s

बेलायती जेलमा ११ नेपाली

बेलायतस्थित जेलमा यतिखेर ११ नेपालीले सजाय भोगिरहेका छन् । बेलायतको गृह मन्त्रालय (होम अफिस) ले लन्डनस्थित नेपाली दूतावासलाई उक्त तथ्यांक दिएको हो । दूतावासका उपनियोग प्रमुख शरदराज आरणले यसअघि २० नेपाली जेलमा रहेपनि हाल ११ नेपालीले जेल सजाय भोगिरहेका जानकारी पाइएको बताए ।
 
‘चोरी, लागू औषध कारोबार, गैर कानुनी काम र बसाइ (ओभर स्टे) र अन्य अपराधका कारण नेपाली जेल परेका पाइएको छ,' दूतावासका प्रवक्ता समेत रहेका आरणले भने, ‘भिसा सकिएपछि गैर कानुनी बसेका नेपाली समेत समातिएर जेल जाने क्रम बढेको पाइएको छ ।’ डेटा प्रोटेक्सन एक्ट अनुसार व्यक्तिका विवरण सबै खुलाउन नमिल्ने भएर पनि जेल बसेका नेपालीबारे पर्याप्त सूचना थाहा नभएको दूतावासका भनाइ छ ।
 
केही समय अघि लागूऔषध कारोबारमा संलग्न भएको अभियोगमा एक नेपाली चमन श्रेष्ठलाई ब्रिटेनस्थित रेडिङ क्राउन कोर्टले दुई वर्ष ८ महिना जेल सजाय सुनाएको थियो ।
 
बेलायतको कानुनमा अधिकार बिना गैर कानुनी काम गरेको भेटिए ६ महिनासम्म जेल सजाय हुन सक्ने प्रावधान छ । रोजगारदाताले जनही २० हजार पाउण्डसम्म तिर्नुपर्ने हुन सक्छ । गैर कानुनी बसेको व्यक्तिलाई घर भाडामा दिए ५ वर्षसम्म जेल सजाय र जरिवाना हुन सक्ने प्रावधान समेत यहां छ ।
 
बेलायतमा झण्डै दश लाख आप्रवासी गैर कानुनी बसिरहेको अधिकारीहरुले बताउँदै आएका छन् । सन् २००१ मा होम अफिसले गरेको एउटा विश्लेषणमा गैर कानुनी बसेका आप्रवासीको संख्या करिब ४ लाख ३० हजार थियो । तर, अहिले त्यो संख्या दोब्बर भन्दा बढि रहेको अनुमान छ ।
 
सरकारले यही जनवरीदेखि गैर कानुनी आप्रवासीलाई नियन्त्रण गर्ने अभियानकै एक हिस्सा अनुरुप यूके बैंक तथा बिल्डिङ सोसाइटीलाई करिब ७० मिलियन बैंक खाता जांच गर्न भनेको छ । तीन तीन महिनामा बैंक खाता जाँच गरिने र यसो गर्दा पहिलो वर्षमै गैर कानुनी बसेका, शरणार्थी आवेदन दिएर अस्वीकृत भएका वा अन्य अपराध गरेका करिब ६ हजार आप्रवासीलाई स्वदेश फर्काउन सकिने विश्वास सरकारको छ ।
 
Published on: 24 January 2018 | Kantipur

Back to list

;