s

बेलायतमा विदेशी विद्यार्थीलाई थप कडाइ

बेलायत सरकारले युरोपेली बाहेकका विदेशी विद्यार्थीलाई घर पठाउन नयाँ योजना ल्याउने तयारी गरेको छ । गृहमन्त्री टेरेसा मेको प्रस्तावमा ग्रयाजुएट गरिसकेका विद्यार्थीलाई कोर्स सकिएपछि स्वदेश जान बाध्य पार्ने नीति ल्याउन लागिएको मेको भनाइ उद्धृत गर्दै दी सन्डे टाइम्सले जनाएको छ । 

बेलायतमै बस्न चाहने विद्यार्थीले ग्रयाजुएसन गरिसकेपछि स्वदेश फर्केर पुन: वर्क भिसाका लागि निवेदन दिनुपर्ने नियम ल्याउने सरकारको योजना छ । कन्जर्भेटिभ सरकारले विद्यार्थी भिसामा आउनेहरूलाई घर पठाएर शून्यमा झार्न चाहेको गृहमन्त्री मेलाई उद्धृत गर्दै पत्रिकाले उल्लेख गरेको छ । 

प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो दल टोरी (कन्जरभेटिभ) ले मात्र अध्यागमनमा डिल गर्न सक्ने जिकिर गरेलगत्तै मेको योजना सार्वजनिक भएको हो । बेलायती अखबार डेली एक्सप्रेसमा लेख प्रकाशित गर्दै प्रधानमन्त्री क्यामरुनले हाल प्रतिपक्षी लेबोर प्रशासनले सरकारको नेतृत्व गर्दा आप्रवासी समस्या निम्त्याएको टिप्पणी गरेका थिए । उक्त अखबारले कन्जरभेटिभ पार्टीको आगामी घोषणापत्रमै यससम्बन्धी नीति ल्याउने योजना समावेश गर्न मेले दबाब दिइरहेको उल्लेख गरेको छ । उनले कलेज वा विश्वविद्यालयलाई विद्यार्थी स्पोन्सर गर्दा अध्ययन सकिएलगत्तै फर्कने परिस्थिति सिर्जना गरिदिऊन् भन्ने पनि चाहेकी छन् । 

हाल विद्यार्थीले अध्ययन सकिएलगत्तै बेलायतबाटै सजिलै वर्क परमिटमा भिसा परिवर्तन गर्न सक्छन् । विद्यार्थीलाई आप्रवासी संख्याभित्र राखेर नियन्त्रण गर्ने सवालमा गृहमन्त्री र सरकारको अर्को सहयात्री दल लिव्डेमबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री भिन्स् केवलबीच मतभिन्नता छ । अर्थमन्त्री केवल थप कडा नियमको विपक्षमा भएको बताइएको छ । सरकारको एउटा घटक लिब्डेमका एक वरिष्ठ नेताले भने गृहमन्त्री मेको योजनाले अर्थतन्त्रमात्र होइन, बेलायत उच्च दक्ष ग्रयाजुएट्सबाट समेत वञ्चित हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

Published on: 23 December 2014 | Kantipur

Back to list

;