s

बेलायतमा नेपाली सेफ अभाव

नवीन पोखरेल

बेलायतमा पाँच रेस्टुरेन्ट सञ्चालन गरिरहेका मिलन भट्टराईको चिन्ता अहिले व्यापार घटबढले होइन, योग्य सेफ नभेटिएर बढेको छ । व्यवसायभन्दा सेफको खोजीमा रातदिन भौंतारिरहँदा आजित भइसके उनी ।'

अहिले मेरो फुलटाइम कामै सेफ खोज्ने भएको छ,' उनले गुनासो गरे, 'बेलायत सरकारको कडाइले दुई वर्षयता बाहिरबाट 'वर्क परमिट' लिएर सेफ आउन छाडेपछि साह्रै अप्ठेरो परेको छ ।' आफैं सेफ रहेका भट्टराईले रेस्टुरेन्टको दशक लामो अनुभवमा पहिलो पटक यस्तो समस्या भोगेका हुन् । 'कुनै जमाना जागिर दिनै नसकिने गरी मान्छे ओइरिन्थे, अहिले भेट्नै मुस्किल,' उनले सुनाए, 'यस्तो अवस्थाले भविष्यमा व्यवसाय विस्तार गर्न झन् समस्या हुने देखेको छु ।'

लन्डनबाट अलिक टाढा केन्टमा सात वर्षदेखि 'स्वान होटल एन्ड रेस्टुरेन्ट' चलाइरहेका बल रायमाझीले सुरुमा नेपालबाट तीन जना सेफ स्पोन्सर गरेर ल्याएका थिए । आवासीय अधिकार (चल्तीको भाषामा फ्री) भएपछि उनीहरू सबैले काम छाडे । अहिले एक वर्षजति भए छ रायमाझी गतिलो सेफको खोजीमा भौंतारिरहेको । 'पटक पटक सिकारु सेफ ल्याएँ तर राम्रो गर्नै सकेनन्,' उनले गुनासो गरे, 'नयाँ सेफ फेरिरहँदा खानाको स्वाद फरक भएर ग्राहकसमेत घटेका छन् ।' लन्डनबाट अलिक अपायक ठाउँ र आर्थिक मन्दी उनको व्यापार खस्कनुका अरू कारण छन् । समस्या अरू कयौं व्यवसायीको पनि छ । लन्डन नर्थफिल्डस्थित काठमाडौं नेपलिज क्युसिनका सञ्चालक सुरेन्द्रप्रसाद श्रेष्ठ गत सेप्टेम्बरमा रेस्टुरेन्ट खोलेदेखि योग्य सेफको खोजीमा भौंतारिइरहे । रेस्टुरेन्ट छिर्ने ग्राहक हुन् वा साथी भाइ । उनको एउटा अनुनय आइहाल्छ, 'राम्रो सेफ पाए खबर गरिदिनुहोला ।' नेपाली खाना बनाउन नेपाली सेफ उपयुक्त हुने देखेका श्रेष्ठ यो अभावले व्यापारसमेत प्रभावित भएको सुनाउँछन् । वर्क परमिटमा छिरेर आवासीय अधिकार लिइसकेका नेपाली सेफहरू सजिलो र बढी पैसा आउने सेक्युरिटी जागिरतिर आकषिर्त हुँदा समस्या अरू बढेको श्रेष्ठ औंल्याउँछन् । रेस्टुरेन्ट क्षेत्रमा तीन दशक समय बिताइसकेका लुम्बिनी नेपलिज रेस्टुरेन्टका मालिक केदार जोशी अर्को सातासम्म तन्दुरी सेफ नभेटिए व्यापार चौप्ट हुने चिन्तामा छन् । 'यो महिनाको अन्तिमतिर दुई जना भाइ नेपाल र्फकंदै छन्, फेरि जनशक्ति खाँचो पर्ने निश्चित छ,' उनले सुनाए । बेलाबेला सेफ अभावले आफ््नै भतिजलाई काम लगाउनुपरेको बाध्यता उनीसँग छ । नेपलिज सेफ एसोसिएसन यूकेलाई सेफ अभावबारे बारम्बार गुनासो आइरहेको छ । एसोसिएसनका अध्यक्ष कृष्ण तिमिल्सिनाले नेेपाली रेस्टुरेन्टहरू व्यापार मन्दीबाहेक सेफ अभावले समेत गुजि्ररहेको बताए । 'देखभेटमा धेरै साथीहरू सेफ नपाएकै गुनासो गर्छन्,' तिमिल्सिनाले भने, 'एसोसिएसनले सकेसम्म समाधानका लागि समन्वय गरिरहेको छ ।'

