s

बेलायतमा भूटानी शरणार्थीः सुकिलो जीवन

गोपाल गडतौला

भान्सामै अटुट रूपमा तातो–चिसो पानी आउने धारा। नुहाउन टब। लुगा धुन वाशिङ मेशीन। खाना र फलफूलले भरिभराउ रेफ्रिजेरेटर। विशाल टेलिभिजन स्त्रि्कन अगाडि बाक्ला सोफा–सेट। घरलाई मौसम अनुसार न्यानो र चिसो पार्ने उपकरण। आएको पाँच वर्ष पुग्नै लाग्यो, झिमिक्क बिजुली गएको थाहा छैन। परिवारका सदस्यलाई अलग–अलग कोठा पुग्ने तीनतले घर। आँगनमा निजी मोटर। बेलायतको म्यानचेस्टर शहरमा पर्ने अस्टर्नका प्रेम गिरीको निवास हो, यो।

४२ वर्षीय गिरीलाई बरु सेफिल्ड युनिभर्सिटीबाट एकाउन्टिङ एन्ड फाइनान्सिङमा स्नातकोत्तर सकेपछि ड्राइभिङ्ग लाइसेन्स लिन निकै गाह्रो भयो। अब उनको लागि जागीरको संभावना पनि फराकिलो भएको छ। अहिले उनी एउटा कम्पनीको लागि शेयर बजारको उतारचढाव हेरेर लगानी जोखिम विश्लेषण गरिदिने काम गरिरहेका छन्। “धन्न आइएछ”, हिमाल सँग गिरीले भने, “नेपालको शिविरमा १९ वर्ष बिताएको शरणार्थी जीवनसँग यहाँको अवस्था तुलना हुनै सक्दैन।”

दक्षिणी भूटानको साम्ची जिल्ला अन्तर्गत सिब्सु ब्लकमा पुर्ख्यौली थलोकिलो भएका गिरी सन् १९९० ताका सरकारी दमनमा परेर जन्मभूमिबाट बाहिरिएका एक लाखभन्दा बढी नेपाली भाषी भूटानीमध्येका एक हुन्। नेपालस्थित राष्ट्रसंघीय शरणार्थी शिविरमा करीब दुईदशक बिताउँदा गिरीले आधापेट खाएर, ट्युसन पढाएर पनि वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका थिए, जसले उनलाई बेलायतको युनिभर्सिटीबाट डिग्री लिन सजिलो भयो। उनकी श्रीमती सावित्राको दिन चाहिं एकवर्षकी कान्छी छोरी प्रियासा र घरको हेरचाहमा बितिरहेको छ। गिरी दम्पतीका तीन छोरी छन्।

सबै खुशी

गिरी दम्पतीका निकट छिमेकी पण्डित तारा निरौला (४६) को परिवार पनि बेलायतमा निकै सन्तुष्ट जीवन बिताइरहेको छ। उनको जजमानी पेशा मज्जाले मौलाएको छ। न्वारान, तिथि–श्राद्ध र अरू पूजाआजाका लागि उनी म्यानचेस्टरभरका एक्ला पण्डित हुन्। पूर्वी मोरङको शनिश्चरे शरणार्थी सेक्टर–ए ३ मा २० वर्ष बिताएको पण्डित निरौलाको पाँच जनाको परिवार बेलायतमा अभ्यस्त बनिसकेको छ। “यहाँका नेपाली र भारतीय हिन्दूसँग घुलमिल हुन समय लागेन”, पण्डित निरौलाले भने।

गिरी र निरौलाको घरदेखि पाँच मिनेटको पैदल दुरीमा जुनाकुमार राई (३७) को घर छ, जो अहिले भाषा सिकिरहेका छन्। कामको लागि तीन चार ठाउँमा उनको निवेदन पुगेको छ। परिवारका चार सदस्यसहित उनी बेलडाँगी शरणार्थी शिविरको सेक्टर–एफ ३ को ६९ नम्बरको छाप्रोबाट अस्टर्न पुनर्वास भएको डेढ वर्ष पुग्नै लाग्यो। काम नपाउन्जेल सरकारले राईको परिवारलाई जनही मासिक २१२ पाउण्ड भत्ता दिइरहेको छ। “केटाकेटीहरूको पढाइ निःशुल्क छ”, राईले भने, “यहाँ ८० पाउण्डले एकजनालाई महीनाभर राम्ररी खान पुग्छ।”

यसैगरी, अस्टर्नबाट २० मिनेटको मोटर यात्रापछि पुगिने रोस्डेलको फकल्याण्ड स्ट्रिटस्थित १७ नम्बर घर गंगाबहादुर बुढाथोकी (५५) को हो। बुढाथोकी परिवारमा ६ सदस्य छन्। डेढ वर्षअघि कपडा कारखानामा काम पाएका माइला छोरा अमित (२५) ले कार पनि जोडिसके। परिवारका अरूले भत्ताबाटै ल्यापटप र ग्याजेट किनेका छन्। २८ असार दिउँसो गंगाबहादुर र श्रीमती पवित्रा बुढाथोकी करेसाबारीमा सागसब्जी गोडिरहेका थिए। “समर सिजन परेर भाषा कक्षामा विदा भएकोले अहिले पूरा फुर्सदमा छौं”, बुढाथोकीले भने।

वासिङ्गटन रोडमा अर्का भूटानी शरणार्थी कमलकुमार गुरुङ (३६) ले २९१ नम्बरको चार बेडरुमवाला घर पाएका छन्। तीन वर्षअघि बेलायत पुनर्वास भएको चार सदस्यीय गुरुङ परिवारका मूली कमलकुमारले खाद्य उद्योगमा काम पाएका छन्। उनको दैनिक कमाइ ५१ पाउण्ड छ र मासिक तीन/चार दिन ओभरटाइम पाउँछन्। मासिक साढे चारसय पाउण्ड घरभाडा तिरेर बाँकी रहेको कमाइले परिवारको खर्च सहजै धानिन्छ। कमल भन्छन्, “सुकिलो भइएको छ, मिठोमसिनो खाइएको छ।”

भूटानी शरणार्थीलाई स्वदेश फर्काउन नेपाल र भूटान सरकारबीचको १५औं वार्ता पनि असफल भएपछि सन् २००८ देखि अमेरिका र यूरोप पुनर्वास गर्न थालिएको थियो। नेपालबाट स्वेच्छिक पुनर्वास भएका ९१ हजार २२४ हजार भूटानी शरणार्थीमध्ये ७७ हजार १२१ अमेरिका, ५ हजार ९४० क्यानडा, ५ हजार १९० अष्ट्रेलिया, ८७१ न्युजिल्याण्ड, ८६८ डेनमार्क, ५५० नर्वे, ३२६ नेदरल्याण्ड र ६० परिवारका ३५८ जना बेलायतको म्यानचेस्टरका विभिन्न ठाउँमा छन्।

भूटानी शरणार्थी

जम्मा पूनर्वास संख्याः ९१,२२४

अमेरिकाः ७७,१२१

क्यानडाः ५९४०

अष्ट्रेलियाः ५१९०

न्युजिल्याण्डः ८७१

डेनमार्कः ८६८

नर्वेः ५५०

नेदरल्याण्डः ३२६

बेलायतः ३५८

Published on: 8 August 2014 | Himal Khabarpatrika

Back to list

;