s

बेलबारीका पीडित आन्तरिक शरणार्थी

किशोर बुढाथोकी

गैरदलितको चरम यातना पाएका मोरङको बेलबारी ३ का दलित अगुवा एवं पत्रकार २७ वर्षीय मनोज विश्वकर्मा अहिले विराटनगरमा छन्। गाउँमा बस्न सक्ने अवस्था नभएपछि उनी विराटनगरमा विभिन्न संघ, संस्था र सरकारी निकायमा धाइरहेका छन्। दिनभर न्यायको खोजीमा भौँतारिने मनोज आफूमाथि अन्याय गर्नेलाई कानुनी कठघरामा ल्याउन सबैको सहयोग मागिरहेका छन्।

सोही घटनाबाट पीडित ३० वर्षीय माया सार्की साउन १० गतेदेखि विराटनगरस्थित ओरेक नेपालको संरक्षणमा छिन्। उनी अझैसम्म गाउँ जान सक्ने अवस्था नभएको भन्दै विराटनगरमा रहँदै आएकी हुन्। इन्द्रपुर ३ त्रिवेणीचोकमा दिदी मैयादेवी मिजारलाई आफ्ना आठ वर्षीय छोरा समिर र १२ वर्षीया छोरी सन्ध्यालाई जिम्मा लगाएर विराटनगर आएकी उनी न्यायको पर्खाइमा छन्।

गैरदलितबाट कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेलगायतका चरम यातना पाएका बेलबारीका मनोज र मायालाई अझै गाउँमा बस्न सक्ने वातावरण सिर्जना हुन नसक्दा उनीहरू समस्यामा परेका छन्। पीडितहरू अझै पनि मनोवैज्ञानिक त्रासमा छन्। कुनै बेला पनि थप आक्रमण हुन सक्ने त्रासका कारण गाउँमा बस्न सक्ने अवस्था नभएको पीडितहरूले बताए। आफूमाथि जबरजस्तीको प्रयास भएको भन्दै प्रहरीकोमा उजुरी गर्न गएकी मोरङ बेलबारी ३ की ३० वर्षीया माया सार्की र उनलाई प्रहरीकोमा जान सहयोग गर्ने दलित अगुवा एवं पत्रकार मनोज विश्वकर्मामाथि स्थानीय गाउँलेले गत साउन ७ गते कालोमोसो र जुत्ताको माला लगाएर कुटपिट गर्दै चरम यातना दिएका थिए।

दलित अधिकारकर्मी उमेश विश्वकर्माले पीडितहरूका लागि अझैसम्म पनि गाउँमा ढुक्कसँग बस्न सक्ने अवस्था सिर्जना हुन नसक्दा उनीहरू समस्यामा परेको जानकारी दिए। 

पीडित मनोज विश्वकर्माले स्थानीय केही अगुवाले अझै पनि मिलापत्र गर्न दबाब दिइरहेको बताए। उनले भने, ‘पिडक छुटेर आएपछि तिमीहरूलाई नै समस्यामा पार्छन् भनेर मिलापत्र नगरिए समस्यामा पर्ने भन्दै त्रास देखाउने गरेका छन्।’ स्थानीय श्री प्राथमिक विद्यालयका प्रधानाध्यापक लीलाप्रसाद आचार्यलगायतको समूह पीडितलाई विभिन्न खालका दबाब र तनाव दिन सक्रिय रहेको पीडितको भनाइ छ। ‘आचार्य नेतृत्वको एउटा समूह गाउँमा निक्कै सक्रिय भएर लागेको छ’, पीडित मनोजले भने, ‘सबैलाई दबाब दिने र पीडकका विरुद्ध कारबाही अघि नबढाउन उक्त समूहले सबै सामु आग्रह गरिरहेको छ।’ आचार्यसँग पटकपटक सम्पर्कको प्रयास गरिए पनि उनले फोन उठाएनन्। स्थानीय तुलसा सुब्बाले घटनालाई अघि नबढाउन प्रअ लीलालगायतले आग्रह गर्दै पछि समस्या पर्ने भनेर डर देखाउने तथा पीडकको पक्षमा वकालत गर्ने काम गरिरहेको जानकारी दिइन्। स्थानीय बासिन्दाले मायालाई सहयोग गरेको भन्दै तुलसा माथि पनि कुटपिट गरेका थिए।

