s

बेलायती पीसीआर रिपोर्टको ढाँचा नेपाल सरकारले तोकेभन्दा फरक भनेर यात्रुलाई सास्ती दिँदै एयरलाइन्स

आइतबार १४ नेपाली विमानस्थलबाट फर्काइए

नवीन पोखरेल

लन्डन — लकडाउनका कारण ६ महिनाभन्दा बढी बेलायतमै रोकिएकी रामेछाप निवासी दलमाया कार्की आइतबार नेपाल फर्कन पाइने आशामा उत्साहित हुँदै हिथ्रो एयरपोर्ट पुगिन् । जब बोर्डिङ पास लिन कतार एयरवेजको काउन्टर पुगिन्, त्यहाँका कर्मचारीले पीसीआर रिपोर्टको ढाँचा नेपाल सरकारले मागे जस्तो भएन भन्दै उडाउन नसक्ने बताए ।

संसारमै प्रतिष्ठित बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले जारी गरेको पीसीआर निगेटिभ रिपोर्ट अस्वीकृत भएपछि छोरा रामकुमार कार्कीले कर्मचारीलाई ‘कन्भिन्स’ गराउन अनेक प्रयत्न गरे तर, सकेनन् ।

‘अब १६ तारिखको टिकट छ भनेका छन् तर, त्यस दिन बिहानै आमाको पीसीआर परीक्षण रिपोर्टको ७२ घण्टाको म्याद सकिन्छ,’ कार्कीले गुनासो गरे, ‘त्यो दिन पनि उड्ने सम्भावना देखेका छैनौं । आफ्नै देश फर्कन पनि यस्तो सास्ती खेप्नु परेको छ ।’

लकडाउनका कारण विगत ९ महिनादेखि बेलायतमै रोकिएकी जेठीसासू भगवती त्रिपाठी पुर्‍याउन गएका युवा व्यवसायी समिर खनाल पनि करिब चार घण्टा हिथ्रो विमानस्थलमा दौडधुप गर्दा पनि उडाउन सफल भएनन् ।

‘राजदूत डा. दुर्गाबहादुर सुवेदीले म नै सरकार हो, म सबै जिम्मेवारी लिन्छु उडाइदिनुभन्दा पनि उनको कुरै सुनेनन्’, खनालले कान्तिपुरसँग भने, ‘एउटा निजी एयरलाइन्सले समेत नेपाल सरकारका प्रतिनिधि राजदूतलाई वास्ता गरेनन् । हामी कति निरीह रहेछौं भन्ने फिल भयो ।’

अब २६ सेप्टेम्बरका लागि पुन: टिकट बुक गरे पनि एयरलाइन्सले यस्तै दु:ख दिन्छ कि भन्ने चिन्ता खनाललाई छ ।

आइतबार नेपाल फर्कन हिथ्रो विमानस्थल पुगेका कार्की र त्रिपाठीसहित अन्य १४ यात्रु पीसीआर रिपोर्ट नमिलेको बहानामा फर्काइए ।

नेपाल सरकारले पठाएको ढाँचामा स्याम्पल सोर्समा नाक र घाँटीबाट स्वाब लिएको हुनुपर्ने, समय, मिति (रियल टाइम पीसीआर) उल्लेख र रिजल्ट नेगेटिभ हुनुपर्ने भन्ने एयरलाइन्सको माग छ । तर, बेलायतको एनएचएस रिपोर्टमा भने नाम, जन्ममिति र रिजल्ट उल्लेख गरिएको हुन्छ अनि त्यो इमेल वा मोबाइल म्यासेजमा आउँछ ।

आफ्ना नातेदार विमानस्थलबाटै फर्किनु परेपछि नेकपा नेता प्रवासी नेपाली मञ्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले पर्यटनमन्त्री योगेश भट्टराईलाई फोन गरेर अलपत्र नेपालीले लन्डनमा खेपेका सास्ती बेलिविस्तार लगाएका थिए ।

पुडासैनीका अनुसार, मन्त्री भट्टराईले त्यो आफ्नो कार्यक्षेत्रमा नभई कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) र स्वास्थ्य मन्त्रालयले हेर्ने भए पनि आफूले प्रयास गर्छु भनेर कतार एयरलाइन्सको ड्युटी म्यानेजरलाई फोन गरिदिएपछि आइतबार साढे ३.३५ बजे उड्ने नेपाली बेलायतकै रिपोर्टबाट उडे । तर, अघिल्लो १.३० बजेका १४ नेपाली यात्रु अर्को जहाजमा सिट नभएका कारण घर फर्कनुपऱ्यो ।

‘यो कतार एयरवेजको मनोमानी र नेपाल सरकारको अकर्मण्यता हो,’ पुडासैनी आक्रोश पोख्छन्, ‘नेपाल सरकार आफ्ना नागरिकप्रति उत्तरदायी हुनु पर्छ कि पर्दैन ?’

अघिल्लो साता पनि विमानस्थलमा कतार एअरवेजका कर्मचारीले पीसीआर रिपोर्ट भएन भन्दै करिब एक दर्जन यात्रुलाई फर्काइदिएपछि पर्यटनमन्त्रीको सोर्सफोर्समा पछि उड्न दिइएको थियो । ‘सधैं नेपालका मन्त्रीको सोर्स लगाएर उड्नुपर्ने कस्तो बाध्यता हो ? पहुँच नहुनेले सधैं सास्ती खेप्ने ?’ खनालको प्रश्न छ ।

लन्डनस्थित एक ट्राभल एजेन्सी ट्राभल कन्सोलका सञ्चालक विराज भट्ट टर्किस एयरलाइन्सलाई मान्य हुने यूके एनएचएस रिपोर्ट कतार एयरवेजलाई नहुनु आश्चर्यजनक ठान्छन् । भट्टले कतार एयरवेजका कर्मचारी नेपाल सरकारको निर्देशनविपरीत यात्रु लगेर नेपालमा होटल वा क्वारेन्टाइन खर्च बेहोर्न नसक्ने भन्दै पन्छिन खोज्ने गरेको बताए । टिकट मूल्य महँगो भएकाले फेरि बुक गर्न थप खर्च भने नलिएको भट्ट बताउँछन् ।

नेपाल सरकारको स्पष्ट निर्देशन नहुँदा बेलायतबाट नेपाल जाने यात्रुले विमानस्थलमा सास्ती खेपिरहेका छन् । सम्पूर्ण तयारी गरेर विमानस्थल पुगेको व्यक्ति घर फर्कनु पर्दा समयको बर्बादी त छँदैछ, ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट अर्कोपटक जाँदा ‘एक्सपायर’ भइसक्दा थप झन्झट बेहोर्नु परेको छ ।

Published on: 15 September 2020 | Kantipur

Link

Back to list

;