गर्नु जरुरी छ । उत्पादनशील अर्थतन्त्र निर्माणमा राज्यले ध्यान दिन सक्नुपर्छ । यसले खाद्यान्न आयातमा कमी ल्याउँदै घरेलु उत्पादनको वातावरण निर्माण गर्छ । विश्वविद्यालयमा पढ्ने विद्यार्थीलाई विदेशमा जस्तो पढ्दै कमाउँदै गर्ने अवसर सिर्जना गर्नुपर्छ । यसका लागि उच्च राजनीतिक संस्कार भएका नेतृत्वमा र दृढ इच्छाशक्ति चाहिन्छ । अहिलेको जस्तो जुनसुकै नेतृत्व आए तापनि काम केही नगर्ने, कुरा मात्र ठूला गर्ने प्रवृत्तिको पूर्ण रूपमा अन्त्य हुनुपर्छ ।

परिवर्तन र सुधार सानो–सानो कामबाट सुरु गर्नुपर्छ । मुलुकभित्र प्रवाह हुने काम नतिजामुखी हुनुपर्छ । नेतृत्वमा निष्ठाको खडेरी, प्रशासनमा सदाचार र नैतिकताको अभाव हुनुभएन । नेतृत्वले निष्ठाको राजनीति गर्ने अनि प्रशासनले सुशासनमैत्री काम मात्र गर्ने हो भने भ्रष्टाचार क्रमिक रूपमा घट्दै जान्छ । मुलुकमा काम गर्ने वातावरणको निर्माण हुन्छ । युवामा स्वदेशप्रति माया र विश्वास पलाउँछ । गाँस, बासकै लागि बिदेसिनुपर्ने बाध्यतामा कमी आउँछ । राज्यले औपचारिकताका नाममा गर्ने फजुल खर्च कटौती गर्दै निःशुल्क व्यावसायिक शिक्षा र सीपमूलक तालिम सञ्चालन गर्नुपर्छ । यसले रोजगारीको अवसर सिर्जना हुन्छ ।

स्वदेशमा लगानीमैत्री वातावरणको निर्माण गर्नु जरुरी छ । यसले उद्योग, कलकारखानाको निर्माणसँगै रोजगारीको वातावरण सिर्जना हुन्छ । जसबाट विदेश पलायनको अवस्थामा कमी आउँछ । मानव पुँजी निर्माणमा सरकारले ध्यान केन्द्रित गर्नुपर्छ । अनुसन्धान र विकासमा आवश्यक लगानी गरी हरेक व्यक्तिको मानवीय मूल्य बढाउनु आजको आवश्यकता हो । नागरिकलाई बेरोजगार भत्ता होइन, उनीहरूले गर्न सक्ने काम दिएर आधारभूत आवश्यकताको परिपूर्ति गर्न सक्षम बनाउनुपर्छ । यो राज्यको दायित्व हो । आजका नेतृत्वले आम नागरिकको विश्वास जित्ने गरी काम गर्न सक्नुपर्छ । युवालाई स्वास्थ्य, शिक्षा र रोजगारीको ग्यारेन्टी गर्नुपर्छ ।

नेपाल अथाह सम्भावना बोकेको मुलुक हो । भौगोलिक रूपमा सानो देश छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण छ । अझै केही वर्ष निश्चित रूपमा जनसांख्यिक लाभको फाइदा लिन सकिने अवस्था छ । हामी सबैमा कमी भनेको दृढ इच्छाशक्तिको हो । त्यसैले हाम्रा युवालाई विदेश बाध्यताले होइन कि शिक्षा र सीप सिक्नका लागि जाने बनाउनुपर्छ । यसका लागि वैदेशिक रोजगारको उचित व्यवस्थापन गर्ने र विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न जरुरी छ । आर्थिक कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध सबल बनाउन सक्नुपर्छ ।अहिले बन्दै गरेको सोह्रौं योजनाले वैदेशिक रोजगार र विप्रेषणले पारेको नकारात्मक प्रभावको उचित व्यवस्थापन गर्न जरुरी छ ।

Published on: 28 February 2024 | Kantipur

Link

Back to list

;