मनोजका अनुसार घटनामा एमालेनेता ज्ञानेन्द्र सुवेदी पत्यक्षदर्शी थिए भने पीडक र पीडितबीच प्रहरी कार्यालयमा मिलापत्र गराउने भूमिका एकीकृत माओवादी जिल्लासदस्य प्रताप थापाले निर्वाह गरेका थिए। सुवेदी र थापा दुवैले फोन नउठाएका कारण उनीहरूसँग पनि सम्पर्क हुन सकेन। मनोजले भने, ‘केही मानिसहरूले कहाँ गयो र के गर्दै छ भनेर सोधखोज गर्ने तथा निगरानी गर्न थालेपछि थप आक्रमण हुन सक्ने डरले विराटनगर आएको हुँ।’ ‘गाउँमा ढुक्कसँग हिंड्ने, बस्ने र बोल्ने अवस्था छैन’, उनले भने, ‘जुनसुकै बेला पनि आक्रमण हुन सक्ने डरले गाउँमा बस्न सकिए।’ घटनामा संलग्न १२ जनाविरुद्ध प्रहरीमा उजुरी दिए पनि घटनाका केही दोषीहरू अझैसम्म पक्राउ पर्न नसक्दा समस्या थपिएको मनोजले बताए। ‘घटनालाई ढकाछोप गर्न दोषीको उक्साहटमा बाहिरी मान्छेले चलखेल गर्न थालेका छन्’, उनले भने। आफू सुन व्यवसाय गर्ने तर घटनापछि त्यो व्यवसाय चौपट भएको मनोजले बताए।

अधिकारकर्मी एवं एडभोकेसी फोरमका कार्यक्रम अधिकृत विकास बस्नेतले गाउँमा पीडितमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए। ‘पीडितलाई पुनर्स्थापनाका लागि समस्या भइरहेको छ’, उनले भने। ‘सरकारले दिएको सुरक्षा व्यवस्थाका बीचमा पनि उनीहरूले असुरक्षित महसुस गर्नु दुखद हो’, उनले भने, ‘पीडितलाई सरकारले सुरक्षा दिन्छ भन्ने कुराको विश्वास नै पीडितमा छैन।’

घटनाका कारण पीडितहरू त्यहाँ बस्न सकिरहेको अवस्था नभएको उल्लेख गर्दै बस्नेतले पीडितका परिवारलाई समेत तनाव थपिएको जानकारी दिए। ‘घटनाका कारण पीडितहरूको रोजगार नै खोसिएको छ’, बस्नेतले भने, ‘दैनिक ज्यालादारी र व्यवसाय गर्दै आएका पीडितहरू अहिले मारमा परेका छन्।’ पीडितले घटनामा संलग्न भएकाका विरुद्ध प्रहरीमा दिएको जाहेरीअनुसार संलग्न सञ्जय सुवेदी, राजकुमार प्रसाईं, कवीन्द्र प्रसाईं, राजु बस्नेत, पत्रकार भोजराज बस्नेत र नरेन्द्र बस्नेत अझै पक्राउ पर्न सकेका छैनन्। घटनामा संलग्नमध्ये जीवन भनिने चेतन भेटवाल, उनकी पत्नी सेविका भेटवाल, आमा अम्बिका, काकी चन्द्रकला भेटवाल, दाजु अमित र भाउजू कमलालाई पक्राउ गरेर सार्वजनिक अपराध एेन र जातीय भेदभाव तथा छुवाछूत ऐन २०६८ अनुसार कारबाही प्रक्रिया अघि बढाइसकिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक नवराज कार्कीले बताए। उनले अनुसन्धान सकिनसाथ फायल अदालतमा पेस गरिने जानकारी दिए।

‘घटनामा संलग्न अन्यको खोजीका लागि व्यापक प्रहरी परिचालन गरिरहेको भए पनि उनीहरू फरार रहेका कारण फेला पार्न सकिएको छैन’, प्रनि कार्कीले भने। मोरङ प्रहरीप्रमुख एसपी विश्वराज पोखरेलले घटनालाई प्रहरीले गम्भीर रूपमा लिएर अनुसन्धानको काम अघि बढाइरहेको जानकारी दिए। प्रहरीप्रमुख पोखरेलले प्रहरीले घटनालाई गम्भीर रूपमा लिएको र अनुसन्धान गरिरहेकाले पीडितले कारबाहीको माग राखेर उजुरी दिन छुटाएका तर घटनामा संलग्न रहेकाहरूलाई पनि पक्राउ गरेर कानुनी कारबाही अघि बढाइने जानकारी दिए। पीडितहरूलाई गाउँमा बस्न सक्ने अवस्था सिर्जना गर्न प्रहरीले पहल सुरु गरिसकेको पोखरेलले बताए।

