s

बेलायती भिसा छाडेर गाउँको शैक्षिक विकासमा

शिव शर्मा


धेरै गोर्खा सैनिक आवासीय भिसामा बेलायत पुगे । तर, पोखरा रामबजारका पूर्णबहादुर गुरुङको कुरा बैग्लै छ । पाएको सुविधा र पुस्तौंलाई पुग्ने सम्पत्तिका धनी ६५ वषर्ीय उनी ऐस, आराम त्यागेर दुर्गम गाउँको शैक्षिक विकासमा अहोरात्र खटेका छन् । 

सन् १९९२ मा बेलायती सेनाबाट अवकाश पाएपछि उनी निरन्तर दुर्गम गाउँका विद्यालय बनाउन सहयोगीको बन्दै आएका छन् । उनका बेलायती साथीहरूले व्यक्तिगत रूपमा संकलन गरेको रकम नेपाल ल्याएर गाउँका विद्यालय भवन निर्माणमा लगाएका छन् । 

पश्चिमका कास्की, लमजुङ, तनहुू, स्याङ्जा, पर्वतदेखि पुर्वका खोटाङ र ताप्लेजुङका ग्रामीण विद्यालय उनको छनौटमा छन् । उनी आफू भने विपन्नताका कारण पढ्न नसकेका विद्यार्थीलाई आर्थिक सहयोग गर्छन् । बेलायतबाट आउने रकम उनी छुँदै नछोई सहयोगीमार्फत विद्यालय निर्माणका लागि पठाउँछन् । उनको भूमिका स्वयंसेवीको मात्र हुन्छ । 

हालसम्म ६० वटा जीर्ण विद्यालय भवन पक्की बनाउन करोडौं खर्च भइसकेको उनले बताए । विद्यालय भवनसँगै विपन्न, अपांग र एकल गरी ६ हजार  बालबालिकालाई सहयोग दिइसकेका छन् । उनका अनुसार वाषिर्क १० देखि १५ हजारसम्म सहयोग दिने गरेका छन् । आर्थिक रूपमा टाट पल्टिएका विद्यालयलाई माथि उठाउनेदेखि शिक्षकलाई तलब खुवाउनेसम्मको सहयोग उनले गर्दै आएका छन् । शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै ४ वर्षअघि उनलाई राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मान पनि गरिएको थियो । 

पल्टनमै छँदा बेलायती सहकर्मी टम ल्याङरिजसँगको सामिप्यताले उनलाई आफ्नो देशका लागि केही सहयोग प्रेरणा जागेको हो । ल्याङरिजकै पहलमा गाउँका विद्यालयका लागि सहयोग संकलन थालेका हुन् । ३ वर्षअघि ल्याङरिज बितेपछि अहिले उनलाई हार्वाड गि्रनले गुरुङको अभियानमा हातेमालो गरिरहेका छन् । उनका अनुसार सुधार गरिएका ग्रामीण विद्यालयहरू देखेर सहयोगी हात बढ्दै गएका छन् । हरेक १/२ वर्षमा उनी आफैं पनि बेलायत पुगेर विद्यालयका लागि सहयोग जुटाउँछन् । 

अवकाशपछि उनलाई अन्य जागिरका अवसर पनि नआएका होइनन् । 'यतिका वर्ष सैनिक सेवामा बिताइयो फेरि किन उतै जाने भन्ने लाग्यो,' गुरुङले भने, 'स्वदेशमै बसेर शिक्षा क्षेत्रमा सहयोग अभियानमा लागेँ ।' यस अभियानले आत्मसन्तुष्टि दिएको उनले बताए । अवकाश पाएका गोर्खा सैनिकको भीडमा उनी उदाहरण बनेका छन् । 

Published on: 16 February 2014 | Kantipur 

Back to list

;