s

बेलायतमा १०० जना नेपाली नर्स लैजान आवेदन खुल्ला

काठमाडौँ — सरकारी प्रक्रियामार्फत बेलायत जान इच्छुक नेपाली नर्सको भर्ना प्रक्रिया बिहीबारबाट सुरु भएको छ । नेपाल र बेलायतले तोकेको मापदण्ड पुगेको नेपाली नर्सका लागि बिहीबार (२० जुलाई) देखि आवेदन दिन पाउने बाटो खुलेको हो । पहिलो चरणमा सय जना नर्सलाई लैजाने सहमति भएको छ ।

नेपाल र बेलायतबीच सरकारी संयन्त्रमार्फत नर्स लैजानका लागि २२ अगस्ट २०२२ मा श्रम सम्झौता भएको थियो । यो श्रम सम्झौतालाई कार्यान्वयन गर्न प्रोटोकलमा सहमति भएपछि नर्स लैजाने प्रक्रियालाई कार्यान्वयनमा ल्याएको हो । इच्छुक नर्सले वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ । १९ अक्टोबर २०२३ सम्म आवेदन दिन पाइनेछ ।

नेपाल नर्सिङ काउन्सिलमा दर्ता भई दुई वर्षको अनुभव भएका २० देखि ४५ वर्ष उमेरका नर्सहरू भर्ना प्रक्रियामा सहभागी हुन पाउनेछन् । भर्ना प्रक्रियामा स्टाफ नर्स, बीएन, बीएससी नर्सिङ, एमएन सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रतिस्पर्धा गर्नका लागि अंग्रेजी भाषा परीक्षा आईईएलटीएसमा औसत ७ र ओईटीमा ‘बी’ अंक ल्याएको हुनुपर्नेछ । छनोट भएर गएका सहायक स्वास्थ्य हेरचाहकर्मीले बेलायत पुगेको ८ महिनाभित्र स्वास्थ्यसँग सम्बन्धित व्यावहारिक वस्तुपरक परीक्षा (ओएससीई) उत्तीर्ण हुनुपर्नेछ । यसका लागि उनीहरुलाई तीनपटकसम्म परीक्षामा सामेल हुने मौका दिइनेछ ।

बेलायतमा जाने नेपाली नर्सले मासिक ४ लाख नेपाली रुपैयाँसम्म पारिश्रमिक पाउने भएका छन् । बेलायतको कानुनअनुसार लाइसेन्स लिएपछि नेपाली नर्सले वार्षिक ४८ लाख रुपैयाँ (२७ हजारदेखि ३२ हजार पाउन्ड) सम्म तलब पाउने सुविधा छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायतको ‘नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएचएस)’ मा दर्ता भएपछि मात्रै यो तलब सुविधा पाउनेछन् । नेपालबाट भर्ना भएर जानेबित्तिकै भने यो सुविधा पाउनेछैनन् । सहायक स्वास्थ्यकर्मीको रुपमा छनोट भएपछि बेलायतको नर्सिङ काउन्सिलबाट पास भएपछि मात्रै दर्तावाला (लाइसेन्स) नर्सको दर्जा पाइने श्रम मन्त्रालयले जनाएको छ । लाइसेन्स प्राप्त नर्सले तलबबाहेक एनएचएसको पेन्सन सुविधा पनि पाउनेछन् । त्यस्तै नर्स र आश्रित परिवारका सदस्यलाई सार्वजनिक स्वास्थ्य सेवामा पहुँच हुनुका साथै साथै नर्सका ४ देखि १८ वर्षसम्मका सन्तानका लागि निःशुल्क शिक्षासमेत उपलब्ध हुनेछ ।

दर्तावाला नर्सले सीप र क्षमताको आधारमा ३ वर्ष वा त्यो भन्दा बढी अवधि काम गर्न पाउनेछन् । सम्झौताअनुसार आईएलटीएस र ओईटी, भिसा र टिकटमा लाग्ने खर्चको रकम बेलायत सरकारले शोधभर्ना गर्नेछ । त्यस्तै बेलायतको एनएमसीमा दर्ता हुनका लागि लाग्ने खर्चको पनि शोधभर्ना हुनेछ । छनोट हुने नेपाली नर्सले वैदेशिक रोजगार कल्याणकारी कोषको शुल्क मात्र बेहोर्नुपर्नेछ । ब्रिटिस काउन्सिल नेपालले आईएलटीएसको पेपर परीक्षा विराटनगर, विर्तामोड, बुटवल, चितवन, काठमाडौं र पोखराबाट लिने व्यवस्था गरेको छ । आईएलटीएसको कम्प्युटर परीक्षा भने काठमाडौंबाट मात्रै दिन मिल्ने व्यवस्था छ । त्यस्तै ओईटीको पेपर परीक्षा भने युनिभर्सल ल्याङग्वेज एन्ड कम्युटर इन्स्टिच्युट, काठमाडौं र चितवन मेडिकल कलेज, भरतपुरमा हुनेछ । ओईटी कम्प्युटर परीक्षा भने फुलब्राइट कमिसन, काठमाडौंमा हुने व्यवस्था मिलाइएको छ । यसका लागि ३५ हजार रुपैयाँ लाग्नेछ । यो रकम छनोट भएर जानेको मात्रै शोधभर्ना हुन्छ ।

Published on: 24 July 2023 | Kantipur

Link

Back to list

;