s

बेलायतले अदक्ष कामदारलाई भिसा नदिने

नयाा आप्रवासन प्रणालीअन्तर्गत बेलायतमा काम गर्न चाहनेले कम्तीमा ७० अंक ल्याउनुपर्नेछ

लन्डन (एजेन्सी)– बेलायत सरकारले आप्रवसनबारे नयाँ योजना सार्वजनिक गर्दै न्यून दक्षता भएका कामदारलाई भिसा नदिने जनाएको छ ।
नयाँ योजनामा बेलायतका रोजगारदातालाई सस्तो श्रममा आश्रित नहुन भनिएको छ । ‘आफ्ना कर्मचारीलाई लामो समयसम्म काममा टिकाइराख्न आवश्यक लगानी गर्न तथा स्वचालित प्रविधि विकसित गर्न आवश्यक छ,’ गृह मन्त्रालयले भनेको छ ।

युरोपेली संघबाट बाहिरिएसँगै खुला आवतजावतको व्यवस्था अन्त्य भइसकेको उल्लेख गर्दै बेलायतले युरोप र अन्यत्रका नागरिकलाई समान व्यवहार गरिने मन्त्रालयले जनाएको छ । प्रतिपक्षी लेबर पार्टीले भने सरकारको कदमले ‘असहज वातावरण’ निम्ताउने भन्दै कामदारलाई आकर्षण गर्न निकै गाह्रो हुने दाबी गरेको छ ।

लेबर पार्टीका छाया गृहमन्त्री डायन अब्बटले नयाँ नीतिले बेलायतको अर्थतन्त्रमा कस्तो असर पार्न सक्छ भन्ने विस्तृत अध्ययनबिना नै सरकारले योजना अघि सारेको दाबी गरेकी छन् । लिबरल डेमोक्र्याटिककी आन्तरिक मामिलासम्बन्धी प्रवक्ता क्रिस्टिन जार्डिनले सरकारको नीति विदेशी नागरिकप्रति पूर्वाग्रह राखेर ल्याइएको प्रतिक्रिया दिएकी छन् ।

तर गृहमन्त्री प्रीति पटेलले भने ‘नयाँ व्यवस्थाले बेलायतमा प्रतिभाशाली र उत्कृष्ट कामदारहरू आउन सक्ने र बेलायत आउने अदक्ष कामदारको संख्या घट्ने’ दाबी गरेकी बीबीसीले उल्लेख गरेको छ । स्कटिस नेसलन पार्टीले भने सरकारी योजना ‘हास्यास्पद र खतरनाक’ भन्दै आलोचना गरेको छ । आफ्नो देशमा भित्रने आप्रवासीको संख्या नियन्त्रण गर्न चाहेको बेलायतले अस्ट्रेलियाको जस्तो अंक प्रणालीको आप्रवासन व्यवस्था लागू गर्न चाहेको बीबीसीले जनाएको छ । अंकमा आधारित प्रणालीअन्तर्गत बेलायत आउन चाहने विदेशी नागरिक अब अंग्रेजी भाषा राम्रोसँग बोल्न सक्ने हुनुपर्नेछ । साथै, उनीहरूलाई सरकारको स्वीकृति लिएको रोजगारदाताले सीपयुक्त जागिरको प्रस्ताव गर्नुपर्ने जनाइएको छ । उल्लेखित

मापदण्ड पूरा गर्ने विदेशी कामदारले ५० अंकले प्राप्त गर्नेछन् । बेलायतमा काम गर्न कम्तीमा ७० अंक प्राप्त गर्नुपर्नेछ । त्यस्तै उचित दक्षताको तह भएका वा कामदार अभाव भएको सूचीमा रहेका व्यक्तिले थप २० अंक पाउनेछन् । त्यस्तै विभिन्न विषयमा पीएचडी अध्ययन सकेकाहरूलाई पनि २० अंक दिइनेछ ।

हाल बेलायतमा करिब ३५ लाख युरोपेली देशका नागरिकले काम गर्दै आएका छन् । तीमध्ये ३२ लाखले बेलायतमा काम गरिरहन निवेदन दिइएका छन् । नयाँ योजनाअनुसार दक्ष कामदारको सूचीबाट वेटर तथा कृषिसँग सम्बन्धित कामदारलाई हटाइएको छ भने सिकर्मी, डकर्मी तथा बालबालिका हेरचाह गर्नेलाई समावेश गरिएको छ । यद्यपि, सरकारले १० हजार मौसमी कृषि कामदार तथा युवा लक्षित आवतजावत योजनाअन्तर्गत प्रत्येक वर्ष २० हजार युवालाई बेलायत आउन दिने बताएको छ ।

नयाँ योजनाअन्तर्गत कुनै पनि आप्रवासी कामदारले स्थायी रूपमा बेलायतमा बस्न पाउने अनुमति नपाएसम्म अन्य आयसँग सम्बन्धित सरकारी सहुलियत पाउने छैनन् । त्यस्तो अनुमति लिन कामदारलाई कम्तीमा पाँच वर्ष लाग्नेछ ।

गृह मन्त्रालयका अनुसार आप्रवासनसम्बन्धी नयाँ योजना ११ महिने बेक्जिट संक्रमणकालको अन्त्यसँगै सन् २०२१ को जनवरी १ देखि लागू हुनेछ । मन्त्रलयका अनुसार दक्ष कामदारले वार्षिक कम्तीमा २५ हजार ६०० पाउन्ड स्ट्रलिङ तलब पाउनेछन् ।

Published on: 20 February 2020 | Kantipur

Link

Back to list

;