उनका भनाइमा बेलायतमा करिब दुई हजार नेपाली सेफ छन् । एसोसिएसनमा दर्ता हुने सदस्य संख्या सात सय हाराहारी छ ।   बेलायत सरकारले चाहेजस्तो उच्च दक्ष कामदार झिकाउनुको सट्टा रेस्टुरेन्ट मालिकहरूले मोटो रकम लिएर वर्क परमिटमा धमाधम काम चलाउ मान्छे भित्र्याउन थालेपछि सरकारले यसको दुरुपयोग रोक्न टियर टु भिसा कडाइ गरिदिएको सोलिसिटर राजु थापा बताउँछन् । 'अन्यत्र देशबाट सेफ झिकाउने प्रक्रिया जटिल बनाउनु अनि वर्क परमिटमा रहेका सेफहरू आवासीय अधिकार पाएपछि आफ््नै व्यापार व्यवसाय वा अरू राम्रो जागिरतिर लाग्दा समस्या आइपरेको हो,' थापाको भनाइ छ । भर्खर काम सिकेका विद्यार्थीसमेत अध्यागमन नियम कडाइले बिस्तारै स्वदेश र्फकंदा समस्या अरू थपिएको धेरैको ठम्याइ छ । नेपलिज क्याटरिङ एसोसिएसन यूके अध्यक्ष विजय थापाको भनाइमा बेलायतमा नेपालीले खोलेका रेस्टुरेन्ट संख्या करिब अढाई सय छ । तीमध्ये धेरैलाई जनशक्ति अभाव छ । बढ्दो आर्थिक मन्दीले तिनको व्यापारसमेत घटिरहेको छ । 'परिवारिक व्यवसायबाहेक अधिकांशमा सोचेजस्तो व्यापार छैन,' आफैं रेस्टुरेन्ट सञ्चालक थापाले भने, 'घाटाबीच विद्यार्थी पनि फर्किने क्रम बढेपछि व्यवसाय चलाउनै मुस्किल पर्‍यो ।' थापाका अनुसार नेपालीले बेलायतमा रेस्टुरेन्टमा मात्र करिब ६ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका छन्। एउटा रेस्टुरेन्ट खोल्न करिब १ लाख ५० हजारदेखि २ लाख पाउन्डसम्म लाग्ने थापाको भनाइ छ ।

किन पाइएनन् सेफ ?

कडा परिश्रम गर्नुपर्ने पेसामा सुविधा र तलब पर्याप्त नपाएर सेफ अभाव भएको कतिपयको विश्लेषण छ । व्यवसायी भने यो कुरा मान्दैनन्। यतिखेर १ सय २० जनालाई काम दिइरहेको बताउने भट्टराईले तलब वा सेवा सुविधा कम भएर जनशक्ति अभाव भएको स्विकारेनन् । 'पैसा कमभन्दा पनि क्याटरिङ पृष्ठभूमिबाटै माथि आएका धेरैजसोले आफैं व्यवसाय गर्ने सोचले छोडेका देखिन्छ,' उनले भने । जोशीको पनि समान तर्क छ । 'मैले बेलायत सरकारले तोकेबमोजिम ज्याला, खान बस्नदेखि बोनससमेत दिने गरेको छु,' उनले दाबी गरे, 'बरु नयाँ पुस्ता क्याटरिङभन्दा अरू राम्रो पेसातिर आकषिर्त भएकाले समस्या थपिएको हुन सक्छ ।' तिमिल्सिनाले रेस्टुरेन्टको साइज, व्यापार र सेफको अनुभवका आधारमा एउटा सेफले सातामा ४ सयदेखि १ हजार पाउन्डसम्म पारिश्रमिक लिने गरेको बताउँदै माग बढेपछि कतिपय सेफ धेरै दिने कम्पनीतिर लागेको जनाए । 

Published on: 14 May 2013 | Kantipur

Back to list

;