s

बेल्जियममा जमेका नेपाली

मकवानपुरका सहदेव अधिकारी बेल्जियम आएको डेढ दशक बित्यो । नेपालमा व्यापार व्यवसायका लागि धेरै हन्डर खानुपरेपछि उनी १५ लाख नेपाली रुपैयाँ कमाउन युरोपको 'बफर जोन' मानिने बेल्जियम छिरे, सन् १९९८ मा । पर्यटक भिसाबाट बेल्जियम छिरेका अधिकारीले केही समय लुकेरै काम गरे । नेपालमा माओवादी जनयुद्ध चर्कंदै गएपछि वैधानिक रूपमा काम गर्नका लागि कागज पाउन केही सहज भयो । त्यसपछि उनी यहा मजैले जमे ।  

सात वर्ष जति वेटर नै भएर विदेशीको रेस्टुराँमा काम गरे । त्यहीँबाट सिकेको सीप चोरेर उनी आफैंले लुभेनमा रेस्टुरेन्ट खोले । दुइटा रेस्टुरेन्टबाट सुरु गरेको व्यवसायले अहिले उनको जीवनमै उलटपुलट ल्याएको छ । लुभेनमा चल्तीको एउटा रेस्टुरेन्ट र दक्षिण पूर्व प|mान्सको बोर्डरमा दुइटा टोवाकाको पसल छ । त्यसमध्ये एउटा पसल र रेस्टुरेन्ट ठेक्कामा दिएका छन् भने एउटा उनी आफैं हेर्छन् ।

बेल्जियम भासिएको पन्ध्र वर्षलाई फर्केर हेर्दा उनलाई अहिलेको जीवन भोगाइ एउटा सपनाजस्तो लाग्छ । अहिले उनका सबै परिवार यतै छन् । लुभेनमा आफ्नै घर छ । गाडी छ । एउटा मानिसले जिन्दगीमा देख्ने भौतिक सपना सबै उनीसंँग छन् । मुस्किलले सयजना नेपाली थिए उनी आउँदा । अहिले त्यो संख्या आठ हजार नाघ्दै छ । तैपनि उनलाई यो वैभवले भरिएको सहरमा शान्ति छैन । आफू जन्मेकै ठाउँ फर्केर केही गर्न मन छ । उनी भन्छन्, 'यहाँ कमाउने हो, लगानी त नेपालमै गर्ने हो ।' नेपालमा थुप्रै साझेदारी लगानीमा हात हालेका गौतमले नेपालमा एउटा राम्रो व्यवसाय गर्न खोजी गरिरहेका छन् । 'नेपालमा लगानीमैत्री वातावरण नहुँदा सुरु गर्न अलि ढिलाइ भएको हो,' उनले सुनाए ।  

पुष्पराज अधिकारी युरोपकै स्थापित र पुराना व्यवसायी हुन् । उनलाई पनि अब युरोपमा थप लगानी गर्न मन छैन ।  नेपालमै तारे होटल खोल्ने योजनामा छन् उनी । उनले पोखरामा जग्गा लिई आफ्नो योजना अघि बढाइसकेका छन् ।  

बेल्जियमकै ब्याल्कमवर्गस्थित समुद्र तटछेउका निजामदिन मिया हिजोआज दिनमा खाना पनि राम्ररी खान भ्याउँदैनन् । उखरमाउलो गर्मीले आत्तिएर समुद्री तटमा आउने हजारौं पर्यटक उनका ग्राहक हुन् । त्यहाँ तयारी कपडाका उनका दुइटा पसल  छन् । एउटा आफंैले हेर्छन् । अर्को छोरीले । यो व्यवसायमा हात हालेको पनि झन्डै दशक पुग्न आँट्यो । साउनको मध्यगर्मीतिर भेटिएका उनले भने, 'यहाँ त युरो दुहुने हो । अलि पैसा जम्मा गरेर नेपालमा लगानी गर्छु । यहाँ धेरै समय बस्नु हुँदैन ।' 

बेल्जियम छिर्दा दस/पन्ध्र लाख कमाएर र्फकने योजनामा रहेका उनी अहिले नेपालमा राम्रो व्यवसाय सञ्चालन गर्ने ताकमा छन् । यद्यपि उनको नेपालमा उनले पेट्रोल पम्प र पोट्रोलियम पदार्थको ढुवानीमा लगानी गरिसकेका छन् । 

