s

बेलायतमा ज्यान गुमाएका विद्यार्थीका परिवारलाई राहत

सन्तोष पोखरेल

अध्ययनका लागि बेलायत पुगेका एक नेपाली विद्यार्थीको मृत्यु भएपछि उनको परिवारका लागि १८ लाख रुपैयाँ बढि राहत जुटेको छ। मृतकका परिवारका लागि राहतस्वरुप संकलित १८ लाख एक हजार रुपैयाँ शनिबार हस्तान्तरण गरिएको छ। 
बेलायतको साउथ लण्डन कलेजमा विजनेश म्यानेजमेन्टको स्नातकोत्तर तहमा अध्ययनरत पर्वत माझफाँट-७, मल्लाजका २१ वर्षिय अमित बरुवालको गत असार ५ गते समुन्द्रमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गएको थियो। उनी अध्ययनरत कलेज सहित सहपाठि, बेलायतबासी नेपाली, गैरआवासीय नेपाली लगायतले राहत रकम संकलन गरेका थिए।
उक्त रकममध्ये ४ लाख ५ सय रुपैयाँ कलेज र सहपाठि तथा १४ लाख ५ सय रुपैयाँ बेलायतबासी नेपालीले जुटाएका थिए। सबैगरि संकलित १८ लाख एक हजार रुपैयाँ मृतकका बुबा सुरतबहादुर बरुवाललाई कजेलका प्रवन्ध निर्देशक राजन कँडेलले शनिबार हस्तान्तरण गरे। 
अढाई वर्षअघि बेलायत पुगेका बरुवाल बिदा मनाउने क्रममा साथीहरुसँग समुन्द्रमा पौडी खेल्न पुगेका थिए। समुन्द्रको छालले बगाएपछि उनको ज्यान गएको बुबा सुरतबहादुरले बताए। समुन्द्री छालमा डुबेका उनको तीनघण्टापछि शव फेला परेको थियो।
सानैदेखि पढ्न शिपालु छोराको ज्यान गएपछि परिवारमा बिचल्ली भएको उनले बताए। 'करिब १२ लाख रुपैयाँ ऋण खोजेर पढ्न गएको छोराको ज्यान गएपछि हामीलाई ठुलो समस्या परेको थियो' उनले भने, यसै छोराको आश थियो, त्यहिपनि गयो। अझैसम्म ऋण तिरेर सकिएको छैन, राहत रकमले त्यो ऋण तिर्ने हो।'
सानैदेखि मिलनसार बरुवाल परिवारका जेठा छोरा हुन्। उनको आमाको ४ वर्षअघि नै मृत्यु भईसकेको छ। भाई अजित म्याग्दी बहुमुखि क्याम्पमा स्नातक तहमा अध्ययनरत छन्। अमितले पनि त्यहि कलेजमा अध्ययन गरेका थिए। 'आमाको मृत्यु भएदेखि नै उसले भविश्यको बारेमा बढि चिन्ता गर्न थालेको थियो, आफ्नै पहलमा बेलायत जाने समेत मेसो मिलाएको हो' उनले भने, 'तर उतै ज्यान गुमाउनुपर्योस।'
समुन्द्रमा जानुअघि आफुलाई फोन गरेर साथीहरुसँग पौडी खेल्न जान लागेको भन्दै सुनाएको उनले सम्भि्कए। 'राम्रोसँग पौडी खेल्न नजानेको मैले समुन्द्रमा नजान समेत भनेको थिए, तर मानेन, यस्तो हुन लेखेको रहेछ' उनले भने। उनी बेलायत गएदेखि अहिलेसम्म घर फर्केका थिएनन्। आगामी माघमा घर फर्कने तयारी थियो।
मामा डम्मरबहादुर घर्तिक्षेत्रीका अनुसार परिवारको आर्थिक अवस्था कमजोर भएकैले उनको शव नेपाल ल्याउन समेत सकिएको थिएन। घरसम्म शव ल्याउनका लागि मात्रै ८/१० लाख रुपैयाँ लागत पर्ने भनेपछि परिवारले आँट गर्न नसकेको क्षेत्रीले बताए। 
'त्यत्तिधेरै पैसा खर्चेर घरसम्म शव ल्याउने हैसियत परिवारसँग थिएन' उनले भने, 'त्यसैले बेलायतबासी नेपाली र केहि आफन्तमार्फत आफ्नै परम्पराअनुसार उतै दाहसंस्कार गर्न लगाईयो।' हामीले मृत शरिर पनि देख्न पाएनौ' उनले भने।
नेपाली नागरिकद्वारा सञ्चालित कलेजमा अध्ययन गरेकोले नै यति धेरै राहत जुटाउन सकेको कँडेलले बताए। 'विदेशीद्वारा संचालित कलेजमा पढेको भए त्यत्ति धेरै रकम जुटाउन गाह्रो हुने थियो' उनले भने, 'एकजना विद्यार्थीको लागि यत्रो राहत जुट्नु निकै ठुलो कुरा हो।'
 
Published on: 19 August 2012 | Republica

Back to list

;