s
कान्तिपुर संवाददाता
लन्डन — लकडाउनका कारण बेलायतमा रोकिएका नेपालीहरुको यही २४ र जुन २६ मा उद्धार गरिने भएको छ । नेपाली दूतावास लन्डनले आउँदो बुधबार र शुक्रबार दिउँसो २ बजेर ५० मिनेटमा लन्डन ग्याटविक विमानस्थलबाट चार्टर विमान छुट्ने जानकारी दिएको हो ।
दूतावासका प्रवक्ता शरदराज आरनले जजिरा एअरलाइन्सका दुई ए ३२० एअरबसमार्फत बेलायतमा रोकिएका नेपालीमध्ये एक उडानमा १५८ का दरले स्वदेश फर्किने बताए ।
विमान कुवेत ट्रान्जिटमा करिब डेढ घन्टा रोकिए पनि यात्रुहरु बाहिर जान पाउने छैनन् । अर्को दिन बिहान ९ बजेर १० मिनेटमा उडान काठमाडौंमा अवतरण हुने बताइएको छ । करिब ३ महिना बेलायतको साउथ ह्याम्पटन बन्दरगाहमा रोकिइरहेका हर्क बोहोराले नेपाल जाने खबरले आफू उत्साहित भएको बताए । यसअघि लन्डन दूतावासले स्वदेश फर्किन चाहने ४ सय २० जना नेपालीको विवरण नेपाल सरकारलाई पठाएको थियो ।
भिसा समाप्त भएका, रोजगारी गुमाएर बिचल्ली परेका, अध्ययनका क्रममा आएर हाल पूरा गर्न असमर्थ रहेका, तालिमका लागि आएका सरकारी कर्मचारी, सेना, चिकित्सक र अन्य कर्मचारी एवं पारिवारिक तथा अन्य कारणले फर्किनुपर्ने सूचीमा छन् ।
यी उडानमा जान कोरोना नेगेटिभ रहेको पीसीआर रिपोर्ट, करिब साढे ११ सय डलर भाडा, नेपाल पुगेपछि १४ दिन अनिवार्य क्वारेन्टिन लगायतका सर्त छन्।
Published on: 18 June 2020 | Kantipur
GET IN TOUCH