s

कोरियामा मजदुरी गर्दै कविता

सानैदेखि साहित्यमा रुचि राख्ने रामेछापका जीवन खत्रीको साहित्ययात्राले काठमाडौं आएपछि उचाइ लियो । नवराज लम्सालको मधुवन कार्यक्रमबाट प्रभावित भएर उनकै प्रेरणाले अक्षरको खेती सुरु गरेको बताउँछन्, जीवन । भन्छन्, ‘नवराज दाइले मलाई जहिले पनि साहित्य लेख्न र कृति प्रकाशित गर्न उक्साउनुहुन्थ्यो ।’

जीवनले दुईवटा गजलसंग्रह प्रकाशित गरे । साहित्यसँगसँगै पत्रकारितालाई पनि अघि बढाए । उनले नवज्योति एफएम, अरनिको टेलिभिजन र रामेछाप पोस्ट साप्ताहिकमा काम गरे । अरूको दुःख, अभाव र पीडालाई समाचार र कवितामा लेख्ने जीवनले साहित्यमार्फत भने आफ्नो जीवनले भोगेको अभाव र पीडा लेखे ।

तर, त्यही समय उनी आफ्ना बाआमाको ओठमा मुस्कान ल्याउन दक्षिण कोरिया उड्नुपर्‍यो । तर, सेतो कागजमा कलमले शब्द खेलाएझैँ कहाँ सजिलो थियो र कोरियामा मेसिन चलाउन । त्यसैले बाआमा, गाउँघर र साथीसंगी सम्झेर भकानिन्थे ।

कम्पनी परिवर्तन गरेपछिचाहिँ फलामका सानापाता र त्यसलाई बनाउनुपर्ने डिजाइनसहित पेपरमा लेखिएर आउँथ्यो । त्यो पेपर हेरेर त्यस्तै डिजाइनमा पाता चेप्नुपर्ने । कम्प्युटरको सिपियू बक्सको बाहिरी कभरजस्तो । ‘त्योचाहिँ पहिलो कामभन्दा अलिक सजिलो थियो,’ उनले भने ।

दैनिक १२ देखि १६ घन्टासम्म मेसिनसँग खेल्ने जीवन कहिले त २४ घन्टासम्म पनि खट्थे । एकातिर कामको चाप, अर्काेतिर गाउँको यादलाई भुलाउन उनले कविताको सहारा लिए । भन्छन्, ‘मैले त्यहाँ बस्दा चार दर्जनभन्दा बढी कविता रचना गरेँ हुँला ।’ त्यसो त उनले कामपछि बचेको समयमा साहित्यिक समूह पनि बनाए ।

त्यही समूह बन्यो, उनीहरूको दुःख, अभाव, पीडा र एक्लोपन पोख्ने ठाउँ । समय–समयमा भेला हुने आ–आफ्ना रचना सुनाउने गर्न थाले । ‘विदेशमा पैसा मात्र पाइन्थ्यो । माया, प्रेम र सद्भाव भन्ने त आफैँले कल्पना गर्ने मात्र हो,’ उनले भने, ‘त्यसो हुँदा कतिखेर देश फर्किऊँजस्तो हुन्थ्यो मलाई ।’

कोरिया र नेपालको तुलना कतैबाट गर्दा पनि मिल्न नसक्ने बताउँछन्, उनी । ‘त्यहाँको सिस्टम र नेपालको सिस्टममा आकाश–पातालको फरक छ, देश हाँक्ने सारथिहरूले सही दिशानिर्देश गर्न नसक्नुको परिणाम हो,’ उनले भने । युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न नसकेको भन्दै रोष प्रकट गर्छन्, उनी । ‘स्वस्थ, सबल र सक्षम छन् भन्ने प्रमाणित भएका हजारौँ युवा मुग्लान भासिएका छन् । यसले देशलाई कति घाटा छ ?’ उनको प्रश्न छ ।

करेसाबारीमा पसिना फलाउन कवि जीवन आफ्नै देश फर्किएका छन् । ‘आफ्नै देशमा केही गर्छु भनेर फर्किएँ, तर सोचेजस्तो र कल्पना गरेजस्तो छैन यहाँ,’ उनको गुनासो छ, ‘यो देशमा केही काम गर्छु, यही कमाउँछु, देशमै रमाउँछु भनेर कोही युवाले ऋण मागोस्, कसैले दिनेवाला छैन । जब विदेश जान्छु भन्छ, तब ऋण दिनेको लाइन घरसम्मै आइपुग्छ । कस्तो विडम्बना !’

यसमा युवाहरूको पनि कमजोरी भएको स्विकार्छन्, उनी । भन्छन्, ‘देशको समस्यासँग जुध्न नसक्नु युवाको कमजोरी हो ।’ देश फर्किएको ६ महिना भइसक्दा पनि काम नपाएको उनको दुखेसो छ । ‘व्यवसाय गरौँ, लगानी सुनिश्चित छैन । नेताभन्दा कलाकारसँग जनताले अपेक्षा गर्न थालेका छन्,’ उनी भन्छन्, ‘आजभोलि जुन ठाउँमा पनि पहुँच र पावर चल्छ । अहिले राजनीतिमा जस्तै साहित्यमा पनि गुट–उपगुट मौलाउँदै गएको छ ।’

Published on: 5 December 2018 | Nayapatrika

Back to list

;