चितवन मूल घर भएका राजु घिमिरे काठमाडौ उपत्यकामा बाख्रापालन व्यवसायका लागि जग्गा खोज्न लगाइरहेका छन् । जग्गा पाउनासाथ बाख्रा पालन गर्ने र ठूलो परिणाममा मासु उत्पादन गर्ने उनको योजना छ । जग्गा पाउनासाथ उनी बेल्जियम छाड्ने मनस्थितिमा छन् । तनहुँका पदम गुरुङले सुसी -जापानिज खाना) रेस्टुरेन्टबाट मनग्य कमाएका छन् । त्यसो त सुुसी रेस्टुरेन्टमा बेल्जियममा नेपालीकै कब्जा छ । बेल्जियममा नेपालीका चालीसभन्दा बढी सुसी रेस्टुरेन्ट छन् । पदमका अनुसार यो खाना हाइजेनिक भएकाले बेल्जियमका नागरिक यो मन पराउँछन् । सुसी भनेपछि अहिले नेपालीकै रेस्टुरेन्ट रोजाइमा पर्छ । 'यो हाम्रा लागि गौरवसमेत बनेको छ,' पदमले भने, 'अब नेपालमै गएर यस्तै व्यवसाय सुरु गर्ने विचारमा छु ।' 

सुरुमा नेपालीहरू ह्यान्डिक्राफ्टको व्यवसाय गर्न यहाँ प्रवेश गरेका थिए । तर, त्यो व्यवसाय फस्टाउन सकेन । सन् २००४ देखि नेपालीले रात्रिकालीन पसल सुरु गरे । त्यसले गति लिन थालेपछि रेस्टुरेन्टतिर नेपाली आकषिर्त हुँदै गए । व्यवसायी पदम गुरुङ भन्छन्, 'रेस्टुरेन्टबाट नेपालीले राम्रो कमाएका छन् । यसले गर्दा बेल्जियममा नेपालीहरूको अवस्था राम्रो देखिएको हो ।' बेल्जियमका नेपालीले घरजग्गा व्यवसाय, डिपार्टमेन्ट स्टोर, पसल, रेस्टुरेन्ट, मनी एक्सचेन्ज, साइवरलगायतका व्यवसायमा हात हालेका छन् । 

बेल्जियममा अहिले करिब ८ हजारको संख्यामा नेपाली बस्छन् । यो सानो मुलुकमा गल्लीगल्लीमा नेपाली भेटिन्छन् । दुई सयभन्दा बढी नेपाली आफ्नै व्यवसायमा स्थापित छन् । उनीहरू अधिकांशको चाहना केही पैसा कमाएर नेपालमै लगानी गर्ने देखिन्छ । कतिपयको सपनाचाहिँ काठमाडौंमा घर बनाउने र र्फकने छ । 'नेपालीले धेरै व्यवसाय खोलेका कारण पनि नेपालको संख्या बेल्जियममा बढेको हो,' लुभेनमा रेस्टुरेन्ट चलाएर बसेका इन्द्रपकवान क्षत्री भन्छन्, 'युरोपका अन्य सहरको तुलनामा बेल्जियममा राम्रो आम्दानी छ ।' 

काम गर्नेलाई यहाँ पैसा छ । विकास छ । स्वस्थ वातवरण छ । उच्च तहको प्रशासनिक प्रणाली छ । शिक्षा, स्वास्थ्य निःशुल्कजस्तै छ । तर, अधिकांशले यहीं जीवन बिताउने सोचेका छैनन् । एन्टरपेनमा पेय पदार्थको पसल चलाएका व्यवसायी ओम शर्मा भन्छन्, 'यहाँ कमाउने र आफ्नो देशमा इज्जत, प्रतिष्ठा कमाउन उतै लगानी गर्ने धेरैको सोचाइ छ ।' 

लुभेनमा मनी एक्सचेन्स र साइवर व्यवसाय सञ्चालन गर्दै आएकी जानकी गुरुङको अनुभवमा धेरै प्रवासीहरू सामूहिक लगानीका लागि संगठित पनि भइरहेका छन् । कतिपयले हाइड्रोपावर र बैंकमा लगानी सुरु गरेका छन् । 'यहाँ बसेर जति नै कमाए पनि सामाजिक प्रतिष्ठा पाइँदो रहनेछ,' नेपाल आउन खुट्टा उचालिरहेकी सीता सापकोटा भन्छिन्, 'सबैलाई यहाँ बस्न मन छैन । नेपालको परिस्थिति र वातावरणले पनि बाध्य भएर बस्नुपरेको छ ।' 

बेल्जियमको राजधानी ब्रसेल्सको सेन्ट्रलमा पेय पदार्थको पसल राखेका सुरेन्द्रमान अमात्य काठमाडौंमा वृद्धाश्रम बनाउने योजना बुन्दै छन् । यसका लागि उनले बेल्जियममै रहेका आफन्तहरूसँग समेत सहयोग जुटाइरहेका छन् ।  'यहाँ त बुढेसकालमा बस्ने वृद्धाश्रम छ र ढुक्क छ । तर, नेपालमा छोराछोरीले हेरेनन् भने के गर्ने ?' उनी सुनाउँछन्, 'त्यसैले म बृद्धाश्रम बनाउन काठमाडौं आउँदै छु ।'

 

Published on: 7 September 2013 | Kantipur

Back to list

;