पुनर्जन्म पाएजस्तो लाग्छ

मनोज विश्वकर्मा

साउन ७ गते स्थानीय दलितका लागि कालोदिनकै रूपमा आयो। पीडामा परेकी दलित महिलालाई सहयोग गरेको नाममा त्यहाँका गैरदलितले छलफल गर्न भन्दै बोलाए। छलफल गर्ने भन्दै बोलाएर तँ यो गाउँको नेता, तँ दलित अगुवा, पैसा कमाएर बाठो भएको, मोटरसाइकल चढेर ठूलो भएको भन्दै कालोमोसो दलियो र निर्घात कुटपिट गरियो।

घटना सम्झँदा अझै पनि आङ सिरिंग हुन्छ। एकोहोरो त्यही घटना मात्र सोचिरहन्छु। निदाएको समयमा पनि झसंग हुन्छु र आत्तिन्छु। सपनामा आफूलाई कुटपिट गरेर कालोमोसो दलेको मात्र देख्छु। राति घरमा रहेको कुकुर भुक्दा पनि तर्सिन्छु। घटनादेखि डर लागेर घरबाट हिंड्यो भने परिवारका सदस्यमा रुवाबासी हुन्छ। परिवारका सदस्यले कहीं गए नजान र आफूहरू पनि सँगै जाने भन्ने गरेका छन्। कहीं गएका बेला आफूहरूलाई पनि डर लाग्यो भन्दै बुवा, आमा, दाजु, भाउजू, पत्नीलगायतले त्यतै आउने भन्ने गरेका छन्। परिवारका सबै सदस्य त्यो ठाउँ छाडेर हिँड्नुपर्छ भन्नुहुन्छ तर आफूलाई त्यही ठाउँमा स्थापित भएर केही गर्ने मन छ। घटनापछि परिवारका सदस्यले समेत ठाडो शिर गरेर हिँड्न सकिरहेका छैनन्। परिवारका सदस्यमा मनोजलाई कतै लगेर कुटपिट गरेकी, केही गर्दैछन्कि भन्ने डर कायम नै छ। घटनापछि समस्या थपिएको छ। मार्ने नियोजित षड्यन्त्र बनाएर गरिएको घटनाबाट बाँच्दा पुनर्जन्म पाएजस्तो लागेको छ।

विदेशबाट पतिले पनि घरमा नजानू भन्नुभयो

माया सार्की

साउन ६ गते साँझ काम गर्ने रिजेश होटेलबाट फर्कंदै गर्दा बाटोमा नचिनेको व्यक्तिबाट जबरजस्तीको प्रयास भयो। त्यही घटनाका सम्बन्धमा मनोज भाइलगायतलाई लिएर प्रहरी कार्यालयसम्म पुगियो। जबरजस्ती गर्ने गाउँकै जीवन भेटवालजस्तो लागेपछि प्रहरीमा जीवनका विरुद्ध मौखिक उजुरी गरियो। प्रहरीले जीवनलाई पक्राउ गरेर ल्यायो तर छलफलका क्रममा जीवन दोषी नभएको पाइएपछि प्रहरीले छाड्यो। त्यो घटनाका सम्बन्धमा छलफल गर्ने भन्दै साउन ७ गते स्थानीय करमडाँडामा भेला डाकियो। भेलामा सहभागीले कहिल्यै पनि नजाने खालको दाग लगाउने र सामाजिक बेइज्जत गर्ने काम गरेको भन्दै कालोमोसो दल्ने र जुत्ताको माला लगाउने काम गरे। 

उक्त घटनालाई अझै पनि भुल्ल सकिएको छैन र भुल्न सक्ने अवस्था पनि आएको छैन। छोराछोरी दिदीका भरमा छाडेर आएको छु। उनीहरू के गर्दैछन् भन्ने थाहासमेत छैन। घटना सम्झँदा लड्न खोज्छु। पति योगेश तीन वर्षदेखि कतारमा हुनुहुन्छ। घटनालाई लिएर उहाँसँग बारम्बार कुरा भइरहन्छ। गाउँमा एकदम समस्या रहेकाले गाउँ नजान उहाँले पनि सुझाव दिनुहुन्छ। फेरि आक्रमण हुन सक्ने सम्भावना बढेर गएको छ। आक्रमण हुन सक्ने डरले गाउँ जान सकेकी छुइनँ। गाउँ जाने वातावरण र न्यायको पर्खाइमा भौतारिँदाभौतारिँदै समय धेरै बितिसक्यो। यो घटनामा संलग्न सबैले कारबाही भोग्नुपर्छ भनेर लागेकी छु।

Published on: 10 August 2013 | Annapurna Post 

Back to list

;